म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडमा अवस्थित दुई पसलमा सोमबार राती दुई बजेतिर आगलागी हुँदा लाखौँ मूल्यको सामान जलेर नष्ट भएको छ । बेनी नगरपालिका ८ स्थित न्यूरोडको छाप्रामा रहेका पसलमा आगलागी भएको हो ।
जीवनबहादुर विश्वकर्माको एकतलाको टिनको छाप्रोमा रहेका दुई पसल रघुगंगा डेरी र नतिजा स्टोर्समा आगलागी भएको हो । आगलागीबाट दुवै पसलमा पूर्ण क्षति पुगेको छ । डेरी पसलबाट सल्केको आगलागी संगै जोडिएको नयन स्टोर्समा पुगेको थियो । आगलागी भए लगत्तै स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । अहिले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट लाखौं बराबरको क्षति भएपनि कुनै मानवीय क्षति भने हुन पाएन । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले बताउनुभयो । आगलागी हुँदा आठ ओटा ग्यासका शिलिण्डरहरु पड्किएर ठूलो आवाज आएको थियो । शर्माले दिएको जानकारी अनुसार सुरुमा डेरी पसलमा आगलागी भएको हो ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । के कारणले आगलागी भएको भन्ने बारे एकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।