दूध र दूधबाट बनेका पदार्थ बालकदेखि वृद्धसम्म सबैका लागि प्रिय हुन्छन् । हामी नेपाली दूध र भात बडो मिठो मानेर खाने गर्छौं, मही पिउन लालायित हुन्छौं । स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि दुग्धजन्य पदार्थहरू ज्यादै महत्त्वपूर्ण छन् ।
दूध आफैमा एउटा पूर्ण खाद्यपदार्थ हो, जसमा भिटामिन डी, क्याल्सियम, प्रोटिनलगायत धेरै तत्व हुन्छन् । दूध र दूधबाट बनेका पदार्थको नियमित सेवनले दाँत र हड्डीको विकासमा मद्दत पुग्छ । त्यसैले बालबालिकाका लागि दूध र दूधबाट बनेका पदार्थ (दही, मही, चिज अति आवश्यक छ ।
प्राचीनकालदेखि नै गाईको दूध, दही र घिउ पवित्र पदार्थका रूपमा प्रयोग गरिन्छन् । यिनीहरू सेवन गरे हृदयरोग, स्ट्रोकजस्ता खतरनाक रोगबाट बच्न सकिने आधुनिक विज्ञानले नै भन्छ हुन त दूधमा पाइने अधिक चिल्लो पदार्थ (फ्याटी एसिड) बढी खाए स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । तर, केही रिपोर्टले दूध, दही मही खादा शरीरको मोटोपन नियन्त्रण हुने देखाएका छन् ।
महत्त्व बुझेर नै हाम्रा पुर्खाले परापूर्वकालदेखि गोरस खान सुरु गरेका होलान् । नेपालको मध्यपहाड़ी जीवनमा मही नबनाउने घर कमै होलान् । दही वा महीमा अत्यन्त लाभदायक जीवित ब्याक्टेरिया पाइन्छ, जुन हाम्रो स्वास्थ्यका लागि वरदान हुन सक्ने विभिन्न अनुसन्धानले देखाएका छन् । यी व्याक्टेरियाले दूधमा रहेका ल्याक्टोजलाई ल्याक्टिक एसिडमा परिवर्तन गर्छन् । त्यसैले दही वा महीको स्वाद अलि अमिलो हुन्छ । दूध नपच्ने मानिसका लागि दही वा मही बढी लाभदायक हुन्छ, किनकि दहीमा ल्याक्टोज परिवर्तन भई ल्याक्टिक एसिड बनेको हुन्छ ।
दही स्वादिस्ट त हुन्छ नै, यो रोग नियन्त्रक पदार्थ पनि हो । दही सेवनबाट कोलोन क्यान्सर हुने सम्भावना कम हुन्छ २४४ बाहिर खाने संस्कृतिको विकाससँगै घरमा पारेको मही पिउनुको सट्टा जुस, लस्सी, आइस टी सेवन गर्न मन पराउने क्रम बढेको छ याद रहोस्, यस्ता पेय पदार्थमा प्रशस्त चिनी मिसाइएको हुन्छ ।
काठको ठेकी वा माटोको भाँडोमा जमेको दही र मही कति स्वास्थ्यवर्द्धक हुन्छ भन्नेबारे वैज्ञानिक अध्ययन र अनुसन्धान हुन अति आवश्यक छ ।
स्वास्थ्यका लागि औषधि जस्तै, तर स्वादिस्ट अरू पनि धेरै खाद्यपदार्थ हाम्रो समाजमा उपलब्ध छन् । शिक्षा र आमसञ्चारको माध्यमबाट मानिस स्वास्थ्यप्रति दिनानुदिन सचेत बन्दैछन्, तर अर्कोतिर उपभोक्तावादी समाजको निर्माणसँगै आवश्यकता असीमित भएका छन् र सुविधापूर्ण जीवन जिउने लालच पनि बढ्दो छ कृत्रिम खाना खाने लहर चलेको छ । तर, त्यसले संसारभरि मेटाबोलिक डिजिजको महामारी फैलिदैछ । फलस्वरूप सरल, शान्त र प्रकृतिसंग नजिक भएर बाँच्ने हाम्रो पूर्वीय जीवनपद्धति विस्तारै विस्थापित हुँदैछ ।