लैनसिंह बाङ्देल (भाग-एक)
बिहानको कलिलो घाममा बाहिर गलैँचा ओछ्याएर सुबेदार बलवीर खड्का ढल्केर एउटा हिन्दीको उपन्यास पढ्न लागेका थिए । पश्चिमपट्टि आँगनको डिलनेर काठको एउटा ठूलो परेवाको खोर थियो। आँगनभरि परेवाहरू गुरगुर गर्दै नाचिरहेका थिए। हरि परेवालाई जिस्क्याइरहेथ्यो ।
कहिले उफ्रँदै परेवाको माझमा ऊ पुग्थ्यो सबै परेवाहरू भुर्र उडी फेरि अलि परतिर बस्थे, कहिले सानीको हातबाट पुतली बनाएको दुलहा र दुलहीसमेत फुत्त खोसी परेवातिर हुत्याइदिन्थ्यो, कहिले बाँसको फित्कौली बनाएर परेवातिर हान्थ्यो। सानीले पनि आँगनका ढुङ्गा अँजुलीभरि बटुली हरिको हातमा दिन्थी, अनि हरिले पनि ताकी-ताकी परेवातिर हान्थ्यो।
परेवाहरू चारो नखाई भुर्र भुर्र उडेर जान्थे- सानी खित्का छोड़ी छोडी हाँस्थी।
आफूले हान्न लागेको फित्कौली सानीको हातमा दिएर हरि त्यसलाई समेत परेवा हान्न लाउँथ्यो, तर सानीको नजर एक चोटि सुबेदारपट्टि पुग्थ्यो अनि नाइँ भन्ने सङ्केत गरी टाउको हल्लाउँथी।
यसरी खेलिरहेको बेला हरिले सानीको कानमा बिस्तारै भन्यो
“हान न हान्।”
तैपनि सानीले त्यसो गर्न पटक्क मानिन ।
एउटा सेतो परेवा अर्को छिरबिरे रङ्गको परेवावरिपरि घुम्दै नाच देखाइरहेथ्यो। हरिले त्यही परेवालाई ताकेर हान्यो। परेवाको शिरमा लागेछ, त्यो फटफटाउन थाल्यो सूर्यपट्टि पिठिउँ पारी आनन्दले हिउँदको न्यानो घाम तापिरहेका सुबेदार खत्रीलाई अब ता असहनीय नै भयो र पछाडि फर्केर हेर्नुपन्यो ।
अघिदेखि छोराले गरेको उपद्रवले तिनको ध्यान अलि-अलि गर्दै खलबलिङ रहेको थियो, अब ता राम्रै खलबलियो
पुस्तकबाट आफ्नो ध्यान हटाएर गाह्रो मान्दै मान्दै सुबेदारले हपारे- ‘के चलन गर्दै छस् हरि ?” अनि फेरि आँगनमा फटफटाइरहेको सेतो परेवालाई हेरेर- ‘ओहो! त्यो के गरेको हँ ? कस्तो उपद्रे लौ, हेर लौ। त्यसले त त्यो परेवालाई….।’
सुबेदार जुरुक्क उठे अनि हरिलाई कुट्न भनी झम्टेर गए । तर हरि बिजुली भएर घरभित्र अघि नै बेपत्ता भयो। सुबेदार अलमल्ल परेर आँगनमा एकछिन ठिङ्ग उभिइरहे । त्यहाँ केवल सानी मात्र के गरूँ, के गरूँ भइरहेर भाग्न नसकी उभिइरहेकी थिई, त्यसमाथि सुबेदारको दृष्टि पुग्यो। परेवा हान्ने सानी पनि हो क्यार भन्ठानेर त्यसलाई हप्काउँदै सुबेदारले सानीको कान पक्रे ।
“सानी। अबदेखि परेवा हान्छेस् कि हान्दिनस्”
सानी बोलिन।
हेर्दाहिदै सानीका आँखा आँसुले डबडब भए । ‘भन्, अबदेखि परेवा हानेको देखें भने नि ।’
उही बेला भित्रबाट सुबेदार्नी टुप्लुक्क आइपुगिन् र हत्तपत्त पतिसित सोधिन्- ‘के भयो ? के भयो ? हरिले के उपद्रव गच्यो र घरभित्र कुनामा त्यो लुकिरहेको छ ? ओहो, अनि सानी नि…!”
सुबेदार केही नबोली आफ्नो ठाउँमा गएर बसे। अनि घाममा आँखा चिम्ली- चिम्ली पढेजस्तो गर्न थाले। तर सुबेदारको ध्यान भने अब अर्कै धारातिर बगिरहेथ्यो । कहिले तिनको ध्यान अस्ति हाइस्कुलका एक जना मास्टरसित बाटामा भेट हुँदा छोरालाई पनि स्कुलमा भर्ना गर्नुपर्छ भन्ने कुरा चलेको विषयपट्टि पुग्थ्यो, कहिले आफू कुइटा छाउनीमा हुँदा कवाज खेलेको अतीतको सम्झनातिर पुग्थ्यो, कहिले छोरालाई कसरी मान्छे बनाउनु’ भन्ने सोचपट्टि पनि पुग्थ्यो । तिनको ध्यान कहिले वर, कहिले पर, कहिले माथि, कहिले तल हुँदै धेरै बेरपछि हरिको उत्पीडनपट्टि फेरि पुग्यो। मनैमन ढिलोसँग विचार गरेर भनिरहे- हरि बेपत्ता भएर घरभित्र के गरिरहेको होला … अनि सानी… ओहो…. त्यस सानी केटीको मात्रै किन कान समातें हुँला… हरिको पनि कान समाउनुपर्ने, तर छिः त्यति जाबो केटाकेटीको कुरामा … ।
तिनले अब ध्यान दिएर पढ्न खोजे ।
सुबेदार्नीले पतिबाट केही जवाफ नपाएर सानीपट्टि फर्केर सोधिन् ‘अँ भन्… के भयो सानी तँलाई ? कसले के गन्यो ? किन कान समातिमागिस् ?’
सुबेदारको ध्यान फेरि खलबलियो।
आफू पढेजस्तो भान गरी अब सुबेदारले पनि आँखाको कुनाबाट सानी र आफ्नी स्वास्नीलाई चियाउन लागे। सुबेदार्नीले सोधिरहिन्- ‘अँ किन कान समातिमागिस् त ? कल्ले के गन्यो मेरी सानीलाई ?’
सानीका आँखाभरि आँसु आयो र रुँला रुँला जस्तो गरेर त्यसले भनी- ‘हरि दाज्यूले फित्कौली बनाएर परेवा हान्न लागेको थियो अनि बड़ा आएर … मेरो कान…।’ त्यत्तिकैमा सानीको कण्ठ रोकियो। त्यसका भयभीत आँखा एकचोटि सुबेदारपट्टि पुगे।
सुबेदारको ठूलो धोद्रे स्वर आयो- ‘के रे के ? बड़ाले के गन्यो रे ? पोल लाउँछेस् बाठी। अब आफ्नो घर जा अनि तेरी आमालाई पनि त्यसै भन् र पोल हाल त बाठी…!’
सुबेदार्नी सानीकै पक्ष लिएर बोलिन- ‘ओहो, सानूको मात्रै दोष छ र ? उ, त्यो उपद्रे बाठो भएर भित्र लुकिरहेको छ । हेर, त्यसले पो साफ कुटाइ खानुपर्ने । बरा, यस्ती रानीचरीजस्ती सानीलाई कुट्न सुहाउँदैन । कठै, यसले ता नाहकमा पो कुटाइ खाइछ मेरी सानू…!”
अनि सुबेदार्नीले सानीलाई अङ्कमाल गर्दा यतिन्जेल दुवै आँखाको डिलनेर बलजफ्ती रोकिराखेको आँसुको फोहरा फुटेर सानीको गालाबाट गङ्गा भएर बग्यो र सानी सुबेदार्नीको फरियामा गुटुमुटु परी मुख लुकाएर हिक्का छोड्दै रुन लागी।
अनि सुबेदार्नी पनि छक्क परिन् । सुबेदार भने मन-मनमा केही असहय भए पनि केही नबोलेर घोप्टिई नै रहे।
एकछिनपछि सानीको रुवाइ थामियो अनि आँसुको फोहरा पनि बन्द भयो । तर धेरै बेरसम्म हिक्का भने चलिरह्यो ।
केही बेरपछि सुबेदार खत्री पछिल्तिर फर्केर घाम छेल्दै सानीतिर हेरेको ता सुबेदार्नीको फरियालाई पर्दा बनाई त्यसले आफूपट्टि घरी घरी चियाइरहेकी रहिछ। अब भने साँच्ची नै हाँसो थाम्न नसकी सुबेदार उठेर पलेंटी मारेर बसे अनि सानीलाई हातको इसाराले बोलाए । तर सानी त्यहाँदेखि नचल्ने भई र त्यत्तिकै उभिइरही। सुबेदारले धेरै चोटि बोलाउँदा अन्त्यमा सुबेदार्नी आफैले त्यसलाई हातमा समाती डोच्याएर सुबेदारको सम्मुख नलगेसम्म त्यो नजाने भई।
अनि सुबेदार्नी घरभित्र पसिन् ।
सुबेदारले फकाउँदै मसिनो स्वरले भने- ‘सानी, अबदेखि परेवा
हान्छेस् ? अबदेखि नहान्ने है त!’
सानीले टाउको मात्र हल्लाएर ‘लौ’ भन्ने अलिकति सङ्केत
‘अनि फित्कौली पनि नछुने है त।’
उसै गरी सानीले फेरि टाउको मात्र हल्लाई।
‘अनि उपद्रे हरि तँलाई जसो गर्न लाउँछ उसै-उसै नगर्नु है ! गर्छेस् र सानी ?’ भनेर सोध्दा बल्ल सानीको कण्ठबाट ‘गर्दिनँ’ भन्ने सानो पातलो स्वर आयो।
अनि सुबेदार पनि खुसी भए ।
आज साँझ परुन्जेल पनि सानी हरिसित सुबेदार सुबेदार्नीकै घरमा
खेलिरहेकी थिई ।
क्रमश: