जिल्लाको बागलुङ नगरपालिका–१ खनियाघाटमा रहेको माझी बस्तीलाई उद्यमशिल नमुना बस्ती बनाउने अभियान थालिएको छ ।
बाग्लुङमा क्रियाशिल लायन्स क्लबहरुको सक्रियतामा बस्तीलाई नमुना बनाउने कामको थालनी गरिएको हो । अल्पसंख्यक माझीहरु बसोबास गर्ने गाउँलाई उद्यमशील नमुना गाउँमा रुपान्तरण गर्ने उद्देश्यका साथ शनिबार बस्ती वरीपरी फलफूलका विरुवाहरु बृक्षारोपण गरि अभियानको सुरुवात गरिएको लायन्स क्लब अफ बागलुङका अध्यक्ष राजु गौतमले जानकारी दिए ।
पहिलो चरणमा बस्ती भित्रका प्रत्येक घरमा फुल तथा फलफुलक विरुवाहरु रोपिएको छ ।
पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ साल देखी विस्थापित माझी परिवारको पुनस्थापनाका लागि एकिकृत वस्ती निर्माण गरिएको थियो । उक्त बस्तीलाई अहिले उद्यमशिल नमुना बस्तीको रुपमा विकास गर्न थालिएको हो ।
बस्तीमा हाल २० घरधुरी रहेको स्थानिय कृष्ण माझीले जानकारी दिए । आयआर्जनको बाटो खोजेका माझी परिवारहरु लायन्स क्लबले उद्यमशिलताको बाटो देखाउन खोज्दा खुसी भएको उनले बताए । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लबले हरेक वर्ष विभिन्न सामाजिक कार्य गर्दै आएकोमा यस वर्षको समुदायमा उत्तरदायित्व कार्यक्रम अन्तरगत माझी बस्तीलाई नमुना उद्यमशिल बस्ती बनाउने कार्यक्रम अगाडी सारिएको लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रक्ट ३२५ बिवानका रिजन चेयर पर्सन गोविन्द बहादुर पौडेल ‘गोपाल’ले बताए ।