जोमसोम: जिल्ला प्रशासन कार्यालय मुस्ताङले भदौ १५ गतेसम्म निषेधाज्ञा थप गरेको छ । कोभिड-१९ संकट ब्यवस्थापन समिति मुस्ताङले गत बैशाखदेखि जारी निषेधाज्ञा दुई साता लम्ब्याएको छ ।
स्थानीय प्रशासनले जिल्लामा अझै कोरोना जोखिम कायमै रहेको उल्लेख गर्दै निषेधाज्ञाको समय बढाएको हो । मुस्ताङमा न्युन जनसंख्या भए पनि जिल्ला प्रवेश गर्ने नाका एउटै भएको र छिमेकी जिल्लामा संक्रमण बढेकाले निषधाज्ञाको अवधि थप गर्नु परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार मुस्ताङमा निषेधाज्ञा जारी भए पनि धेरै विषयवस्तुमा जनजीवन खुकुलो पार्दै गइरहेको र अतिआवश्यक कामकाजबाहेक जिल्ला भित्रिने पर्यटकलाई प्रवेशमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले अतिआवश्यक काम परे मात्र मुस्ताङ आउजाउ गर्न र यसरी जिल्ला आउने व्यक्तिले १० दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्ने बताए।
जिल्ला भित्रिने व्यक्तिको अनुगमन स्थानीय निकायको समन्वयमा भइरहेको उनको भनाइ छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि स्थानीय प्रशासनले लगाएको लकडाउनको पछिल्लो समय उल्लंघन हुन थालेको छ । मुस्ताङमा लामो तथा छोटो दूरीका यातायात टिकट काउन्टरहरु खुल्न थालेका छन् ।
लकडाउनकै अवस्थामा स्थानीयवासी,जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, निर्माण क्षेत्रका मजदुर र स्याउको बैनापट्टा गर्न मुस्ताङ आउने ब्यापारीको अप्रत्यासित आउजाउ बढ्न थालेको छ । म्याग्दी र मुस्ताङको सिमाना घाँसामा कोरोना हेल्थ डेस्क समेत नभएको र जनप्रतिनिधिकै मौखिक ठाडो आदेशका भरमा अव्यवस्थित रुपले जिल्ला प्रवेशको अनुमति दिने गर्दा मुस्ताङमा कोरोनाको जोखिम बढेको अनुमान गरिएको छ ।
मुस्ताङमा लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थामा भौतिक रुपमा पठन पाठन सञ्चालन भइरहेको छ । जिल्लामा स्याउ खरिद गर्ने ब्यापारी मुस्ताङ आउन थाले पनि क्वारेन्टिनमा बस्ने मापदण्ड पूरा हुन नसकेको, सार्वजनिक तथा निजी यातायातका सवारी साधनले निर्वाध रुपमा अन्तर जिल्ला भित्र सञ्चालन भइरहेकाले मुस्ताङमा लकडाउनको औचित्य माथि प्रश्न उठ्न थालेको सरोकारवालाहरु बताउँछन् ।
कोरोनाको दोश्रो भेरियन्टैसँगै तेश्रो लहरको संक्रमण जोखिम बढेको भन्दै प्रशासनले अन्तर जिल्ला सार्वजनिक तथा निजी सवारी चलाउन नपाइने, धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा अनुसार मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद र चर्च आदिमा लाग्ने पर्व, धार्मिक मेला महोत्सव, सार्वजनिक स्थानमा खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर र भीडभाड आदि गतिविधि गर्न नपाईने निषेधाज्ञामा उल्लेख छ ।