ठाकुर बेलबासे
म सानै थिएँ । घरमा राँइली दिदी र कान्छा दाइ काम गर्न आउनुहुन्थ्यो । धेरैजसो हाम्रै घरमा आउनुहुने उहाँहरु मेरा लागि आफ्नै परिवारको सदस्य लाग्नुहुन्थ्यो । घरका सबै सदस्यहरुले उहाँहरुलाई तिमी सम्बोधन गर्नुहुन्थ्यो ।
मैले तपाईँ सम्बोधन गर्थें । मेलामा रहेकी राँईली दिदी र कान्छा दाइले पानी माग्नुहुन्थ्यो । म अम्खरामा पानी बोकेर जान्थे । उहाँहरुले पिएर बाँकी रहेको पानी म पनि घटघटी पिउँथेँ । उहाँहरु मलाई हाँस्दै गाली गर्नुहुन्थो । मैले उहाँहरुको हाँसो र गाली बुझ्दिनथें । कान्छा दाइको एउटा छोरा थियो । मसँगसँगैको । ऊ मेरो साथी थियो । राति एउटै कोठामा सुत्थ्यौँ हामी । उसले मेरो शरीर र मैले उसको शरीर मिचेको, अहिले सम्झन्छु । हामी निकै रमाइलो गथ्र्यौ । अलिक बुझ्ने भए पछि थाहा पाए राँइली दिदी र कान्छा दाइ त तथाकथित दलित (सार्की ) हुनुहुँदाेरहेछ । मलाई उहाँहरू सार्की हुनुसंग केही सराेकार रहेन ।
म ब्राह्मण परिवारमा जन्मिएँ । बुबा आमाहरु जातभात मान्नुहुन्छ । ८० वर्षीय बुबा र ८० वर्षीया आमाको चिन्तनलाई मैले आजसम्म अपमान गरेको छैन । तर समाजमा जातभात हुँदैन । सबै मानिसको रगत एउटै हुन्छ, भन्दै सम्झाउन छाेडेकाे छैन् । उहाँहरुले नसम्झिए पनि म दु:खी छैन् । बरु काठमाडौँ आएपछि बुबा बुबा आमाहरुले खाना खाएपछि तथाकथित दलित साथीहरुसँगै बसेर मैले खाना खाएँ । बुबा रिसाउनु हुन्थ्यो । म यसमा कहिल्यै प्रतिवाद गर्दैनथें ।
०४६ सालदेखि म काठमाडौँमा बस्न थालें । त्यस बेलादेखि जातभात भन्ने शब्द त झनै हरायो । बाहूनले खसी मात्रै खाने भन्ने कुरा पनि कथा जस्तो भयो । राँगा, सुँगुर, कुखुरा जे पाइन्छ, त्यही खाइयो । आजसम्म पनि खाइँदै छ । यसले मलाई कुनै असर गरेको छैन ।बरू दलित भनिने कयौं साथीहरू खसीको मासु बाहेक नखाने मैले भेटेकाे छु । एउटा वाउनले खसीको मासु बाहेक अरू खान्न भन्याे भने खिसिट्युरी गरिन्छ ।
मेरो विवाहको कुरा चल्दै थियो । मैले दाजुलाई भनें–‘म विश्वकर्माको छोरी विवाह गर्न चाहन्छु ।’दाजुले दंग पर्दै हुन्छ भन्नु भयो । भलै मैले विश्वकर्मा पुत्री विवाह गर्न पाइँन । जातीय विभेदका कारण म पनि अन्यायमा परेँ ।
म भन्दा उमेरले ७ वर्ष जेठो दाजु गोपाल वेलवासेको चरित्र पनि मेरो भन्दा भिन्न नभएका कारण स्कूल कलेजका तथाकथित दलित साथीहरुलाई घरमा ल्याउनु र खाना ख्वाउनु समस्या भएन । जातभातका अाधारमा म के खान्छु । काेसंग हिड्छु दाजुलाई कुनै सरोकार भएन ।
मेरो विवाहको कुरा चल्दै थियो । मैले दाजुलाई भनें–‘म विश्वकर्माको छोरी विवाह गर्न चाहन्छु ।’दाजुले दंग पर्दै हुन्छ भन्नु भयो । भलै मैले विश्वकर्मा पुत्री विवाह गर्न पाइँन । जातीय विभेदका कारण म पनि अन्यायमा परेँ ।
मैले विश्वकर्माकी छोरी विवाह गरेको भए मेरो समाजले मलाई लखेट्थ्यो होला तर मेरा बा–आमा र घरपरिवारलाई मेरो चाहना र तथाकथित जातभातको विभेदका बारेमा सम्झाउन सक्छु भन्ने विश्वास ममा थियो ।
अर्को घटना पनि सम्झन्छु– मेरा एकजना बम्हण साथीकी पुत्रीले तथाकथित दलित पुत्रसँग प्रेम गरेकी थिइन् । ती जोडिले विवाह गर्ने भए । तर ती मेरा क्रान्तिकारी साथीले छोरीको चाहनालाई स्वीकार गर्न सकेनन् । अन्ततः छोरीले विवाह गरिन् ।
हो समाज क्रूर छ । जातभात र छुवाछुतबाट निर्मित समाजका थुप्रै कुरुपपन छन् । मेरा एकजना होनाहार साथी हुनुहुन्छ– राई थरका । उहाँले तथाकथित दलित पुत्री विवाह गर्नु भयो । विवाह गरेसँगै उहाँले आफ्नो परिवारको आलोचना भन्दा पनि समाजको आलोचना खेप्नु परिरहेको छ । अझ समाजले त लखेटिरहेको छ । ती साथीलाई लखेट्नेहरु नै जातीय विभेदको चर्को नारा लगाउँदै हिड्छन् ।
अर्को घटना पनि सम्झन्छु– मेरा एकजना बम्हण साथीकी पुत्रीले तथाकथित दलित पुत्रसँग प्रेम गरेकी थिइन् । ती जोडीले विवाह गर्ने भए । तर ती मेरा क्रान्तिकारी साथीले छोरीको चाहनालाई स्वीकार गर्न सकेनन् । अन्ततः छोरीले विवाह गरिन् ।
छाेरीकाे निर्णयसंगै मानताका नारा लगाउने ती साथी विछिप्त बने । छोरीलाई परित्याग मात्रै होइन । किरिया नै गरेको अवस्थामा पुगे । विस्तारै छोरी ज्वाइँको राम्रो बन्दै गयो । अनि बल्ल छोरी–ज्वाइँलाई स्वीकार गर्न थाले । अनेक किसिमले समाजमा चर्चित रहेका ती मित्रले सुरुमै छोरी–ज्वाइँलाई स्वीकार गर्दै मानवता प्रर्दशन गरेका भए जातीय छुवाछुतको भयावहमा थोरै भए पनि राम्रो सन्देश जाने थियो ।
मेरा अर्का दलित साथी छन् । अति सामान्य । इनार खन्ने काम गर्छन् । उनका दुवै छोरा शिक्षित छन् । दुवैले काठमाडौँका श्रेष्ठ परिवारमा विवाह गरेका छन् । ती दुवै कुटुम्ब परिवारको सान्दार सम्बन्ध उदाहरणीय छ । सबै काम चेतनाले गर्ने हो । प्रचारप्रसारले त हल्ला मात्रै गर्ने रहेछ ।
म सम्झन्छु– ईमेज एफएममा काम गर्दा मेरा केही कार्यक्रम अत्यधिक सुनिन्थे । राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा मेरो विश्लेषणात्मक प्रस्तुती हुने हुँदा धेरैको प्रतिक्रिया आउँथ्यो । एक दिन यस्तै जातीय छुवाछुतका बारेमा बोलेको थिएँ ।
साँझ गुल्मी घर भइ काठमाडौँ नयाँ बजारमा वस्दै आउनु भएका एकजना तथाकथित दलित मित्रको फोन आयो । उहाँले भन्नु भयो– तपाईँलाई थाहा नै होला म दलित हूँ ।रेडियोमा त समानताका कुरा निकै फलाक्नु भयो । भोलि मेरो घरमा खाना खान आउनुस् । मैले बढो हर्षका साथ हुन्छ दाजु भनेर श्रीमती, छोरा–छोरीसहित उहाँको घरमा गएँ । श्रीमतीजीलाई सबै कुरा सम्झाएको थिएँ ।
त्यहाँ राँगा नै पकाउनु भएको रहेछ भने पनि तपाईँले खानुहोला । यदि खान मनै भएन भने कुनै तर्क नगर्नु होला । म खान्छु । हुन त खानामा आफ्नो इच्छा हुन्छ । जन्मजात मासु नै नखाने पनि हुन्छन् । अझ मासु नखाने वरले मासु खाने वधुलाई विवाह नगर्ने । मासु नखाने वधुले मासु खाने वरलाई अस्वीकार गर्ने गर्छन् । ती साथीकोमा हामीले राँगाको मासु नखाँदा उहाँले अन्य सोच्नु होला ,भन्ने डर मलाई थियाे ।यसैले मैले श्रीमतीजीलाई सम्झाउनु परेकाे थियाे ।
खाना खान निम्तो गर्ने साथीले गलत प्रचार गर्नु होला भन्ने त्रास मनमा थियो । यस कारण मैले श्रीमतीजीलाई सम्झाएको थिएँ । धन्न साथीको घरमा खसी र राँगा दुवै पाकेको रहेछ । नेवार साथीहरुसँग हुसिर्कएको मलाई राँगाको मासुले कुनै असर गरेन । खाइदिएँ ।
रेडियोमै बस्दा एक दिन एकजना १८ वर्षीय युवा आए । शिव सुनार नामका । शिबले एसएलसी दिएर होटलमा काम गर्दै रहेछन् । उनलाई जसरी पनि रेडियोमा गजल कार्यक्रम चलाउनु थियो र उनीसँग १ लाख रहेछ । त्यही पैसाले रेडियोको समय किन्न उनी चाहन्थे ।
म रेडियो अन्नपूर्णमा स्टेशन म्यानेजर र सम्पादक भएपछि । समाचार कक्षमा कहिल्यै तथाकथित दलितसाथीहरु टुटेनन् । कहिलेकाँही त समाचार कक्षको सानो समूहमा उहाँहरुको वाहुल्यता हुन्थ्यो । मैले उहाँहरुलाई दलित भनेर रेडियोमा राखेको थिइँन । मेरो दिमागमा जन्मदै जात भन्ने शब्दावली डिलिट भएको रहेछ सायद । मैले एकजना बेरोजगार युवा मात्रै सम्झिएँ । कामको सिलसिलामा रिसाइयो होला तर जातीय आधारमा एक शब्द पनि मेरा मुखबाट आएन ।
रेडियोमै बस्दा एक दिन एकजना १८ वर्षीय युवा आए । शिव सुनार नामका । शिबले एसएलसी दिएर होटलमा काम गर्दै रहेछन् । उनलाई जसरी पनि रेडियोमा गजल कार्यक्रम चलाउनु थियो । उनी समय किनेरै भए पनि कार्यक्रम चलाउनु थियो । उनीसँग १ लाख रहेछ । त्यही पैसाले रेडियोको समय किन्न उनी चाहन्थे । कलेज भर्ना भएका तर अध्ययन नगरेका उनीसँग कुरागर्दै जाँदा उनी अध्ययनमा निकै अब्बल लाग्यो ।
शिब एसएलसीमा सरकारी स्कूलबाट ८८.८ प्रतिशत ल्याएर पास भएका रहेछन् । यही कुराले मलाई भावुक बनायो । पैसाको अभावमा होटनमा काम गरेर पढाइ छोडेका शिबलाई निकै सम्झएँ । कक्षा ११ को परीक्षा आउन २२ दिन बाँकी रहेछ । उनी परीक्षा नदिने पक्षमा थिए । धन्न परीक्षा फर्म भरेका रहेछन् । मैले सम्झएँ । रेडियोमा पैसा तिरेर कार्यक्रम चलाउने नभइ जागिर नै दिने तर परीक्षा दिएको भोलिपल्ट । यति कुराकानी पछि शिब मबाट बिदा भए ।
परीक्षा सकेर चक्लेटसहित आएर आँखाभरी आशु भर्दै भने–‘सर हजुर नभएको भए मैले पढ्ने थिईनँ, मलाई पैसाकै अभावले होला पढाइमा ध्यान थिएन, दिनभर होटलमा काम । थकाई अनि त्यस्तै संगत । परीक्षा निकै राम्रो गरेँ ।’ कम्यूटर टाइप नआउने शिबलाई मैले दुई महिना परीक्षण कालमा राखेँ । उनले कम्यूटर सिके । पत्रकारितामा निकै राम्रो गरे ।
एक डेढ वर्षको समयमा उनले गजब राम्रो गरे । छाेटाे समयमै शिव राम्रैसंग बिक्ने भएका थिए । उनका कतिपय प्रस्तुती सुनेर म एक्लै भावुक हुन्थेँ । मैले शिवलाई साथ नदिएको भए उनी होलटकै लाईनमा हुन्थे । पत्रकारितामा रुचि भएका उनी विग्रन पनि सक्थे होला । म उनलाई घरमा ल्याउने । घरमासँगै खाना खाने गर्थें। गर्छु । उनले पनि घरबाट मलाई केशेली ल्याइदिने गर्थे । गर्छ्न। उनले दुध, दही, पकाएको, काँचो मासु, घ्यू जस्ता कुरा ल्याउँथे । हामीआनन्दले उनीसँगै बसेर धन्यवाद दिँदै खान्थ्यौ । अहिले उनी सरकारी जागिरे छन् । शिब दलित हुन् भन्ने कारणले मैले उनलाई यस्तो माया गरेको थिइनँ । उनी एक गरीब र बाध्यतामा परेका युवा हुन भन्ने मात्र सोचेँ मैले ।
यी सबै कुरा आत्मश्लाघा जस्तो लाग्न सक्छ । तर समय सन्दर्भमा यस्ता कुरा बाहिर आउँदा समाजमा राम्रो सन्देश जान पनि सक्छ । ममा ब्रम्हणको कुनै पनि `कु´गुण छैन । कसैलाई जनैदेखि रिस उठ्छ भने मेरा घाँटीमा हम्मेसी जनै हुँदैन। कहिले काँही किनकिन मुढ चल्छ जनै लगाइ पनि हाल्छु । फेरि पनि मलाई ब्राह्मण बनाएर किन अपमान गरिन्छ ?यो नै म जस्ताका लागि पीडाकाे बिषय हाे।
मेरा छोराछोरी अब ठूला र बुझ्ने भइसके । अहिलेसम्म उनीहरुलाई जात र दलित भन्ने शब्द नै थाहा छैन । उनीहरुलाई यतिमात्रै थाहा छ कि मानिसमा केटा र केटी मात्रै हुन्छन् । जातभातसँग कुनै मतलव नभएका यिनीहरु कुनै दिन ब्राह्मण भएकै कारण अपमानमा त पर्ने हैनन् भन्ने ठूलो डर पनि छ । के ब्राह्मण हुनु अपराध हो ?
तर कहिलेकाँही जन्मकै आधारमा छिःछि र दुरदुर गरेको देख्दा लाग्छ म उनीहरुले ब्राह्मण चरित्र बोकेर बाँचुन् । एकबारको जूनीमा विवेकलाई खरानी बनाउनु आत्मघात हो । ब्राह्मण कुलमा जन्मनु अपराध पक्कै होईन । चिन्तन खराब हुनु अपराध हो । कम्तीमा मसँग त्यो अपराध छैन आफूलाई धन्य मान्छु ।
गर्वका साथ जातीय विभेदका बारेमा कुरा गरौँ । असल मानवीय कर्म गरौँ ! कसैले कहीँ पनि जातीय विभेद बेहोर्नु पर्ने छैन । सत्य कुरा यो पनि छ कि नेपाल जस्ता गरीब देशबाट यस्ता जातीय समस्या हट्ने छैन् । जबसम्म समस्या हटाउन लागि परेका अभियान्ताहरु आफैँनै पहिरो खसाउने र पहिरो पन्छाउने अभिनय गरिरहन्छन् । सत्य के हो भने यस्ता समस्या अन्त्य भएमा समाज सुन्दर हुन्छ, सुन्दर समाजमा मानवता माथिको व्यवसाय चल्दैन ।