ईन्दु भुसाल
समष्टिमा भन्नुपर्दा देश विकासमा युवावर्गको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा सबै लाई अबगत नै छ।इतिहासका पाना पल्टाउँदै जाँदा प्रत्येक देशका सीमारेखाहरू युवावर्गको रगतबाट कोरिएका छन् भने उनीहरूमा विकृति-विसंगति, निराशा र कुण्ठ जागृत हुन् नदिई दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय स्वार्थमा उनीहरूलाई प्रयोग गर्दा राष्ट्रको कायापलट नै हुन् गएको छ। देश विकासको गहकिलो कुलतमा बरालिन नदिई उनीहरूलाई जोस र होसका साथ कम्मर कसेर बढ्नका लागि अनुकूल वातावरण बनाइदिएमा मुलुकको विकासमा युवावर्गले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्दछ, मुलुकको भौतिक विकासमा युवाहरूले अनुकरणीय दृष्टान्त प्रस्तुत गर्न सक्छन।नेपाली समाजको सबैभन्दा खतराको घण्टीका रूपमा देखिएको लागूऔषधको प्रयोग र यसमा युवावर्गको संलग्नता अर्को चिन्ताको विषय बनेको छ । अहिले नेपालको कुल युवाको करिब १० प्रतिशत युवाले लागूऔषधको प्रयोग गर्ने गरेको अनुमान छ । यसबाट समाजमा अशान्ति र अराजकताको अवस्था सिर्जना हुन गएको छ भने अर्कातर्फ ती युवा वर्गहरूबाट राष्ट्रले पाउनुपर्ने सेवा प्राप्त गर्न सक्दैन । राज्यको लगानी त्यस्ता युवाबाट सिर्जित विकृतिको नियन्त्रणमा लगाउनुपर्ने अर्को दायित्व पनि थपिँदै आएको छ । यसर्थ त्यस्ता युवाहरूलाई नवसिर्जना र राष्ट्रको निर्माणमा लगाई देशको समृद्धिको अभियानलाई सार्थक र सफल गर्न आवश्यक छ ।राजनीतिलाई एउटा फोहोरी खेल भनेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतालाई तोडेर अब सबै क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ र मुलुकको नेतृत्व गर्न आफूलाई विकास गर्दै नयाँ सोच, नयाँ विचार र ऊर्जाशील भएर लाग्नुपर्छ ।
राष्ट्र निर्माणमा मात्र आवश्यकता छ त युवाको अनुसन्धानको, युवाको सिर्जनाशीलताको, नवीनताको, उद्यमशीलताको र युवाकै नैतिक नेतृत्वको ।सर्वमान्य राजनीतिक पद्दति र स्थिरता हामी नेपाली जनताले देखेकै छैनौ । दूरदर्शी र क्षमतावान नेतृत्व हामी नेपाली जनताको तिर्सनामा नै सीमित भएको छ । हाम्रो विकासका पूर्वाधार निर्माण, स्तरीय जीवनशैली, सुविधायुक्त गाउँबस्ती, स्वच्छ सफा सहर, स्तरीय शैक्षिक र स्वास्थ्य संस्थाका सपना त सपना मै सीमित भएका छन् । हाम्रा अनगिन्ती सम्भावनाहरू उपयोग हुन नसकेर थन्किएका छन् । संसारका अन्य देशको तुलनामा सभ्यताको यति लामो इतिहास बोक्दा बोक्दै पनि समाज विकासको दृष्टिकोणबाट किन नकारात्मक छ नेपाल ? आखिर के कारणले सम्भव हुन सकेन त वर्षौंदेखि समृद्ध नेपालको परिकल्पना ?चारैतिर वेथिती र अराजकताले चक्रव्यूहमा फँसेको देशलाई कसरी राहत दिने त ? यसको निकास ल्याउने कस्ले ? समाज र देशको नेतृत्व गर्ने कस्ले ? सवैका सामु गम्भिर प्रश्न तेर्सिएको छ । चलचित्र र धार्मिक ग्रन्थहरुमा लेखिए जस्तै देश र जनतालाई मुक्ति दिन एकाएक सिनेमाको हिरो झै कोहस् निस्कदैन । न त धार्मिक ग्रन्थहरुमा भनेजस्तै देउता अवतार लिन्छन । अनि गर्ने कस्ले त ? पक्कै पनि निःसन्देह हरेक समस्यावाट देश र जनतालाई निकास दिने युवापुस्ता नै हुन् । देशमा चारैतिर फैलदै गएको अस्तव्यस्तताको झाडीलाई जरैवाट उखेलेर फाल्न र खनजोत, गोडमेल गरी विकास र समृद्धि रोपेर फलाउन युवा वर्ग नै अघि बढ्नु अहिलेको आवश्यकता हो । यसका लागि उद्यमशिल बन्न, आफू रोजगार हुनु, अरुलाई रोजगार दिनु पहिलो शर्त हो । राज्यले देश, भूगोल अनुसार आवश्यक जनशक्ति तयार गर्न प्राविधिक, शिक्षा, तालिमको व्यवस्था गर्नुपर्छ । विद्यालय तहदेखि प्राविधिक शिक्षाको नीति लागू गर्न जरुरी छ।सहरी क्षेत्र मा त प्राबिधिक शिक्षा छ नै तर दुर्गम ठाँउ मा पुग्न सकेको छैन।नीति निर्माण तहमा वसेकाहरुलाई युवामुखि कार्यक्रम ल्याउनका लागि निरन्तर दवाव दिनुपर्छ । वेथिति, भ्रष्टाचारका विरुद्ध एकजुट भएर आवाज वुलन्द गर्न सक्नुपर्छ । देशलाई आत्मनिर्भर वनाउन आवश्यकता हेरेर पेशा, व्यवसाय गर्न सकेमा र वाहिरीवाट आयात हुन सामान रोक्न सकेमा पनि देशको पूँजी घरभित्रै रहेर आर्थिक उन्नती र विकासमा खर्च गर्न सकिन्छ ।