(एक) ‘कामिका एकादशी’
(दुई) ‘पुत्रदा एकादशी’
(एक) ‘कामिका एकादशी’
श्रावण मासको कृष्णपक्षकी कामिका एकादशीको स्मरणमात्रले वाजपेय यज्ञको फल मिल्दछ । त्यसदिन श्रीधर, हरि, विष्णु, माधव र मधुसूदन आदि नाम लिएर भगवानको पूजन गर्नुपर्दछ । भगवान् श्रीकृष्णको पूजनले जुन फल मिल्दछ त्यो गङ्गा, काशी, नैमिषारण्य तथा पुष्कर क्षेत्रमा पनि सुलभ हुँदैन । जो श्रेष्ठ मनुष्य भगवान् श्रीधरको पूजन गर्दछ उसबाट गन्धर्व र नागसहित समस्त देवताको पूजन हुन जान्छ । पापरूपी समुद्रमा डुबेकाको उद्धार गर्न कामिका व्रत सर्वोत्तम छ ।लालमणि, मोती, वैद्य र मुगा आदिले पूजित हुँदा पनि भगवान विष्णु त्यति सन्तुष्ट हुनुहुन्न, जति तुलसीदलले पूजित हुँदा सन्तुष्ट हुनुहुन्छ । जसले तुलसीका मञ्जरीले श्रीकेशवको पूजा गर्यो उसका जन्मभरका सबै पाप नष्ट हुन्छन् । यस एकादशीमा दिन-रात दीपदान गर्नेको पूण्यको गणना चित्रगुप्तले पनि गर्न सक्दैनन् । जसले भगवान् श्रीकृष्णको सम्मुख दीप बाल्दछ उसका पितृ स्वर्गलोकमा स्थित भएर अमृतपानबाट तृप्त हुन्छन् । घीउ वा तीलको तेलको दीप भगवान्को सामु बाल्ने मानिस मृत्युपछि असङ्ख्य दीपकले पूजित भई स्वर्गलोक जान्छ जसले श्रद्धापूर्वक यसको माहात्म्य श्रवण गर्दछ सबै पापबाट मुक्ति पाई विष्णुलोकमा पुग्दछ ।
(दुई) ‘पुत्रदा एकादशी’
श्रावण शुक्लपक्षकी पुत्रदा एकादशी मनोवान्छित फल दिनेवाली छन् यस एकादशीको व्रत गर्नाले पुत्र प्राप्त हुन्छ । यस लोक र परलोकमा पनि सुख प्राप्त हुन्छ यसको माहात्म्य पाठ वा श्रवण मात्रले पनि व्यक्तिले समस्त पापबाट मुक्ति पाउंछ । यस लोकमा पुत्रसुख पाउँछ र मृत्युपछि पनि स्वर्गको बास पाउँछ । द्वादशीका दिन ‘ॐ नमोऽस्तु श्रीधराय’ ले १०८ पटक जाप गरी दही र घीउको आहुति दिनुपर्दछ ।एउटा प्रसंग जोडौं,कामका एकादशीका बारेमा एकफेर नारद मुनीले श्रृष्टिकर्ता ब्रह्मालाई पनि सोधेको प्रसङ्ग छ । हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषिकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व पृथक पनि छ । यस एकादशीमा व्रत लिनाको फल भने अश्वदान गरेझैं हुनेगर्दछ, अश्व अर्थात् घोडा जसको दान गरिने यज्ञ अश्वमेघ यज्ञ सबैभन्दा महान यज्ञका रुपमा मानिएको पाइन्छ । काशीको गङ्गामा प्रातकालिन डुबुल्की भन्दा धेरै, नैमिश्रयण या पुस्करको जङ्गलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्व वास्तवमै धेरै ठाँउमा वणर्न गरिएको पाइन्छ । सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदीमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल कामिका एकादशीको व्रत लिँदा हुने बताइएको छ । जीवनमा सबैभन्दा ठूलो रोग र बिजाँई त्यतीबेला हुन्छ जब हामीले आफूले गरेको गल्ती स्वीकार गर्दैनौं, आफूभित्रै आफैसँग लडाँई गर्दछौँ अनि पाखण्डी स्वाभिमानको हाँसो हाँस्दछौं । यस एकादशीले वडो चित्ताकर्षक रुपमा आफ्नो पाप या गल्ती स्वीकार गरेर भक्तिमार्गमा आएर कामिका एकादशीको व्रत लिन आव्हान गरेको छ । सम्पूणर् वेद, गीता र पुराणहरुको अध्ययनभन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरि व्रत लिनेले पाउँदछ । भगवान विष्णु अर्थात् जगतका पालनहार अनि हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाई अर्चना गर्नाले यस एकादशीमा पूण्य मिल्ने बताइन्छ । भगवान हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मञ्जरीलाई स्थान दिइन्छ र यस एकादशीमा पनि तुलसीको पात र मञ्जरीको उत्तिकै महत्व रहन्छ ।
(बुलबुल साप्ताहिक समाचारपत्रबाट)