१३ मंसिर २०७९, मंगलबार

श्रीकृष्णाष्टमीको महिमा र महत्व !

भाद्र कृष्ण अष्टमीका दिनमा हिन्दू धर्मावलम्बीले धुमधामसंग मनाउने पर्व श्री कृष्णजन्माष्टमी भगवान कृष्णको जन्मोत्सव हो । यस वर्ष कृष्णअष्टमी भाद्र १४ गतेका दिन परेको छ र यस दिन नेपाल सरकारले सार्वजनक विदा भनेर घोषणा पनि गरेको छ । द्वापर युगको अन्त्यमा भारतको मथुरामा राजा उग्रसेन राज्य गर्दथे । उग्रसेनलाई उनकै पुत्र कंसले राजगद्दीबाट हटाएर आफू राजा भएको थियो । उग्रसेनकी छोरी देवकीको विवाह मथुराकै वसुदेवसँग भएको थियो । कंस राजगद्दीमा बसेपछि आतङ्कको राज्य चलायो । कंस आफैँ बहिनी देवकी र बसुदेवलाई घर पुर्‍याउन जादा ‘देवकीको आठौं पुत्रले तेरो बध गर्नेछ’ भन्ने आकाशवाणी सुन्यो । त्यसपछि कंसको क्रोधकों सीमा रहेन । तत्काल तरबार झिकी बहिनीज्वाइँलाई मान तम्सियो । देवकीले जीवनरक्षाका लागि अनुनयविनय गरिन् । आफ्ना सबै सन्तान उसलाई सुम्पनेछु भन्ने वचन दिइन् । वसुदेवको ज्यान जोगिया तर कंसले दुवैलाई फलामको सिकीले बाँधेर कारागारमा थुनिदियो । ताला लगाई पहरा बसाल्यो । त्यही अर्को कोठामा पिता उग्रसेनलाई पनि थुनिदिएको थियो । उनले छोरीज्वाइँको त्यस्तो अवस्था आफ्नै आँखाले देख्नुपर्दथ्यो । समय बित्दै गयो । देवकीका सन्तान जन्मिन थाले । देवकीले आफ्नो वचनअनुसार एकपछि अर्को गर्दै आफ्ना छोराहरू कंसलाई सुम्पिदै गइन् । कंसले उनकै अगाडि अट्टहास गर्दै बालकहरू मार्दै गयो । यसरी उसले छवटा भानिजहरूको निर्मम हत्या गर्‍यो । सातौं गर्भलाई भने वसुदेवकी जेठी पत्नीको गर्भमा सारेको कथा पाइन्छ र तिनै सातौँ पुत्र बलराम कृष्णका दाजु हुन् । विधिको विधानलाई कसले टार्न सकेन । भाद्र महिना कृष्ण पक्षको अष्टमी तिथि, रोहिणी नक्षत्रको रात्रिको समयमा देवकीका गर्भबाट आठौं बालकको जन्म भयो । चकमन्न रातमा बालक जन्मिएपछि भगवान् विष्णु त्यहाँ प्रकट हुनुभयो । देवकी र बसुदेवका खुट्टाका सिक्री र फलामका ढोका आफैं खुले । पहरेदारहरू मस्त निद्रामा परे । भगवान् विष्णुले वसुदेवलाई आफ्नो पुत्रलाई वृन्दावनमा तिम्रा मित्र नन्दको घरमा पुर्‍याऊ र त्यहाँ जन्मेकी नन्दकी पुत्रीलाई यहाँ ल्याई कंसको हातमा सुम्पिन भनी अर्‍याउनुभयो । भगवानको आज्ञावमोजिम बसुदेवले बालकलाई लिएर निस्किए । मुसलधारे पानी परिरहेको थियो । बाटामा पर्ने यमुना नदीमा तर्न नसकिने गरी बाढी उर्लिएर आएको थियो तर बालकका प्रतापले यमुनाले बाटो दिइन् । बसुदेव वृन्दावन पुगे । उनले आफ्ना मित्र नन्दलाई सबै करा खुलस्त पारे । नन्दले पनि आफ्नी नवजात पुत्री वसुदेवलाई सुम्पिदिए र उनको ठाउँमा बालकलाई राखिदिएपछि मात्र नन्दकी पत्नी यशोदाको होस आयो । नन्दकी कन्या लिएर बसुदेव बन्दीगृह फर्किए । त्यसपछि बन्दी गृहका सबै ढोकाहरू आफैँ बन्द भए । खुट्टामा सिक्री पनि आफैँ बाँधिए । पहरेदारहरूको निद्रा पनि खुल्यो । भगवान् श्रीकृष्ण जन्मिने बेलामा सम्पूणर् जगत नै मोहित भएको हुँदा यस रात्रिलाई मोहरात्रि पनि भनिन्छ । विहानपख भएपछि कंसले यसपटक कन्याको जन्म भएको छ भन्ने थाहा पायो । उसले कन्यालाई पनि मार्न खोज्यो तर ती कन्या आकाशतर्फ उडिन् र कंसलाई ‘तँलाई मार्ने त अन्तै जन्मिइसकेको छ’ भनिन् । वृन्दावन नन्दपुत्रको आगमनको खुसीले हर्षित बन्यो । नन्दले बालकको नाम कृष्ण राखे । कृष्ण वृन्दावनमा अनेकौं बाललीला गर्दै हुर्कन थाले ।कन्याको वचनले कंस झस्क्यो । उसले हत्याराहरू बोलाई त्यस दिन जन्मेका सबै बालकको हत्या गर्ने आदेश दियो । असङ्ख्य बालकको हत्या भयो । तैपनि कसको चित्त बुझेन । उसले वृन्दावनमा पनि पूतना नाम गरेकी राक्षसीलाई पठायो । उसले वृन्दावनका थुप्रै बालकको हत्या त गरी तर जब कृष्णलाई काखमा लिएर आफ्नो विषाक्त दूध खुवाउन थाली, कृष्णले उसलाई मारिदिए । यिनै कृष्ण ठूला भएर स्वयं मथुरा गई कसलाई मारेर मातापितालाई कारामुक्त गरेर उग्रसेनलाई मथुराको राजगद्दीमा बसाले ।श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतारको रूपमा मानिन्छ उनले गीतामा भनेका छन्- ‘जबजब पृथ्वीमा धर्मको नाश हुन्छ, तबतब मैले अवतार लिएर धर्मको रक्षा गर्नेछु ।’ महाभारतको कौरव र पाण्डकोबीचको युद्धमा कृष्णले धर्मको पक्ष लिएका थिए । भगवान कृष्णको जन्मोत्सवको पर्व हिन्दूहरूले धुमधामसँग मनाउँछन् । नेपालमा पनि यो पर्व हर्षोल्लासपूर्वक मनाइन्छ । श्रद्धालु भक्तजनहरू यसदिन दिनभरि भोकै बसेर व्रत लिन्छन्, पूजापाठ गर्दछन्, गीता श्रवण गर्दछन् र कृष्णका मन्दिरमा गएर दर्शन गर्दछन् । श्रीकृष्णलीलाको नाटक, भजनकीर्तन गर्दछन् । रथमा कृष्णको मूर्ति राखेर नगर परिक्रमा गराउँछन् । पाटनस्थित कृष्णमन्दिरमा बिहानदेखि बेलुकीसम्म भक्तहरूको घुइँचो लाग्दछ । भारतको वृन्दावन, मथुरा, अयोध्या, काशी, प्रयागजस्ता तीर्थहरूमा धुमधामसँग यो पर्व मनाउँछन् ।

बुलबुल साप्ताहिक समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *