राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा संचालन गरिएको एकल अनलाइन खुल्ला नृत्य प्रतियोगितामा बाग्लुङकी जिविता खत्री प्रथम भएकी छन् । गत साउन १० गतेदेखि अनलाइन माध्यमबाट सुरु गरिएको ४८ जना सहभागी प्रतियोगीताको पहिलो, दोस्रो, तेस्रो चरणको छनौटपछि बुधबार उत्कृष्ट ५ मा पर्न सफल प्रतियोगीहरुबीच फाइनल गरिएको थियो ।
म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा भएको फाइलन प्रतियोगीतामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै कलाकार खत्री प्रथम हुनु भएको हो । हरितालीका तीजको अबसर पारी तीज गीतमा प्रस्तुत गरिएको एकल नृत्य प्रतियोगितामा बाग्लुङकै कमला थापा द्वितीय, म्याग्दी बरंजाकी देविना घर्ती मगर तृतीय, बेनपा ४ सिङ्गाकी मनिषा खाती र बेनपा ५ खोरगैराकी अस्मिता परियारले सान्त्वना स्थान हाँसिल गरेको कार्यक्रम संयोजक गोकुल सुनारले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय सान्त्वना हुनेलाई क्रमश रु दश हजार, सात हजार, चार हजार, र दुइ हजारका दरले पुरस्कार प्रदान गरिएको संयोजक सुनारले बताउनुभयो । विजेतालाइ कार्यक्रमका प्रमुख अतिथि म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बिशिष्ट अतिथि अग्रज लोक दोहोरी गायिका धनकुमारी थापा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष देबेन्द्र घिमिरे लगाएतले नगद, प्रमाणपत्र र खादा सहित पुरस्कार बितरण गर्नुभएको थियो ।
यसै बिच संघले म्याग्दीका अग्रज लोक दोहोरी गायीका धनकुमारी थापालाई सम्मान गरेको छ । जिल्लाको कला संस्कृतिलाई देश तथा बिदेशमा चिनाउनका लागि महत्वपूर्ण भूमिका निभाउनु भएकी थापाको योगदानको कदर गर्दै सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको संगीतकर्मी संघ म्याग्दीका महासचिव कमल पौडेलले बताउनुभयो ।
सम्मान ग्रहण गर्दै थापा
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कटुवालले गीत गाउने गायक तथा गायिकाहरु दर्शक श्रोतामाझ लोकप्रिय हुने तर सर्जकहरु अझै पर्दा पछाडिनै बस्नु पर्ने अवस्था रहेकाले सर्जकहरुलाई पनि उपयुक्त अवसर सृजनाहुने खालका गतिविधि गर्न आवश्यक रहेको बताउनुभयो । जिल्लाको कला, संस्कृतिको संरक्षण गर्न उद्योग बाणिज्य संघले पनि पहल गरिरहेको भन्दै आगामी दिनमा जिल्लाका सबै संगीतकर्मीहरुसंग सहकार्य गरेर म्याग्दी महोत्सब लगाएतका सांस्कृतिक कार्यक्रम संचालन गर्ने बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि अग्रज गायिका धनकुमारी थापा, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्रतिष्ठान म्याग्दीका अध्यक्ष देवेन्द्र घिमिरे, म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठ, संगीतकर्मी संघकी गण्डकी प्रदेश सदस्य दिलु फगामी, साहित्यकार चन्द्रबहादुर लामिछाने लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । संघका जिल्ला अध्यक्ष विपिन पौडेलको अध्यक्षता, र प्रथम उपाध्यक्ष किसान बिश्वकर्माको स्वागतमा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव कमल पौडेल र सहसचिव गोकुल सुनारले गर्नु भएको थियो ।