१२ मंसिर २०७९, सोमवार

आजदेखि सोह्र श्राद्ध सुरु !



हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । यसवर्ष असोज ५ गतेबाट सोह्र श्राद्ध शुरु भएर असोज २० गते सकिनेछ भने तिथि थपघटका कारण असोज १२ गते कुनैपनि श्राद्धको तिथि रहेको छैन ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो ।
चाडपर्व तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । सोह्रश्राद्धमा काठमाण्डौ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्छ ।
यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अपनाएर कर्म गर्न आग्रह गरिएको छ । दशैँ मनाउनुअघि पितृलाई तृप्ति गर्ने परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको मान्यता छ । सोह्र श्राद्धको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् दशैँ सुरु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *