गजल
निर्दोष शिव
सिङ्गो रहस्य खोज्दै गन्तव्य मारमा छ ।
डुङ्गा डुब्यो नदीमा माझी किनारमा छ ।
दुश्मन अगाडि दुश्मन आँधी बनेर आयो
राँको निभेर के भो झिल्को अँगारमा छ ।
भ्रममा चढेर कोही हिँड्दैछ कस्तुरी झैँ
वैरीहरूको सूची आफ्नै मुहारमा छ ।
स्वाँगी रहेछ दुनियाँ नाटक रहेछ यावत्
नाङ्गै थियो बिरामी मुर्दा सिँगारमा छ ।
मनमा जखमहरूका चीत्कार हाँस्न थाले
लाग्दैछ आज ईश्वर अन्तिम प्रहारमा छ ।
जैमिनी-८, छिस्ती, बाग्लुङ
हाल दक्षिण कोरिया
(२०२० मा अन्तर्राष्ट्रिय नेपालीअन्तर्राष्ट्रिय नेपाली गजल मञ्च, अनाममण्डली र स्रष्टासंग ६० मिनेटको संयुक्त आयोजनामा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगितामा प्रथम हुन सफल बहरवद्ध गजल ।)