१७ असार २०७९, शुक्रवार

ऋण लिएर श्रीमानको हत्या आरोपमा पक्राउ !


प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।
गोलबजार नगरपालिका वडा नम्बर ४ निपनिया कुटी टोल बस्ने ३८ वर्षीया हरिहरदेवी महरालाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको हो। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
उनीमाथि ३९ वर्षीय श्रीमान दुखरन महरा मोचीको हत्या गर्न लगाएको आरोप छ। भारतको विहार जयनगरस्थित वरही गाउँको नहरमा गत भदौ १८ गते शव फेला परेको थियो। भारतीय प्रहरीले उनको शव फेला पारेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको थियो।
हत्यामा संलग्न अर्का व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए।
भारतको मधुवनी देउधा बस्ने २६ वर्षीय मुकेश यादवलाई पक्राउ गरी जयनगर थानाबाट अनुसन्धान गरिरहेको छ। प्रहरीको दावी अनुसार हत्याको मुख्य योजनाकार श्रीमती हरिहरदेवी हुन्। श्रीमान दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
उनीहरूका चार जना छोराछोरी छन्। मृतक दुखरन १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका थिए।
त्यहाँबाट फर्किएपछि उनले आफ्नै घरमा फर्निचर तथा किराना पसल सञ्चालन गरेका थिए।
त्यसैबीच उनीहरूको झै-झगडा भइरहने गरेको हरिहरदेवीले प्रहरी समक्ष बयान दिएकी छन्।
‘मापसे गरेपछि विदेशमा हुँदा कमाएको पैसा कहाँ खर्च गरिस् भन्दै श्रीमतीमाथि कुटपिट गर्ने रहेछ,’ प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने,’श्रीमानले किराना पसलको सामान पनि फाल्ने, पैसा चोर्ने र आगो समेत लगाइदिने गर्ने गरेको बताएकी छन्।’
त्यसरी निरन्तरको यातना पछि हरिहरदेवीले दुई पटक आत्महत्याको प्रयास समेत गरेकी थिइन्। तर आफ्ना छोराछोरीको भविष्यको चिन्ता लागेपछि उनी पछि हटेकी थिइन्।
श्रीमानको हत्या गर्ने योजना उनले आफ्ना प्रेमी मुकेश यादवलाई बताएकी थिइन्। दुई वर्षअघि पाठेघरको अपरेशन गर्न हरिहरदेवी भारत गएकी थिइन्। त्यत्तिबेलाकै एम्बुलेन्स चालक मुकेश थिए।
उनीसँग त्यहाँबाट चिनजान भएपछि प्रेममा परिणात भएको प्रहरीले जनाएको छ। त्यसैबीच हरिहरदेवीले आफूलाई श्रीमानले अति नै दुख दिएको भन्दै हत्याको योजना सुनाइन्। तर त्यसबापत मुकेशले उनीसँग एक लाख रुपैयाँ मागेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।
‘एक लाख मागेपछि त्यत्ति धेरै दिन नसक्ने तर ४०-५० हजारसम्म दिन सक्छु भनेपछि उनीहरूले हत्या गर्ने योजना बनाए’ उनले भने।
योजना अनुसार श्रीमानको हत्या गर्न भारत लग्ने तय भएको बुढाथोकीले बताए। तर हरिहरदेवीसँग मुकेशलाई दिन पैसाको समेत अभाव थियो।
त्यसपछि हरिहरदेवीले श्रीमान दुखरनलाई घर खर्चको अभाव भएको भन्दै ऋण लिनुपर्ने सुझाइन्। उनीहरूले सल्लाह गरेपछि गोलबजारस्थित छिमेक लघुबित्तबाट ६० हजार रुपैयाँ ऋण समेत लिएको अनुसन्धानबाट खुलेको छ।
ऋण लिएपछि भने हरिहरदेवीले आफूलाई सन्चो नभएको सुनाइन्। उपचार गराउन भारतको जयनगर जाने भन्दै श्रीमानलाई फकाएर उनीहरू हिँडे। भदौ १७ गते हिँड्ने क्रममा सिरहा माडर पुगेपछि हरिहरदेवीले मुकेशलाई फोन गरेर आफूहरू आउँदै गरेको र आवश्यक रकम खल्तीमा हुन्छ भन्ने जानकारी गराएकी थिइन्।
सोही साँझ ६ बजे उनीहरू जयनगर रेलवे स्टेशनको चिया पसलमा चिया खान बसेका थिए। त्यत्तिकैमा मुकेशसहित तीन जना आएर श्रीमान दुखरनलाई खाजा नास्ता गर्न जाउँ भन्दे बुलेट बाइकमा राखेर लगेका थिए।
अन्य दुई जना भारतीय नागरिकहरूको सहयोगमा दुखरनलाई जयनगरस्थित वरही गाउँको नहरमा लगेर घाँटी रेटेर हत्या गरेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।
‘उनीहरूले हत्या गरेर ६० हजार नगद पनि लगे,’ उनले भने,’हरिहरदेवी भने भोलिपल्ट बिहानै गोलबजार फर्किइन्।’
प्रहरीले यस घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published.