नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) म्याग्दीको अध्यक्षमा युवा नेता कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । बुधबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रमबाट विश्वकर्मा अध्यक्षमा चयन हुनुभएको हो ।
भेलाले जिल्ला कमिटटीको उपाध्यक्षमा हेमराज शर्मा, सचिवमा दुर्गा कार्की, उप सचिवमा जीवन सापकोटा चयन गरेको छ । ६१ सदस्यीय जिल्ला कमिटीमा केही पदाधिकारी र सदस्यहरु पछि मनोनयन गरिने नवनिर्वाचित सचिव दुर्गा कार्कीले जानकारी दिनुभयो । भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य चुडामणी जंगलीले सर्वहारा र श्रमजीवि वर्गको उत्थान गर्ने वास्तविक कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी नै भएको बताउनुभयो ।
उहाँले नेतृत्वमा मिल्न सक्ने, मिलाउन सक्ने, योजना बनाउन सक्ने, योजनाको कार्यान्वयन गर्न सक्ने र गल्ती भएमा आत्मालोचना गर्ने सक्ने पाँचवटा गुणहरु हुनुपर्ने भन्दै एमाले अध्यक्ष केपी ओलीसंग यी मध्ये कुनै एकपनि गुण नहुँदा एमाले बिभाजन भई आफूहरुले नयाँ पार्टी निर्माण गरेको बताउनुभयो । जंगलीले जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै नेपालको विशेषतामा आधारित समाजवाद निर्माण गर्ने मूख्य एजेन्डा लिएर पार्टीलाई अगाडि बढाएको भन्दै लोक कल्याणकारी राज्यको अवधारणा अनुसार काम गर्ने बताउनुभयो ।
त्यसैगरि एकीकृत समाजवादी पार्टीका गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठले केपी ओलीले संसद बिघटन गर्दा विरोध गर्दै विपक्षमा उभिएका नेताहरु अहिले एमालेमै रहँदा आफूहरुलाई ठूलो घात भएको बताउनुभयो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री तथा समाजवादीका केन्द्रिय सदस्य रामजी प्रसाद शर्मा, केन्द्रिय उद्योग विभागका सदस्य याम श्रेष्ठ, जिल्लाका अग्रज नेता अमर बानियाँले मन्तब्य ब्यक्त गर्नु भएको थियो । एकीकृत समाजवादी पर्वतका अध्यक्ष मोतीप्रसा,द पौडेलले फरक मत राख्नेहरुलाई पाखा लगाउने प्रवृतिले हिजोको दुईतिहाई कम्युनिस्ट सरकार आज विपक्षी बेन्चमा बस्न पुग्दा पनि ओलीको दम्भ अझै नघटेको बताउनु भयो ।
बागलुङका अध्यक्ष लालबहादुर थापाले असली कम्युनिस्ट भनेको एकीकृत समाजवादीपार्टी नै भएको हुँदा भोलिको दिनमा यस पार्टीको भविष्य रहेको बताउनु भयो । समाजवादी पर्वतका सदस्य उदय सुवेदीले ओली प्रवृति केन्द्रदेखि जिल्लासम्म रहेकाले यसको विरुद्धमा सशक्त भएर लाग्नुपर्ने बताउनुभयो । श्रीप्रसाद शर्मा, याम श्रेष्ठ, प्रा. डा. होमनाथ बरुवाल, युवा नेता थमन गिरि आदिले मन्तव्य राख्नुभएको थियो । भेला आयोजक कमिटीका संयोजक देउप्रसाद छन्त्यालको अध्यक्षता, कृष्णकुमार बिश्वकर्माको स्वागत र रुद्र किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।