राति ११ बजे बाबुको मृत्यु भएको खबर उनले विहान ७ बजेतिर माइती गाउँका छिमेकीले फेसबुकमा राखेपछि मात्र थाहा पाइन् । थाहा पाउनेवित्तिकै उनले ती छिमेकीलाई फोन गरिन्, ‘म घाटमै भएपनि आउँछु, एक पटक अनुहार हेर्न पाऊ, नजलाउनु ।’
तर अन्तरजातीय विवाह गरेकी सीता ढुंगाना विश्वकर्माले बाबुको अनुहार हेर्न पाइनन् । छोरी आउने खबर पाएपछि माइती पक्ष अन्त्येष्टिको काम चाँडै नै सकेर घर फर्किए ।
विश्वकर्मासँग विवाह गरेकै कारण माइतीबाट अलग बनाइएकी नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ झापाकी सहसचिव सीताले बाबुलाई जलाएको खरानी माग्दा पनि पाइनन् । ‘म कन्काइ घाट आउँदैछु अलिकति खरानी भएपनि राखिदिनु भनेको थिएँ, त्यो पनि सबै पखालेर बगाइदिएछन्’ उनले भनिन् ।
एमालेको हालका झापा जिल्ला सदस्य छविलाल विकसँग २०५७ साल पुसमा प्रेम विवाह गरेकी सीता त्यतिबेलादेखि नै माइतीबाट तिरस्कृत छिन् । सीताले विवाह गरेपछि उनका माइती पक्षले ब्राम्हण बोलाएर एकोहोरो शंख बजाएर उनको किरिया गरिसकेका थिए ।
माइतीले सँगै बसेर बाबुको किरिया गर्न बर्जित गरेपछि सीता आप्mनै घरमा किरिया बसेकी छन् । किरिया बसेको तेह्रौं दिन उनले शनिबार भनिन्, ‘मैले दलितसँग विवाह गरेकै कारण मेरो जिउँदैमा किरिया गरियो, बुबा मरेपछि पनि मलाइ किरिया गर्न दिइएन ।’
सीताकी बाबु धर्मानन्द ढुंगानाको १३ दिनअघि ९३ वर्षको उमेरमा मृत्यु भएको थियो । दमक सूर्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक भीमप्रसाद ढुंगाना र सार्वजनिक निमाविका शिक्षक लक्ष्मीप्रसाद ढुंगाना सीताका दाजु हुन् । दाजुहरुले नै सँगै किरिया बस्न नमानेको सीता बताउँछिन् ।
‘राज्यको शासन व्यवस्था कुुलीन वर्गको हातमा राख्ने र उपल्लो वर्गकाले शुद्रलाई रैती दास र आफूलाई मालिक ठान्नेहरुले कागजी रुपमा जति नै व्यवस्था परिर्वतन गरेपनि व्यवहार त परिवर्तन गर्न गाहो रहेछ’ उनले भनिन् ।
उनी किरिया बसेका बेला एमालेका धेरै नेताहरु भेट्न आए, समवेदना पत्र पठाए । सबैले ‘तपाईंलाई अन्याय भयो’ भने । ‘तर कसैले पनि हिड्नोस हामी तपाईंको माइतीमा किरिया वस्ने व्यवस्था मिलाइ दिन्छौं भन्न सकेनन्, सबैजना मेरो घरको पानी पनि नपिई हिँडे’ सीताले आक्रोश पोखिन्, ‘अब भन्नोस् परिवर्तन कागजमा मात्र भएर के हुन्छ ?’
सीताका पति छविलाल विश्वकर्मा यस्ता विषयमा एक्लै लड्न नसकिने बताउँछन् । ‘हामीले परिवारका सबै सदस्य एकै ठाउँ बसेर किरिया गर्ने वातावरण तयार गर्न अनेक प्रयास गर्यौं, तर सम्भव भएन । हामीले मुठभेट गर्न खोजेनौं’ उनी भन्छन् ।