चन्द्रप्रकाश बानियाँ
एक जमानामा विद्युतीय सामाजिक सञ्जाल फेसबुकको भित्तामरि एउटा ‘विद्युतपोल’ को चर्चा चल्यो । पाटन गेटनेरको कुनै होटेल रेष्टुरेण्टतिर कतै चौकीदारीमा खटिएको त्यो पोललाई म्याग्दी फर्काउने अभियान सुरु भएको थियो ।
आजसम्म म्याग्दीमा मात्रै हजारौको संख्यामा विद्युत पोलहरू भित्रिए होलान् । तिनीहरू मध्येका कैयौँ हराए होलान्, भाँचिए अनि मासिए होलान् । तिनको कतै हिसाब किताब छ जस्तो लाग्दैन । त्यही एउटा पोल जसले २०६० साल चैत्र ७ गतेको रातमा माओवादी विद्रोही र संयुक्त सुरक्षा फौजबीच मञ्चन भएको भयङ्कर भिडन्तमा सयौँ गोली खाएको थियो । हो, त्यसैको यतिबेला बेनीबजारमा खोजी हुन थालेको हो । जसरी पनि खोजी छोड्ने र बेनीबजारमा पुनस्थापित गराइछोड़ने भीष्मप्रतिज्ञा गर्नेहरू निस्केका हुन् । उनीहरूको अभियानमा होस्टेमा हैँसे मिलाउन प्रतिबद्ध एउटा सिंगो सचेत पुस्ता तयार भैसकेको पनि हो । धन्य त्यो महत्वपूणर् पोल धातुको परेछ । काठको हुन्थ्यो भने यतिबेलासम्म खरानी परिसक्थ्यो होला अथवा हँसियाको बिँड, हलोको अनांै, ठेडी, विनारी वा जुवाको सोइलोको रूपमा अस्तित्व धान्ने भगिरथ प्रयत्नमा निमग्न रहँदो हो, विचरो !
समयको प्रवाहसँगै बेनीबाट धेरै कुराहरू बाहिरिएका छन्, मासिएका छन् र हराएका छन् । तिनको कसैले खोजी गरेको देखिँदैन । नेवारहरूको ठूलो संख्या बेनीबाट बसाई सरेर गयो । गोर्खाली योद्धाहरूले यतिखेर कोटभण्डारमा रहेको पर्वत राज्यकालीन स्थानीय ज्यासलमा निर्मित तोप पनि लगेका थिए रे । भरियाहरू सुतेपछि रातमा आफै भागेर उक्त तोप बेनी आएको किंवदन्ती सुनिएको छ । अर्थात् लुटिएको तोप चोरेरै भए पनि बेनीले फिर्ता ल्याएको हो । त्यो जमानामा तोप विशेष महत्वको थियो होला । विद्युत पोलको त्यस्तो ठूलो महत्व हुने कुरा भएन तै पनि यतिखेर जंगलमा हराएकी सीताको रामले गरेको खोज तलासको पौराणिक कथा बिर्साउने गरी एउटा विद्युत पोलको खोजी हुन थालेको छ ।
चर्चित मुक विद्युत पोल विद्रोही माओवादी र संयुक्त सुरक्षा फौजबीचको भिडन्तको साक्षी थियो । युद्धको प्रत्यक्षदर्शी मात्र भैदिएका भए त्यसको कुनै महत्व हुँदैनथ्यो । किनकि त्यो खम्बा मान्छेको भाषा बोल्न सक्तैनथ्यो । कतै चोक चौतारीतिर उभिएर युद्धकथा पारायण गर्न सक्तैनथ्यो । अड्डा अदालतका कठघरामा उभिएर वकपत्र गरिदिन सक्तैनथ्यो । त्यसले सयौँ गोली खाँदा पनि सतिसालभै दुई बन्दुकहरूका बीच उभिएर योद्धातिर लक्षित गोलीहरू आफ्नो छातीमा थापेको थियो । कैयौं योद्धाहरूको ज्यान जोगाएको थियो जसको प्रमाण स्वरूप शरीरभरि गोलीका निशानहरू बोकेको थियो । त्यसलाई पुनःस्थापित गर्न अभियानमा लाग्नेहरूको भावनामा के छ कुन्नि ? उनीहरूको आशय के हो भनेर पनि सबैले जान्ने बुझ्ने कुरा भएन । सायद गोलीले छियाछिया भएको पोल काठमाडौँ सहर पुग्नु र आज पर्यन्त गल्ली कुरेर ठडिनुको कारणले त्यसको विशेष महत्त्व होला भन्ने लागेको होला अथवा माओवादी आन्दोलनको विभत्स हिंसाको साँक्षी युग युगसम्म बनिदेला भन्ने आशा पनि हुनसक्छ ।
मलाई भने त्यो खम्बा माओवादीको मतियार थियो जस्तो लाग्छ । त्यो निर्जीव खम्बा युद्धको साक्षी मात्र पटक्कै थिएन । त्यसले माओवादीको तर्फबाट युद्धमा स्वयम भाग लिएको थियो । पक्ष लिएर लडेको थियो । माओवादी योद्धाहरूतिर लक्षित सयौं सरकारी गोलीहरू उसले आफ्नो छातीमा थापेको थियो । युद्ध आक्रमणमा माओवादीहरूले गोलीभन्दा बढी घरेलु विष्फोटकहरूको प्रयोग गर्थे भनिन्थ्यो । जान अञ्जानमै किन नहोस् माओवादीहरूको रक्षक बनेर त्यो खम्बा उभिएको हनुपर्छ । किनकि उसको आडभरी असंख्य गोलीका निशानहरू थिए । जति त्यो खम्बाको शरीरमा गोलीका निशानहरू थिए सायद त्यतिको संख्यामा माओवादीहरूले त्यो रातको युद्धमा गोली दागेकै थिएनन् होला । विचरो निर्जीव खम्बाले न्याय अन्याय छुटयाउने हैसियत राख्दैनथ्यो । जुन पक्षको सहयोगी बनेको भए पनि त्यो परिबन्द मात्रै थियो । सचेतता पूर्वक कसैको रक्षा वा प्रतिरोध खम्बाले गरेको होइन । चेतना भएको भए अथवा हातखुट्टा चलाउन सक्ने हैसियत राख्ने भए ज्यान जोगाउन सुरक्षित स्थान तिर भाग्दो हो । भाग्न नसक्ने वा भाग्नु नपर्ने उसको भौतिक अवस्थाले मध्य युद्धस्थलमा रातभर डटिरहन विवश बनेको हो । उसको जड नियतिले बाध्य बनाएको थियो ।
सयौँ गोली खाएर पनि नढलेको त्यो वीर योद्धा मध्य बजारबाट कुनैदिन अकस्मात् गायब भएछ । सायद त्यसलाई कसैले रातारात विस्थापित गरिदिएको होला । गोलीले छलनी भएको भए पनि आफ्नो कामको लागि ऊ अयोग्य भैसकेको थिएन । हजारौं भोल्टको विद्युतीय तरङ्ग प्रशारण गर्ने विद्युत लट्ठाहरू काँधमा बोकेर पूर्ववत यथास्थानमा उभिएकै थियो ‘हिराको परख जौहरीले गर्छ’ भने जस्तो कुनै पारखीका आँखा त्यसमा परे होलान् । त्यसका शरीरमा परेका प्वालहरूबाट सहस्रधाराको पहराबाट निस्रित हुने अजस्र पानीका श्रोतहरू हरिया डलरका थाकहरू सम्भावना देख्यो होला । त्यो घाइते पोल काठमाडौं पुग्नुको कारण न त उपचारका लागि थियो न त जलशयनका निमित्त पशुपति आर्यघाट जानु नै थियो । रहस्यमय तरिकाले पोल अन्तरध्यान भएको तिथि मितिको सायदै कसैलाई हेक्का थियो होला । कसरी कस्को चतुर दिमागमा त्यो हराएको खम्बाको स्मरण ताजा हुन गयो कुन्नि ? र खोजी हुन थाल्यो ? महासुर हिरण्याक्षको डकैतीमा परेका वेदादि ग्रन्थहरुलाई भगवान् नारायणको वराह अवतारले पातालबाट ढुँडलेर निकाले जस्तै राजधानीको कुनै गल्लीतिर युद्धगाथा सुनाउँदै गरेको अवस्थामा त्यसलाई फेला पारेछन् ।
हुन त त्यो पोल उतैबाट म्याग्दीतिर आइपुगेको हो । वंशज वा जन्मका आधारमा त्यो म्याग्दीको नागरिक किमार्थ होइन । तैपनि उसले पाएको पहिचानको श्रोत म्याग्दी हो । म्याग्दीले उसलाई विशिष्टता प्रदान गरेको हो । ऊ म्याग्दीको अङ्गिकृत नागरिक अवश्य हो भनेरै सिन्दुर पोते पहिन्याएर विवाह गरेकी श्रीमतीमाथि लोग्नेको हक लाग्छ भन्ने रुढीवादी सामाजिक मान्यता रहेजस्तै त्यो विद्युत खम्बामा म्याग्दीले हकदाबी गर्न शालेको छ । हो, त्यो युद्धस्मारक हो र त्यो युद्धस्थल बेनीबजार हो । त्यसले कहने कथा बेनीको हो । त्यसैले त्यो कथा बेनीको भूमिमै कुहिनु सुनिनु पर्छ । तत्कालीन राजा वीरेन्द्रको सालिक आन्दोलकारीहरूद्वारा उखेलिएर उजाड बनेको बेनीमा युद्ध स्मारकको रूपमा त्यही खम्बा ठडिनुपर्छ, ठढयाइनुपर्छ । बेनीको भावना र चाहना हो यो ।
युद्धको महत्वको तत्वबोध होस् कि नहोस युद्धस्मारक रूपी विद्युत खम्बाको महत्व भने म्याग्दीले बुझेको छ । बुझ्न थालेजस्तो देखिएको छ । हुन पनि त हो नि ? चिहानको पनि त महत्व हुन्छ । मिश्रका पिरामिडहरू संसारभर प्रसिद्ध छन् । विश्वको सप्त आश्चर्यको गणनामा पर्ने ती पिरामिडहरू पनि आखिर बिहानै त हुन् । भारतको आग्रास्थित ताजमहल पनि विश्वको अद्वितीय कारीगरीको नमुना मानिन्छ । सप्ताश्चर्य मध्येको एउटा मानिने मुगल सम्राट शाहजहाँले आफ्नी रानी मुमताजमहलको स्मरणमा बनाएको चिहानै त हो त्यो । म्याग्दीको बेनीबजार पनि सयौंका संख्यामा मरेका मारिएका माओवादी योद्धाहरूको चिहानै त हो । रसियाको भ्रमणगर्न पर्यटक पाहुनाहरूले लेनीनको लासको श्राद्धपूर्वक दर्शन गर्दछन् । महात्मा गान्धीको चिहान रहेको जमुना किनारको राजघाट पवित्र तीर्थस्थल नै बनिसकेको छ । त्यसैले पनि त्यो खम्बो म्याग्दी ल्याउने पर्छ र स-सम्मान पुनःस्थापित गरिनुपर्छ । वर्षौवर्षसम्म त्यसले सुनाउने युद्धकथा म्याग्दीले सुन्न सुनाउन पाउँनुपर्छ ।
म्याग्दीका जागरूक नागरिकहरूले फर्काउन सकेछन् भने खम्बा एकपटक फेरि म्याग्दीको भूमिमा शानसँग ठडिने छ । स्मरणयोग्य एउटा कुरा के हो भने त्यो खम्बो कमसेकम काठमाडौंको गल्लीतिर सही सलामत रहेछ र फर्केर आउने सम्भावना देखियो । सायद समाज अब निकै चेतनशील भैसकेको छ । ऐतिहासिक महत्वका चीजवस्तुहरूको संरक्षण गर्नुपर्ने चेत समाजमा पलाएको छ ३०/४० वर्ष पहिले बेनीको समाजमा त्यस्तो चेत थिएन । समाज जागरूक हुन्थ्यो भने पर्वत राज्यको ऐतिहासिक दरबार (टकसार) मासिने नासिने थिएन । ऐतिहासिक सत्तलको विनाश पनि हुने थिएन । कृष्णमन्दिरका प्राचीन मूर्तिहरू हराएका हुँदैनथे ।
शिवालयस्थानको जिणर्ोद्धार हुँदो हो । वरिपरि थुप्रिएका संरचनारूपी फोहर सफा गरिँदो हो । बालमुक्तेश्वर प्राङ्गण अनाधिकृत संरचनाहरू हटाइदा हुन् । अनेक अमूल्य ऐतिहासिक धरोहरहरूको नाम निशाना मेटिएको घटनाको स्मरणले हृदयको कतै कुनामा चसक्क घोचिमाग्नुपर्ने परिस्थिति उत्पन्न हुँदैनथ्यो । अब पछुताउनुभन्दा बढी के गर्न सकिन्छ र ? हो, त्यसैले त्यो खम्बो बेनी फर्केकै राम्रो । यतिबेला खम्बा फर्काउने अभियानमा लाग्नेहरूको सोच र मनारी त्यसले पूरा गर्ला वा नगर्ला तर त्यसले एउटा इतिहासको कथालाई सुरक्षित गर्ने छ । कुनैदिन मुलुकले समृद्धि प्रगतिको फड्को मारेछ भने समाज परिवर्तनको एउटा महत्वपूणर् आयामको जीवित साक्षी त्यो बन्ने छ । मुलुकको कायालपलटमा म्याग्दीले खेलेको अहम भूमिकाको अमरगाथा गाइरहने छ ।
तर दुर्भाग्य । त्यो विद्युत खम्बा फेरि फर्केर बेनीमा आउँदै आएन । तैपनि प्रतीक्षा सकिएको भने छैन । आशा मरिसकेको छैन ।