१७ चैत २०७९, शुक्रवार

जैमिनी नगर सभापतिमा काँग्रेसका चार जना आकाङ्क्षी !


नेपाली काँग्रेसको वडा तहको अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिले पुनः मिति संशोधन गरेर आगामी असोज ९ गतेका लागि गाउँ र नगरपालिकाको अधिवेशन सारेको छ । वडा तहबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएसँगै गाउँ र नगरपालिका तहमा पनि आफ्नो उम्मेदवारी घोषणा गर्ने होडबाजी चलेको छ । यतिबेला जिल्लाको जैमिनी नगरपालिकामा नगरसभापतिका आकाङ्क्षीले उम्मेदवारी घोषणा गरेका छन् । 
जैमिनी नगरपालिकामा हालसम्म वर्तमान सभापति काशिराम आचार्य, सचिव पुरन श्रीष, नेविसंघका नेता एवं धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापति विष्णुराज पौडेल र जैमिनी नगरपालिका वडा नं. २ का वडा सदस्य प्रेम सापकोटाको चर्चा चलेको छ । स्थानीय तहको पुनर्संरचनापछि नगरसभापतिको जिम्मेवारी लिएका काशिराम आचार्यले आफूले पुनः नगरसभापति भएर नगरभित्रको काँग्रेसको सङ्गठनलाई बलियो बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । जैमिनी नगरपालिका–१ कुश्मिसेराका उनले २०७६ सालको पौष नौ गतेबाट जैमिनी नगरपालिकाको सभापतिको पद समालेका थिए । यस अघि तत्कालीन कुश्मिसेरा गाविसको सभापति भएर काम गरेका आचार्यले स्थानीय तह भएपश्चात् नगरपालिकाको सभापतिको जिम्मेवारी समालेका हुन् । 
केही समय नगर संयोजक भएर काम गरेका उनले पछि कार्यसमितिलाई नै पूर्णता दिएर काम गरे । उनले पुनः नगरसभापति भएर  आगामी स्थानीय तहको निर्वाचनमा सबै वडामा जिताउने लक्ष्य रहेको बताए । ‘मेरो लक्ष्य भनेको सङ्गठन विस्तार गर्ने र आगमी निर्वाचनमा सवै वडामा काँग्रेसको नेतृत्व ल्याउने हो आचार्यले भने, सके दश वटै वडामा नेतृत्व ल्याउने छौं नत्र ७ वटा वडामा त अवश्य ल्याउने गरी काम गर्नेछौं । उनले आफ्नो कार्यकालमा पार्टी कार्यालयको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने समेत बताए । आचार्यले अन्य वडाका भन्दा कुश्मिसेरा क्षेत्रकाले नै नगरसभापतिको नेतृत्व गर्न सक्ने दाबी गरे । 
२०३६ सालबाट नेपाल विद्यार्थी  संघमा सक्रिय भएर काँग्रेसको राजनीति सुरु गरेका आचार्य नेपाल शिक्षक संघ बागलुङको संस्थापक सचिव भएर काम गरेका थिए । उनी नेपाली काँग्रेसको जिल्ला सदस्य हुँदै तत्कालीन कुश्मिसेरा गाविसको सभापति र हाल जैमिनी नगरपालिकाको सभापति भएर नेतृत्व समालेका छन् । जैमिनी नगरपालिकाको सभापतिको अर्को दाबेदार हुन पुरन श्रीष । हाल नगर सचिव रहेका श्रीष जैमिनी नगरपालिका १० राङखानीमा जन्मिएका हुन् ।
 राजनीतिमा युवाहरुको आकर्षण र नयाँ पुस्ता हस्तान्तरणका लागि आफूले नगर सभापतिमा दावी गर्न लागेको उनले जानकारी दिए । अग्रजहरुलाई सम्मान सहित युवाहरुलाई अवसरको लागि अगाडि बढेको उनले बताए । ‘म एक पटक सभापति भए पनि पुनः खोज्ने छैन । श्रीषले भने,–‘हाल सचिवमा छु त्यसैले सभापतिको दाबेदार स्वतः रुपमा रहेको छ । म सभापति हुँदा अन्य लाभको पद पनि लिने छैन । मेरो लक्ष्य भनेकै एक व्यक्ति, एक पद, एक कार्यकाल भन्ने हो ।  यसलाई प्रभावकारी कार्यान्वयनका लागि मलाई सबै नेता तथा कार्यकर्ताको साथ रहेको छ ।  विशेषतः गुटको राजनीतिले समग्र पार्टी पंक्ति र विकासप्रेमी नेताहरुलाई प्रभावित पार्ने भएकाले यसलाई निरुत्साहित गर्नका लागि आफू लागि पर्ने भन्दै उनले सम्पूर्ण लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने नगरवासीहरुको लागि नगर सभापतिमा उम्मेदवारी दिन लागेको बताए । 
२०६८ सालदेखि राजनीतिमा सक्रिय श्रीस २०६८ सालदेखि २०७१ सालसम्म नेपाल विद्यार्थी संघ थापाथली क्याम्पसको इकार्ई उपाध्यक्ष, नेपाल विद्यार्थी संघ ११ औँ महाधिवेशन प्रतिनिधि, २०७३ सालदेखि २०७५ सालसम्म नेपाल मगर विद्यार्थी संघको केन्द्रीय सदस्य तथा प्रविधिक विभाग प्रमुख, २०७४ सालदेखि २०७६ सालसम्म नेपाल तरुण दल जैमिनी नगर सचिव रहेका छन् भने हाल नगर सचिवको रुपमा काम गरेका छन् । श्रीष नेपाल राष्ट्रिय मगर संघ बागलुङ जिल्ला उपाध्यक्ष समेत हुन् ।
सभापतिका लागि आचार्य र श्रीषसँगै अर्को युवा नेता विष्णुराज पौडेलले पनि दाबी गरेका छन । उनले केही दिन पहिले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी  घोषणा गरेका छन् । जैमिनी नगरपालिका–७ जैदीका पौडेल नेपाल विद्यार्थी संघबाट धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सचिवमा विजयी भएका थिए । अन्य उम्मेदवार भन्दा उनी सबैभन्दा कान्छा उम्मेदवार पनि हुन् । विद्यालय तहदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय पौडेलले अबको नेतृत्व युवाको काँधमा हुनुपर्ने मान्यताका साथ आफूले उम्मेदवारी दिएको बताए । कक्षा ८ मा अध्ययन गर्दै गर्दा नेविसंघको सचिव भएर आफ्नो राजनीति यात्रा सुरु गरेका पौडेल विपी स्टडी युथ सर्कल बागलुङ विपी पब्लिक पोलिसीका अध्यक्ष समेत हुन् ।
युवाहरु बिच लोकप्रिय मानिने पौडेलले युवाहरुलाई काँग्रेसको राजनीतिमा टिकाउनकै निम्ति आफ्नो उम्मेदवारी रहेको बताए । उनले  पछिल्लो समयमा पार्टीभित्र देखिएको विसंगतिको अन्त्य गरी संगठन सुदृढीकरण गरेर अगाडि बढाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए । ‘हामी युवाहरु नेतृत्व तहमा जानका लागि अझै पनि खुट्टा कमाउने गछौं पौडेलले भने,–‘ पार्टीभित्रको संगठन बलियो बनाउन र निर्वाचनको बेलामा प्रतिपक्षसँग होमिने भनेकै युवा हो तर नेतृत्व तहमा पुग्न सकिरहेका छैनौं । समग्र युवाहरुलाई प्रतिनिधित्व गरेर मैले उम्मेदवारी दिएको हुँ ।  नगर सभापति भएसँगै स्थानीय तहको निर्वाचनमा जैमिनी नगरपालिकाका सवै वडासहित नगरप्रमुख र उपप्रमुख समेत काँग्रेसको पोल्टामा पार्ने गरी आफुले सङ्गठन बलियो बनाउने लक्ष्य लिएको पौडेलले बताए । उनले पछिल्लो समयमा राजनीतिप्रति आएको वितृष्णाले युवाहरु विदेश पलायन हुने क्रम बढ्दै गएको र यसको अन्त्यका लागि र राजनीतिसँगै रोजगारीमा जोड्नका लागि आफूले नेतृत्व लिन चाहेको बताए । पौडेले माथिल्लो तहका नेतामा रहेको गुट उपगुटको अन्त्यका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए । 
जैमिनी नगरपालिकाको सभापतिका लागि अर्को आकाङ्क्षी हुन् प्रेमप्रसाद सापकोटा । जैमिनी नगरपालिका–२ को वडा सदस्य रहेका सापकोटा नेपाली काँग्रेसको तत्कालीन दमेक गाविसको सभापति भएर काम गरेका थिए । २०३३ सालदेखि नै राजनीति यात्रा सुरु गरेका सापकोटा काँग्रेसको पूर्व क्षेत्रीय सचिव समेत भएका थिए भने सङ्गठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । उनले आफ्नो उम्मेदवारी गुट उपगुटको अन्त्य गरी पार्टीलाई बलियो बनाउनकै निम्ति रहेको बताए । ‘म कुनै गुट उपगुटमा लागेर राजनीति गर्न चाहन्नँ, सापकोटाले भने,– नितान्त विपिका समाजवादको दस्ताबेजलाई मानेर संगठनलाई बलियो बनाउने लक्ष्यका साथ नगरसभापतिमा दाबेदारी गरेको हँु ।
 म सभापति बने पनि नबने पनि सक्रिय  भएर पार्टीको राजनीति निरन्तर गर्नेछु । नगरपालिका र गाउँपालिकाको अधिवेशनमा क्रियाशील सदस्यले नै सभापति बाहेकका पदमा उम्मेदवारी दिन पाउने भएपछि पदाधिकारी र सदस्य पदमा पनि दर्जनौको आकांक्षा रहेको देखिएको छ । सबै वडाबाट अनिवार्य रुपमा प्रतिनिधित्व हुने गरी समिति निर्माण हुने हुँदा यसपटकदेखि गाउँ र नगरपालिका तहको कार्यसमिति पनि जम्बो हुने छ । 

(बागलुङ पोष्ट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *