१७ चैत २०७९, शुक्रवार

पर्वतमा पहिरो ! बागलुङ, म्याग्दी र मुस्ताङसम्म समस्या !


निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौं ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौरदेखि कुस्माबजारसम्म दर्जनौं ठाउँमा ठूलठूला पहिरो गएका कारण यातयात पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पर्वतको कुस्मा नगरपालिका–८ दोबिल्ला र चुवामा गएका पहिरो हटाउन हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले बताए ।

‘दर्जनौ ठाउँमा गएका पहिरो हटाउन दुईतर्फी रुपमा डोजर प्रयोग गर्दा पनि हप्ता दिन लाग्न सक्छ। उनले भने, ‘पहिरो पन्छाउने प्रयास शनिबार बिहानैदेखि शुरु भएको छ ।’
मध्यपहाडी लोकमार्गको पर्वतको कुस्मादेखि पातीचौरसम्म सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गमा बाहिरी जिल्लासँगको सम्पर्क टुटेको छ ।
यस्तै, बनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समस्या भएको छ । हिजोदेखि शुरु भएको अनलाइन परीक्षा इन्टरनेट तथा विद्युत नहुँदा समस्या भएको हो । पहिरोले विद्युत र इन्टरनेटमा समस्या हुँदा पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका विद्यार्थीलाई समस्या भएको बनविज्ञान अध्ययन संस्थान पोखराका सह–प्रध्यापक रामप्रसाद शर्माले जानकारी दिए ।
‘त्रिभुव विश्वविद्यालयको डिन कार्यालयले पहिलो पटक अनलाइनबाट परीक्षा दिने निर्णय गर्यो,’ उनले भने, ‘यो निर्णयले गर्दा विद्यार्थी घरमै बसेकाले इन्टरनेट र विद्युतकाे समस्या झेलिरहेका छन् । ’
डिनको कार्यालयले भौतिक रूपमै उपस्थित भएर विद्यार्थीले परीक्षा दिनुपर्ने भनेको भए विद्यार्थी पोखरा गएरै परीक्षामा सामेल हुने उनको भनाइ छ ।
तर डिनकाे कार्यालयले अनलाइनबाट परीक्षा दिने सजिलाे माध्यम बनाएपनि इन्टरनेट नहुँदा समस्या भएकाे हाे ।  यदी विद्यार्थी परीक्षामा सहभागी हुन नसकेकाे खण्डमा कारण खुलाएर निवदेन दिए त्यसमाथि छलफल हुने सह–प्रध्यापक शर्माले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार भूपी शेरचन राजमार्गको पर्वत खण्डमा मात्रै ११ वटा पहिरो खसेका छन् । तीमध्ये अधिकांश ठूला र पहाडैसहित खसेका छन् ।
‘भूपी शेरचन राजमार्गमा डेढ घन्टा जति हिँड्यौ हामी । बाटोभरि पहिरो नै पहिरो छ । मानिसहरु ठूलो जोखिम मोलेर पैदल त हिँडिरहेका छन् तर राजमार्ग खुल्ने अवस्था छैन,’ सिडिओ पाण्डेले भनिन्, ‘कुश्मादेखि पातीचौरसम्म ३ घन्टा जति हिँडेर जाने र त्यहाँबाट अर्को गाडी चढ्ने अवस्था रहन सक्छ तर सडक नै तत्काल खुल्न सम्भावना छैन,’ उनले भनिन्, ‘तत्काललाई पोखरा वा काठमाडौं रिफर गर्नुपर्‍यो भने समस्या छ ।’
राजमार्ग खुलाउन छिटोभन्दा छिटो पहल गर्ने उनले बताइन् । निर्माण व्यवसायी र अन्य सरोकारवालासँग सल्लाह गर्दा एक हप्ता लाग्न सक्ने बताएको पाण्डेले जानकारी दिइन् । ‘तर त्योभन्दा अगाडि नै खोल्न पर्छ भनेर लागि परेकी छु,’ पाण्डेले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *