आठ दिनदेखि बन्द मध्यपहाडी लोकमार्गअन्तर्गतकाे पर्वत–बाग्लुङ बिहीवार बेलुकीदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । भदौ १७ गते राति वर्षासँगै पहिरो खसेर बन्द भएको सडक एकतर्फी खुलेको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिका ७ खरेयादेखि मोदी गाउँपालिका ५ अम्बोटसम्म पहिरोले बन्द भएको सडक सुरक्षाकर्मीको लामो प्रयासले सञ्चालनमा आएको हो । सडकमा झरेको पहिरो पन्छाएर एकतर्फी मात्रै गाडी गुड्न मिल्ने बनाइएको छ । लोकमार्गमा २० ठाउँमा पहिरोले बाटो बन्द भएको थियो ।
पहिरोले मध्यपहाडी लोकमार्ग थुनिएपछि पर्वत, बाग्लुङ र मुस्ताङको सडक सञ्जाल पूर्ण ठप्प थियो । वैकल्पिक सडक नहुँदा यस क्षेत्रमा आउजाउ रोकिएको थियो भने खाद्यान्न, अक्सिजन, इन्धनलगायतका सामाग्रीको आयात रोकिएको थियो । साथै बिरामीलाई हेलिकप्टर चार्टर्ड गरेर अस्पताल लैजानुपर्ने बाध्यता थियो ।
डोजरले मात्रै ठूल्ठूला ढुङ्गासहितको पहिरो पन्छाउन नसकेपछि सेनाले बम विस्फोट गराएको थियो । पहिरो पन्छाउन एक सय ३५ केजी विस्फोटक पदार्थ र ७५ थान डेटोनेटर प्रयोग गरिएको केवलजंग गुल्म कुश्माका सेनानी शम्शेरबहादुर सिंहले बताउनुभयो ।
निर्माणाधीन यो लोकमार्गमा सामान्य वर्षा हुँदा पनि पहिरोले बाटो रोकिँदै आएको छ । सडक सञ्चालनमा आएसँगै कुश्माका चुवा र मोदीको पातीचौरमा रोकिएका सवारी साधान वारपार गर्न थालेका छन् ।