२३ जेठ २०८०, मंगलबार

पितृ तथा पितृपक्षको महत्व !

भाद्र शुक्लपक्षको पूर्णिमादेखि आश्विन कृष्णपक्षको औंसीको दिनसम्मलाई पितृपक्ष अथवा सोह्रश्राद्ध भनिन्छ । व्यक्तिको देहत्याग मृत्यु भएको दिनमा गरिने श्राद्धलाई एकोदिष्ट भनिन्छ । यसरी मानिस आफ्ना पितहरूको नाममा भरण तिथि अनुसार श्राद्ध गर्नुपर्दछ। पद्मपुराणका अनुसार सूर्यनारायण कन्याराशिमा भएको बेला जुन गृहस्थीले श्राद्ध गर्दैन। त्यसबाट पितृ रुष्ट हुन्छन् । फलस्वरूप धन, सुख-शान्ति र पुत्रादिवा जीवनमा तड्पिरहनुपर्दछ । देवकार्य गर्नुभन्दा पितृकार्य गर्नु निकै कठिन हुन्छ । देवताहरूलाई मनले सम्झेर जे सामग्री छ सोही अर्पण गर्दा पनि हुन्छ तर कुल पितृहरूको लागि निकै होसियारी पूर्वक शुद्धता (चोखनिष्ठा हुनुपर्दछ । मांस मदिरा खाँदा प्रयोग गरिएका कपडाहरू लगाएर सोही भांडामा पकाएको पिण्डवाट र यस्तै खाने कुरा खाएका ब्राह्मण वचनबाट पितृहरू रुष्ट हुन्छन् । श्राद्धको समयमा फलामद्वारा निर्मित भाँडा, हतियार वा अन्य कुनै वस्तु प्रयोग गर्नु हुँदैन। बेलपत्र, कोइरालो, केतकी, कनेर, मालती, चम्पा र राता फूल चढाउनु हुँदैन । यदि चढाइयो भने राक्षसले पाउछन् र पितृ रुष्ट हुन्छन् । श्राद्धको दिनमा आँसु आयो भने पाक प्रेतलाई, क्रोध गर्यो भने शत्रुलाई, झुट बोल्यो भने कुकुरलाई, खुट्टाले छोइयो भने राक्षसलाई पकाएको वस्तु प्राप्त हुन्छ । पितृले लिदैनन् भन्ने कुरा शास्त्रमा पाइन्छ । ब्राह्मण वचन पनि उत्तिकै शुद्ध हुनु आवश्यक हुन्छ । ब्राह्मण वा पण्डितको उपस्थितिविना पूर्ण श्राद्ध गर्न त्यति सम्भव नभएता पनि नित्य तर्पण गर्न सकिन्छ । तर्पण कार्य गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने मुख्य कुराहरू जान्नु पनि उत्तिकै आवश्यक हुन्छ । तर्पण गर्ने दिनभन्दा एक दिन अगाडि बिहान नै विधिपूर्वक दाही, केश अनुहार र टाउकोको रौं पुरुषले मात्र मुण्डन गरी शुद्ध खाना एक छाक मात्र खानुपर्दछ । हुन त सो दिन नै शुद्ध खाना खाई वस्नुपर्दछ, नसकेमा पनि आफूले श्राद्ध गर्ने दिन तिथि नआउन्जेल सधैं शुद्ध खानु अनिवार्य छ । माछा मासु, प्याज, लसुन, चिचिण्डो, कोदो, मसुरो, भाण्टा, मूला, गोलभेडा, भटमास आदि यो समयका अशुद्ध खानामा पर्दछन् । यी दुई दिन ब्रह्मचर्य (श्रीमान श्रीमती अलगअलग स्थानमा सुत्ने) नियम पालना गर्न अनिवार्य हुन्छ । विधिपूर्वक स्नान सकेपछि पुरुषले यज्ञोपवीत (जनै) फेर्नुपर्दछ । यदि विविध कारणले आफ्नो तिथिमा श्राद्ध तर्पण गर्न सम्भव नभएमा औंसीको दिनमा गर्नुपर्दछ र कुनै दिन पनि सम्भव नहुने भएमा का आफ्ना दाजुभाइले घरमा गर्ने भएमा अथवा आफू टाढा रहेमा पनि पितृहरूको नाममा यथाशक्य कार्य गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *