१६ चैत २०७९, बिहिवार

बाबूको मुख हेर्ने कष्ट नगर तिमीले !

दिपक रोका
म निरोगी नभएपनि तिम्रो खुसीमा सन्तोष मानेर तिमी जन्मेको कुलघर कुरेर बसेकै थिएँ । तिमी आफ्नो आधुनिक शैलीमा शहरका आलिशान महलहरुमा यताउता घुमफिर गरेका तस्विरहरु गाउँले केटाहरुका फेसबुकमा हेरेर म मख्ख नै थिएँ । तिमी जस्तो समाजसेवी, व्यापारी छोराको बाउ हुन पाएकोमा दङ्ग थिए । हर्षित थिएँ  । म जे जस्तो अवस्थामा गाउँमा रहेपनि छोराको प्रगतिले मलाई नखाए पनि खाए झैँ हुन्थ्यो । रोगी भए पनि पीडा भुल्न सजिलो भइरहेकै थियो । तर अपसोच आज म त्यो कुल घरभन्दा बाहिर प्लाष्टिकको छाप्रोमा पुगेको छु । म सुकुम्बासी भएको छु । बाढीले हाम्रो बिल्लिबाठ पारेको छ । बुढेसकालमा स्वदेशमै शरणर्थी बन्नु परेको छ । सायद तिमीले यो खबर संचार माध्यामबाट थाहा पायौं होला । हो मलाई याद आयो तिमी पनि राहत बाढ्न तराइका गाउँहरुमा पुगेका रहेछौ । कतिपय ठाउँमा राहत बाढेर सेल्फी खिच्दै आफ्नो फेसबुकमा राखेको मैले देख्न पाएँ । कैयौँ बाढी पीडितहरुको चहराएको मनमा मल्हम लगाएको देख्न पाएँ । खुुुसी लाग्यो छोरा । गर्व महसुस भयो । आफ्ना बाउआमाको सेवा गर्न नसके पनि अन्य वाढी पीडितहरुलाई सहयोग गरेका रहेछौँ । महान दिल छ तिम्रो । मेरो छोरा भन्न लायक छौ । यस्ता कामहरुको फेहरिस्त तयार पार्नु । कस्को छोरा हो भनी कौतुहलता जगाउने ठाउँ राख्नु । 
म आज यो कहानी हाल्नुको पछाडि एक विशेष, पृथक कारण छ छोरा । पात्रो हेर्दा ०७८ साल भदौ २२ गते आफूलाई जन्म दिने बाउको मुख हेर्ने दिन अर्थात कुशे औंशी परेको रहेछ । यसलार्ई  ‘कुुशे औँशी’, ‘पितृ तर्पणी औँशी’, वा ‘गोकर्ण औँशी’ जस्ता नामले चिनिन्छ । यसै अवशरमा तिमी त्यो शहरबाट यति टाढा बाढीपीडित बस्ने टहरामा यो मेरो चाउरी परेको मुख हेर्न आउने दु:ख गरौला । आउँदा बाढीले बगाएको हाम्रो घर पत्ता लगाउन साँच्चै गारो पर्ला । किनकि हाम्रो घर अहिले डुवानमा परेको छ । पूणर्त क्षतिग्रस्त छ । त्यसैले अहिले हामी बसिरहेको यो प्लास्टिकको छाप्रामा तिमी आउँदा तिम्रो मनमा चोट पुग्ला । तिमीलाई केही मिनेट बिताउन पनि अप्ठ्यारा्े होला । अझ आमाले केही बनाएर खान दिने मन गरिन् भने त्यो सम्भव छैन । त्यसैमा आमाको मन झनै खिन्न होला । छोरा आउँदा भोकभोकै पठाउनु आमाको लागि अत्यन्तै पीडाको क्षण हुनेछ । त्यसैले नआउ । जे जसरी हामी जीवन गुजारे पनि तिमी यो साल मलाई भेट्ने कष्ट नगर छोरा । बरु त्यहाँ रहेको मेरो फोटोको मुख हेर । बस् तिम्रो धर्म पुरा हुनेछ । मैले  ३६४ दिन जेजसरी गुजारेको छु । यो औंशीको एक दिन पनि त्यसरीनै गुजार्ने छु । 
छोरा, म च्यातिएको प्लाष्टिकको शरणमा पुगे पनि तिमीले मेलम्ची लगाएतका ठाउँहरुमा बाढीपिडितलाई राहत बाढेको फोटो फेसबुकमा हालेको देख्दा खुसी लाग्यो । यस्तो मानविय सेवामा लागेको मेरो छोरालाई म कसरी एक दिन भए पनि डिष्टर्व गरु । आफनै बेगमा राहत प्याकेज बाडेर भोलिको दिनमा एक वरिष्ठ समाजसेवी बन्ने चाहनामा रहेका तिमीलाई यस्ता बाउका औँशीहरु आइ बाधामा पार्नु राम्रो हैन । मेरो सेवामा आउदा तिम्रो समाज प्रतिको दायित्व कम नहोस् भन्नका खातिर तिमीलाई मेरो मुख हेर्न नआउ भनेको हुँ । हालको बाढीले म जस्तो लाखौँ मानिसलाई घरवार विहीन बनाएको छ । परासीको हाम्रो घरको बारे तिमीलाई थाहै होला । मलाई जस्तो पीडावोध भएको छ, उनीहरुलाई त्यो भन्दा कम छैन । मेरो यो एक्लो मुख हेरेर एक दिने सेवा दिनु भन्दा विभिन्न शिविरहरुमा रहेका पीडितलाई सेवा पुर्‍याएको राम्रो हुने छ । मलाई आशा छ तिमीले मेरो कुरा राम्ररी मनन् गर्नेछौं । एउटा बाउको भन्दा धेरै बाउहरुको सेवामा तल्लिन हुने छौं । एउटा बाउ त जसरी पनि बाँच्ला । अन्य रातहरु जसरी औँशी झैँ बिते त्यसरी ०७८ भदौ २२ पनि बित्ला । यही औँशी तिम्रो जीवनको प्रगतिको बाधक नबनोस् । त्यसैले नआउ छोराछोरी यो छाप्रोमा । हाम्रो दयनिय अवस्था तिमीलाई कसरी देखाउँ । हाम्रो अवस्था देखेर तिमीलाई दया त हैन टिठ चै लाग्ला । आफ्नो जीवनको लक्ष्यमा आघात पुग्ला । मलाई थाहा छ तिमी भौतिक कुराको खोजिमा भौतारिइरहेका छौँ । तिम्रो मन मेशिन भएको छ । तिम्रो मुटु भन्दा दिमागले धेरै काम गर्न थालेको जस्तो भान हुन्छ मलाई आजकाल । मुल्य वा फाइदा नआउने चिजमा तिमीले हातै हाल्न हिचकिचाहट गर्छौं । बाआमा भन्दा अन्य बिजनेसमा ध्यान केन्द्रित गर्न इच्छुक देखिन्छौं । तिमीमा मानवीय संवेदना तथा अध्यात्मीक चिन्तनको अभाव देखिएको छ ।यो तिम्रो मात्र नभएर आधुनिकताको समेत परिणाम हो । मेरो मुख हेरेको गाउँले मात्र देख्छ तर दुनियाका बाढी पीडितलाई सहयोग गरेको संसारले देख्छ । भोली तिमीलाई विभिन्न पुरस्कार सम्मानका लागि दावी गर्न सहज हुन्छ । तिमीले समाजलाई र समाजले तिमीलाई धेरै गर्नु छ । म त डाडाँ पारीको घाम । तिमीले सहयोग, माया गरेपनि नगरेपनि अब अस्ताएर जानेहो । त्यसैले मेरो मुखको भन्दा तिमी आफ्नो कर्ममा अडिग भहेर हिड । मेरो विन्ती छोराछोरी, कुशे औसीमा तिमी मेरो मुख हेर्न नआइदेउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *