घायलश्री
‘एक निराशावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ ।’ यो भनाईसँग आफ्नो जीवनको मेल खाने तिनै कर्मचारी हुन् जो ८० हजार कर्मचारीहरुको बीच मोफसलबाट यिनी मात्रै उत्कृष्ट निजामती सेवा पुरस्कारको हकदार बने ।
नामः छविलाल सुवेदी पदः प्रमुख प्रशासकीय अधिकृतश्रेणीः उपसचिवजन्मः २०३६/६/२२कार्यक्षेत्रः बेनी नगरपालिका, म्याग्दी ठेगानाः कुष्मा नगरपालिका-१,चौडिला, पर्वत ।
नेपाल सरकारले निजामती सेवा दिवस २०७८को अवसरमा ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निणर्य गर्यो । २०६१ सालदेखि मनाउन थालिएको यो दिवसको अवसरमा यस वर्ष नेपाल सरकारले ८० हजार सरकारी कर्मचारीहरुको बीच मोफसलबाट सर्वोत्कृष्ट कर्मचारीको रुपमा यिनै सुवेदीलाई मात्र भेटाउन सफल भयो । एउटा गाउँमा जन्मिएर उत्कृष्ट निजामती सेवा पुरस्कारको हकदार बन्नु चानचुने कुरा थिएन तर हर कठिनाईहरुमा पनि आशावादी भएर काम गरेकै कारण उनलाई प्राप्त अवसरले आज यो स्थानमा आइपुगेका छन् । सकारात्मक सोचकै कारण नै आफ्नो कार्यक्षेत्रमा सफल हुन सकेका छन् । पवित्र धार्मिक स्थान मात्र होइन, ज्योतिषहरुको उर्भरभूमि भनेर चिनिने पर्वत जिल्लाको कुष्मा नगरपालिका-१, चौडिला,पाङ पर्वतमा जन्मिएका उनी २१ वर्षकै कलिलो उमेरमा २०५७ भाद्र १५ गतेदेखि हुलाक सेवाको मुखिया पदमा बाबियाचौर म्याग्दीबाट जागीरमा प्रवेश गरे ।
हुलाक सेवाबाट आफ्नो कर्मचारी यात्रा शुरुवात गरेका उनी आज मोफसलमा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन् । जागिरे जीवनमा विभन्न कार्यालयबाट विभिन्न सेवा दिएका सुवेदी भन्छन्ः ‘इमान्दार पूर्वकः नझर्की सेवा दिएमा जनता खुसी हुनेमात्र होइन आफूपनि सन्तुष्टि र सम्मानित भइन्छ ।’ हाल म्याग्दीको बेनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत सुवेदी आफ्नो उर्जाशील समय जनताकै सेवामा खर्चिरहेका छन् । उनी यस्ता एक भाग्मानी कर्मचारी सावित भएका छन् कि यसवर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० मध्ये ९ जना काठमाडौं उपत्यकामा कार्यरत सरकारी कर्मचारी छन् । उपत्यका बाहिर एकजना उनलाई मात्रै सरकारले पुरस्कार योग्य देख्यो । आफ्नो २३ वर्षे सरकारी सेवाको समयमा मोफसलबाट एकमात्रै उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत हुँदा आफ्नो मिहिनेतको कदर भएको सुवेदी ठान्छन् । भन्छन्, ‘देशभरिमा १० जनाभित्र परेर पुरस्कार पाउँदा खुशी छु । मेरो काम र मिहिनेतको मूल्याङ्कन भएको महसुस भएको छ । उपत्यका बाहिरबाट एक्लै पुरस्कृत हुँदा थप गर्व महसुस भएको छ ।’
खरिदारको रुपमा २०५७ भाद्र २२ गते दुदिलामाटे, बागलुङमा गा.वि.स सचिवको रुपमा सरुवा भएर गए । नायब सुब्बाको रुपमा २०५९/४/१ गते जि.वि.स पर्वत, ३.५ वर्ष जिल्ला शिक्षा कार्यालय पर्वतमा रहेर काम गरे । ०६६ भाद्र १२ गते गृह मन्त्रालय अन्तरगत इलाका प्रशासन कार्यालय वुर्तिवाङमा शाखा अधिकृतको रुपमा सरुवा भएर गए । ४.३ महिना सहायक प्रमुख जिल्ला अधिकारी मुस्ताङ, सहायक प्रमुख जिल्ला अधिकारी पर्वत र सङ्घीयता पस्चात् मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदै बेनी नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् । २०६६ साल चैत्र ८ गते उपसचिव पदमा पदोन्नति भएका सुवेदीकोे जागिरे जीवन यही भदौ १५ मा २३ वर्षमा नाघ्दैछ । नासु भएर पर्वतको शिक्षा कार्यालयबाट कर्मचारी यात्रा थाले । त्यसबेला कार्यालय अपांगमैत्री थिएन । उनकै पहलमा कार्यालयमा र्याम्प निर्माण गर्दै अपांगमैत्री कार्यालय बनाइएको थियो । उनै सुवेदी पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारी हुँदा कालीगण्डकी करिडोर प्रशारण आयोजनाको दाना-खुर्केट क्षेत्रबासीलाई मुआब्जा दिलाउनु जागिरे जीवनको ठूलो उपलब्धि मान्छन् । त्यस क्षेत्रमा मुआब्जाको कुरा नमिल्दा लामो समय आयोजना अघि बढ्न सकेको थिएन । सुवेदीले मुआब्जा उपसमितिको संयोजक भई उक्त मुद्दा सल्टाउने जिम्मा दिएको थियो । पर्वतको करिव ९७ रोपनी जग्गासम्बन्धी मुआब्जाबारे स्थानीयबासी, जनप्रतिनिधि र सरकारलाई मनाउँदै समस्या समाधान गरेका थिए । उनकै पहलमा त्यो विवाद समाधान भएको थियो । ‘गाउँगाउँमा पुगेर हरेक व्यक्ति व्यक्तिलाई कन्भिन्स गरेर समस्याहरु समाधान गरेँ । त्यहीकारण आयोजना समयमै सम्पन्न हुनसक्यो’, उनले भने, ‘पछि प्रधानमन्त्रीले नै दाना-खुर्कोट सबस्टेशन उद्घाटन गर्नुभयो ।’
सहायक प्रजिअ पर्वतबाट सरुवा भएर २०७७ बैशाख १ गतेबाट बेनी नगरपालिकामा हाजिर भएका सुवेदी बेनी आएदेखि नै हरेक वर्ष आउने बाढी पहिरोको समस्या र त्यसको समाधानतर्फ मन लगाए । बेनी नगर क्षेत्रभित्र भएका फुसको छाना, वर्षेनि बाढी, पहिरो र हावाहुरीबाट पीडित हुँदै आएकाहरुको अहिले टिनका छानाले सजिएका छन् । त्यतिमात्र हैन बेनी बजारको ढल निकासका लागि क्याम्पस चोकमा भएको समस्या र मुआब्जाको विवाद मिलाउन सफल भए । बेनी नगरपालिकाबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्तालाई विद्युतीय प्रणालीबाट उपलब्ध गराउने, जन्म दर्ता, मृत्युदर्ता, विवाह दर्ता लगायत व्यक्तिगत घटनाको डिजिटाइजेसनको अभिलेखीकरण गराउनमा उनी सफल भएका छन् ।
त्यतिमात्र हैन अनलाइनमार्फत नै घटनाहरूको दर्ता हुने प्रणालीको विकास गराएका छन् । कोरोनाका बेला नगरपालिकाले २० बेडको उपचार केन्द्र, आइसोलेसन, क्वारेन्टिन भवन निर्माणका साथै आवश्यक पर्नेलाई खाद्यान्न लगायत सामाग्रीहरु उपलब्ध गराउन उनको ठूलो भूमिका रहेको छ । वडावडामा बैंकका प्रतिनिधि पठाएर लाभग्राहीलाई सम्बन्धित ठाउँमै भत्ता दिने प्रणाली बनाउन पनि सुवेदी सफल भएका छन् ।
बुलबुल साप्ताहिक समाचारपत्रबाट