१७ असार २०७९, शुक्रवार

राष्ट्रपतिज्यू, मदन भण्डारी मृत्युको कारण खोज्ने पालो अब तपाईंको हो !

किरण पौडेल


‘म नै भिक्टिम हु। दोषीलाई खोजी गरेर कार्बाही होस् भन्ने ‘अपेक्षा’ मेरो जति कसको हुनसक्छ र ! अरुले मबाट ‘अपेक्षा’ गर्छन तर म आफैँ ‘भिक्टिम’ हु भन्ने कुरा कसैले नसोच्ने भयो।’ – विद्या भण्डारी 
१४ वर्षअगाडि दासढुङाबारे चाबहिलको डेरामा तत्कालीन एमाले नेत्रृ र हाल महामहिम राष्ट्रपति विद्या भण्डारीले कुरा गर्ने क्रममा मसँग व्यक्त गरेका वाक्यहरु आज फेरि दोर्‍याएर सुनेँ। त्यति बेला रेकर्ड गरिएको ‘अडियो-आर्काइभ’ का यी वाक्यहरुले सोचमग्न गरायो। माथिका यी वाक्य हरु कुन मनोविज्ञानबाट निस्केका थिए, त्यो १४ वर्षअगाडि चाबहिलको डेरामा भएको भेट्घाट र कुराकानीको वातावरण सम्झेँ। हाम्रो फिल्म बनाउने टिमभित्रको ‘अपेक्षा’। ‘खोज तथा अनुसन्धान’को जिम्मेवारी पाएको मैले केही कुरा खोज्ने र जान्ने ‘अपेक्षा’। तत्कालीन एमाले नेत्रृ विद्या भण्डारीको फरक ‘अपेक्षा’। जनताका भिन्नै ‘अपेक्षा’। मूल भाव:मा हेर्दा, सबैका ति, ‘अपेक्षै-अपेक्षा’। 
किन यसरी ‘अपेक्षा’ हरु होलान् भनेर। म त्यो ‘अपेक्षा’ शब्दमै अल्मलिएको थिए तर त्यो ‘अल्मलिने’ समय धेरै लामो बनाइएन। मैले अपेक्षाको पर्खाइभन्दा पनि आफ्नो सीमित साधन-स्रोतबाट नै खोज तथा अनुसन्धानको काम थाले। कहीँ त पुगिएला भनेर। दौडन नसके पनि निरन्तर हिँडिरहे। अन्तत्: मैले केही त पक्कै भेट्टाएँ।
मैले खोजेपछि केही नयाँ तथ्य भेट्टाउनु भनेको कुनै ‘को-इन्सिडेण्ट’ थिएन। यो त निरन्तर ‘खोज’ र ‘प्रयास’को उपज थियो। आज, यही कुरा लेखिरहेको छु। मेरो उद्देश्य र मेरो लेखको ध्यय ‘रिजल्ट-ओरिण्टेड’ हो। कसैलाई सस्तो गाली वा बेइजेती गर्ने  होइन। 
योभन्दा अगाडिको लेखमा भनेको थिए। म तथ्यहरु सहित आउने छु। मसँग तथ्य नै तथ्यहरु छन। तथ्यहरु फाइल गरेर राखेको छु। ती तथ्यहरु पहिलो प्रचण्डराज अनिल आयोगको कुरादेखि अमर लामाको ‘अन्त्य’का सूत्राधार होस् वा त्यो अमर लामाको ‘अन्त्य’ का सूत्राधारलाई स्रोत व्यक्तिको रुपमा उपयोग गरी एक कदम अघि बढ्न सकिन्छ। त्यसका लागि ‘राज्यस्तर’ बाट एउटा ‘उच्चस्तरीय खोज तथा अनुसन्धान आयोग’ बनाएर जाने परिकल्पना गर्न सकिन्छ। 
तत्कालीन रक्षामन्त्री विद्या भण्डारीलाई मन्त्रालय धाएर दिएको निवेदन होस् अथवा त्यसपछिका, तात्कालिन एमाले पार्टीका दुवै प्रधानमन्त्रीहरुलाई, प्रधानमन्त्री कार्यालयमा धाएर दिएको निवेदन होस्। यी निवेदनका मिति र दर्ता नम्बरसहित मेरो फाइलमा सुरक्षित छन्। यति मात्र हैन, अन्य केही गोप्य तथ्यहरु पनि। ‘तथ्यहरु’ भनेको ‘सत्य’ सम्म पुग्ने ‘आधारहरु’ हुन्। यो सबैलाई थाहा छ। मैले त्यही तथ्यहरुको कुरा गरेको हुँ। राज्यले खोजी कार्य नगर्दासम्म सधैँ कुरा गरिरहने छु।
एउटा फिल्म बनाउन लागेको ‘टीम’को एक सदस्य म। मैले खोज तथा अनुसन्धानअगाडि बढाउँदा अमर लामाको अन्त्यको सूत्राधारसम्म पुग्न सकियो। हाम्रोजस्तो सीमित साधन स्रोत भएको तहबाट खोज सुरु गरेपछि केही भेटिन्छ भने स्वयम् राज्य नै लाग्ने हो भने त किन केही गर्न सकिदैन र ! सकिन्छ। मेरो मूल ध्येय यही हो।  मेरो प्रयास सधैँ सकारात्मक रह्यो। नियत सधैँ स्वच्छ रह्यो। 
मदन-आश्रितको मृत्यु लाई तात्कालीन एमालेकै विरुद्धमा प्रयोग गर्न केही तात्कालीन एमाले सदस्यहरु लागेको सामग्रीहरु मैले फेला पारेको थिएँ। चाहे त्यो गणेश के.सी.को ‘टि.एन.काण्ड’ होस् वा तत्कालीन माओवादी पत्रिका जनादेश र तात्कालीन एमालेनिकट जनआस्था जस्ता स्थापित पत्रिकाका श्रृङ्खलाबद्ध लेख सामग्री हुन्। मेरो नियत, यी र यस्तै आरोपित लेखहरु लेख्नु ‘किमार्थ’ होइन। मैले खोज सुरु गरेर केही भेट्टाउन सके भने राज्य नै खोज्न लाग्ने हो भने धेरै कुराहरु भेटिन सक्छ भन्ने हो। अमर लामाको अन्त्यपछि राज्यको तहबाट खोज्न बाँकी छ भन्ने मेरो अध्ययनको एउटा पाटो हो। 
सरकारबाट गठित जम्मा दुई आयोग थिए। सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको आयोगले दासढुङ्गालाई ‘साधारण दुर्घटना’ भनेको छ।
सर्वोच्च अदालतका अर्का पूर्वन्यायाधीश त्रिलोकप्रताप राणाको आयोगले पनि ‘दासढुङा घटनालाई षड्यन्त्रपूर्वक गरिएको हत्या भन्नका लागि परिपुष्टी हुने कुनै प्रमाण भेटिँदैन’ भनेको छ। यो भनेको पनि ‘साधारण दुर्घटना’ भनेको हो। यी दुवै आयोगले काम गर्दा अमर लामा जीवितै थिए तर पछि अमर लामा पनि मारिए। 
अमर लामा मारिएपछि धेरैले भने– अब सबै सकियो। खोज्ने कुरा केही रहेन। जो ड्राइभर हो, त्यो नै मरेपछि त सबै सकियो। अब बाँकी केही छैन भनेर खोजीको प्रयास नै गरिएन। सबैले बेवास्ता गरेको बेला मैले खोजीको प्रयास गरे। अमर लामाको मृत्युको घटनाले दासढुङा घटनालाई अझ प्रष्ट रुपमा षड्यन्त्र पूर्वक गरिएको हत्या हो भन्ने बुझाउँछ। त्यसैले पुन: राज्यको तहबाट अनुसन्धान आवश्यक छ  भन्ने मेरो मत हो। 
राज्यले दासढुङ्गा घटनालाई ‘हत्या’ हो भनेर मानेको छैन। ‘दुर्घटना’ मानेको छ। केही व्यक्ति मिलेर बनाएको बनाएको तुलाधर आयोग र तत्कालीन एमाले पार्टीको ओली आयोगले मात्र बिनाआधार हत्या भनेको हो। हामी सरकारमा गयौँ भने ‘हत्यारो’ टुँडिखेलमा ल्याउँछौ भनेर भाषण गरेका माधव र केपी का ‘अडियो-भाषणहरु’ जतनले राखेको छु मैले।
दासढुङा घटनालाई काङग्रेस पार्टीले साधारण दुर्घटना मान्दछ। अधिकांश स्वतन्त्र बुद्धिजीवीहरुले पनि ‘साधारण दुर्घटना’ मान्दछन्। महामहिम राष्ट्रपतिज्यू र सम्बन्धित नेताहरु सबैले आफैँलाई प्रतिप्रश्न गर्नुपर्ने बेला आएको छ। त्यो प्रतिप्रश्न हो– ‘साच्चै दासढुङा, हत्या हो वा दुर्घटना ?’
तत्कालीन एमाले  र ‘बहुदलीय जनवाद’ बोकेर ‘राजनीतिक-लाभ’ लिन खोज्ने नेताहरुले मात्र ‘हत्या’ भनेर ‘राजनीति’ गरिरहेका छन्। के यस्तै राजनीति गरिरहने हो त ? महामहिम राष्ट्रपतिज्यू र सम्बन्धित सबै नेतालाई यही नै मेरो मुख्य प्रश्न हो ? 
राज्यले ‘दुर्घटना’ मानेको विषयलाई तपाईंहरु किन चूपचाप स्वीकार गरेर बसिरहनुभएको छ ? तपाईंहरु कति पटक राज्य सञ्चालन तहमा पुग्नुभयो, थाहा छ ? झन दुईतिहाई बहुमतका साथ पनि पुग्नुभयो। गर्नुपर्ने कामहरु धेरै छन् तर तपाईहरु टुटेर-फुटेर ‘सूर्य चिन्ह’ का लागि लडिरहनुभएको छ। भाषणबाजी मात्र गर्ने तर एउटा उच्चस्तरीय आयोग बनाएर खोज तथा अनुसन्धान प्रक्रिया अगाडि बढाउन किन भारी भइरहेको छ ?
राज्यले जब ‘दासढुङा-घटना’ लाई ‘हत्या’ हो भनेर मान्दछ, तब ‘हत्यारा’ को हो ? राज्यको तहबाट खोजी सुरु हुन्छ। खोजेपछि केही न केही भेटिने रहेछ। 
अर्को रोचक कुरा छ– दासढुङा घटनालाई ‘रहस्य’ भनेर पन्छ्याउने र सजिलो तरिकाले ‘राजनीति’ गरिरहने काम भइरहेको छ। नजान्दासम्म साधारण कुरा पनि रहस्य लाग्दछ। त्यो मानेमा दासढुङ्गा रहस्य होला तर राजनीति लाभको लागि गरिखाने भाडो बनाउनलाई यो जति ठूलो रहस्य बनाइएको छ। त्यति ठूलो रहस्य पनि छैन होलाजस्तो लाग्छ। 
राज्यको तहबाट खोजी गरेमा क्रमश: अरु तथ्यहरु पनि खुल्दै जाने छन् र सत्यसम्म पुगिने छ। अब म भन्न चाहन्छु– तपाईंहरुले दासढुङा घटनालाई ‘रहस्य’ भनेर पन्छ्याउने ‘सुविधा’ छैन। यस घटनालाई ‘हत्या’ हो भनेर राजनीति गरेर ‘लाभ’ लिने ‘सुविधा’ पनि अब उप्रान्त हुने छैन। महामहिम विद्या भण्डारी होस् वा माधव नेपाल वा के.पी. ओली वा प्रचण्ड वा झलनाथ खनाल वा वामदेव गौतम होस्। अथवा कुनै पनि नेता वा कार्यकर्ता नै किन नहोस्। कसैले पनि पाउने छैन यो ‘सुविधा’।
मदन भण्डारी ‘जननेता’ हो। नेपालमा बीपी कोइराला पनि ‘जननेता’ हुनुहुन्थ्यो। यो विषयमा मैले अर्को लेखमा सबै लेख्ने छु। अहिले कुरा मदन भण्डारीको नै गर्छु। उहाँ जननेता हो। जननेताको कर्तव्य हुन्छ– हरेक जनताको र मुलुकको भविष्य, प्रगति र समृद्धिबारे सोच्ने र त्यही कार्यका लागि योजना बनाउने। मुलुक र जनताको अभिभावक बनेर। ठीक आफ्नो पिताजस्तै भएर। यो मानेमा मदन भण्डारी मजस्ता साधारणका ‘पिता-तुल्य’ नेता हो। 
महामहिम विद्या भण्डारीज्यू, तपाईंको त मदन भण्डारी ‘पति’ हो। मैले पितातुल्य नेता माने। दासढुङ्गा घटनामा उहाको मरणबाट मैले पनि आफूलाई ‘भिक्टिम’ ठाने। हाम्रो फिल्म बनाउने टिम सबैले आफूलाई ‘भिक्टिम’ ठान्यौँ र केही खोजी गर्न ‘प्रयत्न’ गर्यौ। मैले पनि केही खोज्ने ‘प्रयत्न’ गरे। 
आफ्नो ‘पति’को मृत्युबारे कारण  खोज्ने पालो अब तपाईंको हो। ती नेताहरुले खोज्नुपर्छ– जसले ‘बहुदलीय जनवाद’को वकालत गरिरहेका छन्। मैले जीवराज आश्रितकी पत्नी माया ज्ञवालीलाई पनि भन्ने छु। महामहिम राष्ट्रपतिज्यू, तुलनात्मक रुपमा तपाईंहरु दुईको ‘पोजिसन’ फरक छ। महामहिमलाई त्यो ‘पोजिसन’ले काम गर्ने ‘अवसर’ दिएको छ। ‘खोजी गर्ने अवसर’ दिएको छ। 
आउनुस्, काम गर्न सुरु गरौँ।  तपाईं पनि प्रतिबद्ध हुनुस्। म पनि प्रतिबद्ध भएर भन्न चाहन्छु , राज्य तहबाट उच्चस्तरीय अनुसन्धान आयोग गठन गर्न सुरु गर्नुभयो भने म पनि सहयोग गर्ने छु। संसारको जुन कुनामा बसेर फिल्मको काम गरिरहे पनि सहयोगका लागि कुनै पनि बेलामा म नेपालमा हाजीर हुनेछु।
पुनः जानकारी गराउन चाहन्छु– मेरो लेखको ध्येय ‘रिजल्ट-ओरिण्टेड’ हो। कसैलाई सस्तो गाली वा बेइज्जती गर्ने होइन। प्रिय पाठकहरु, यो लेखाइलाई मैले ‘मन्थन’ मानेको छु। मन्थन गर्दा ‘अमृत’ पनि निस्कन्छ र ‘विष’ पनि। ‘अमृत’ देवताहरुले पिएर ‘देव’ बने। शिवले ‘विष’ पिएर ‘पचाए’ अनि ‘महादेव’ बने। यो मेरो ‘मन्थन’ पढेर दुईथरि ‘प्रोडक्ट’ ‘प्रोडक्ट’ निस्कन सक्छ। दुवै मलाई स्वीकार्य छ।

Leave a Reply

Your email address will not be published.