सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको छ । सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले बुधबार आयोगको गठन गरेको हो ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले मोरङका केशव निरौलालाई अध्यक्ष र बागलुङका नहेन्द्र खड्कालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनीहरुले बुधबार सपथ लिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताउनुभयो । अरु सदस्यहरु भने नियुक्त भएका छैनन् ।
अध्यक्षमा नियुक्त भएका निरौला कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष हुनभने उपाध्यक्ष खड्का नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य हुन् । खड्काको घर बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना हो ।
सरकारले हालै देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ साल वैशाखमा एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । देउवा सरकारले कार्यकालको सुरुआतमै सो आयोग विघटन गरेको थियो । आयोगले ७७ वटै जिल्लामा समिति गठन गरेर काम गरिरहेको बेला देउवा सरकारले भंग गरेको थियो । प्रमुख प्रतिपक्षी एमालेले आयोग भंग गरेर सरकारले भूमिहीनमाथि अन्याय गरेको आरोप लगाएको थियो । यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।