आश्विन महिनाको कृष्णपक्षको सङ्क्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी मनाइन्छ । श्रीलक्ष्मी र सरस्वतीद्वारा पनि पूजिएका निकै तेजस्वी भगवान विश्वकर्मा विष्णु भगवानकै रूप हुनुहुन्छ । संसारमा सृष्टि चलाउनका लागि विष्णु भगवानले पाँच मुख दस हात र लामो सेतो दाह्री धारण गरी विश्वकर्माको रूप लिनभएको हो। यस तथ्यको प्रसङ्ग वेदसँग जोडिएको छ । शिल्पविद्याको मुलस्रोत अथर्ववेद अनुसार नै कालिगढहरूले अनेक वस्तुको उत्पादन गर्न सफल भएका हुन् । फलस्वरूप आज इन्जिनियर, वैज्ञानिक भएका छन् । त्यसैले आजको दिन सबैले आ-आफ्ना हतियार, औजार, साधनहरू वर्षभरि प्रभावकारी रूपबाट प्रयोग भएकोमा धन्यवाद र आगामी दिनमा अझ प्रभावकारी रूपबाट प्रयोग गर्न सकूँ भन्ने मनोकामनासहित विभिन्न किसिमबाट कल कारखाना, सवारी साधन, विमान, विद्युतीय उपकरणहरू समेत पूजा गर्नुपर्दछ । विश्वकर्मा भगवान्को विधिपूर्वक पूजा त के सच्चा आत्माबाट स्मरण मात्र गर्दा पनि निकै खुसी भई उत्पादनमा, सामानको प्रयोगमा बाधा अड्चन वा कुनै पनि दुर्घटना नभई धनधान्य तथा ऐश्वर्यपूर्ण हुन्छ । श्रीविष्णुकै रूप भएकोले विष्णुपूजा विधि अनुसार पूजा गर्नुपर्दछ । छोटकरीमा पूजा यसरी पनि गर्न सकिन्छ।
पूजा सामग्री:
जौ, तिल, कुश, दूध, दही, मह, घिउ, चिनी, वस्त्र, जनै, चन्दन, सुगन्धित तेल (अत्तर), फूल, माला, धुप, बत्ती, नैवेद्य, फल, कपूर, पान मसला, दक्षिणा, तामाको अष्टदल अंकित थाली, विश्वकर्माको सुनको प्रतिमा आदि ।
-जप, स्नान, ध्यान, शुद्ध वस्त्र, नित्यपूजा गरी चन्दन धारण गर्ने । -तामाको भाँडामा जौ, तिल, कुश राखी कर्मपात्र बनाउने । -कर्मपात्रलाई चन्दन, अक्षता फूलले पूजागरी कुशका टुक्रा, सिक्का राखेर पूजा गर्ने ।
शुद्धी गर्ने:
-कर्मपात्रको जलद्वारा शरिरमा, पूजा आसनमा पूजा गर्ने ।
ज्योतिष अनुसन्धान केन्द्र
क्याम्पसचोक बेनी, म्याग्दी,
सम्पर्क: ९८४७१३८७०६
बुलबुल साप्ताहिक समाचारपत्रबाट