१७ चैत २०७९, शुक्रवार

श्राद्धको महत्वः श्राद्ध गरेमा फल पाउँछन् त पितृहरु ?

आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्मका जम्मा सोह्र दिनलाई पितृपक्षका रूपमा लिइएको छ र यिनै १६ दिनलाई सोह श्राद्ध भनिन्छ । हिन्दू धर्मशास्त्रले मानिसले जन्मिदैखेरि बोकर आएको देवऋण, पितृऋण र ऋषिऋण चुकाउनै पर्ने बताएको छ । तीमध्येको सबैभन्दा महत्वपूणर् पितृऋण चुकाउनका लागि सोह श्राद्धको परम्परा चलाइएको हो । पितृऋण चुकाइएन भने जीवन निरर्थक बन्दछ भनिएको छ । जुन कुलमा आफ्ना पितृको श्राद्ध हुँदैन त्यस्तो कुलमा न त वीर पुत्र जन्मिन्छ, न त निरोगी नै । त्यस्तो कुलमा कसैको दीर्घायु पनि हुँदैन र त्यस्तो कुललाई कुनै क्षेत्रमा सफलता पनि मिल्दैन ।मातापिताका लागि पुत्रभन्दा प्यारा अरू केही पनि हुँदैन त्यसैले पुत्रले पनि मातापिता बाचुञ्जेल आदरसत्कार, स्याहारसुसार गर्ने र मृत्युपछि श्राद्धादि कर्म गरेर पितृऋण चुक्ता गर्नुपर्दछ । जीवित देवतासमानका मातापिताका श्राद्धकर्म गर्नु भनेको ठूलो ऋण चुकाउनु हो श्राद्धको अर्थ श्रद्धापूर्वक दिनु हो । श्राद्ध गर्दा जुन तिथिमा परलोक भएको हो सोही तिथिमा गर्नुपर्दछ । यसरी वर्षमा दुईपटक श्राद्ध गर्नुपर्ने प्रावधान छ। एकपटक परलोक भएकै महिनाको तिथिमा र अर्कोपटक पितृपक्षको तिथिमा अर्थात् सोह्र श्राद्धमा । सोह श्राद्धका बेलामा पनि परमधाम भएकै तिथिअनुसार नै श्राद्ध गर्नुपर्दछ ।श्राद्धमा तर्पण दिँदा क्रमानुसार सर्वप्रथम पितालाई बाजेलाई, बुढाबाजेलाई, आमालाई, बज्यैलाई, बुढीबज्यैलाई, मावली हजुरआमालाई, बुढीहजुरआमालाई, मावली हजुरबुवालाई, बढाहजुरबुवालाई दिनुपर्दछ । साथसाथै काका र ससुरालाई पनि तर्पण दिनुपर्दछ । सोह श्राद्धभरि तागाधारीहरूले माछा, मासु, फुल, लसुन, प्याज, मासको दाल, चिचिन्डो, मादक पदार्थ आदि सेवन गर्न निषेध छ । ब्रह्मचर्यमा बस्नुपर्दछ। प्रतिदिन स्नान गरी तर्पण दिएर मात्र खानुपर्दछ । अत्यन्तै सदाचारमा बस्नुपर्दछ र यथाशक्ति प्रतिदिन भोजनदान गर्नुपर्दछ । आमाको श्राद्ध गर्नका लागि भारत काठियावाडको सिद्धपुरलाई सबैभन्दा उत्तम स्थान मानिन्छ । भारतको गया तीर्थको भने फरकै महिमा छ। गयामा श्राद्ध गरेमा पितृले मुक्ति पाउँछन् र फेरिफेरि श्राद्ध गरिरहनु पर्दैन भन्ने विश्वास छ । नेपालका हकमा गोकणर्मा श्राद्ध गर्न सबैभन्दा उत्तम मानिन्छ ।आफ्ना पितृका श्राद्धको अघिल्लो दिनलाई एकछाकी भनिन्छ र एक छाकमात्र शुद्ध एवं सात्विक भोजन गर्नुपर्दछ । त्यसदिन श्राद्ध गर्नेले बिहानै दाह्रीकपाल र नई काटेर स्नान गरी शुद्ध हुनुपर्दछ । भोलिपल्ट श्राद्ध गर्नुपर्दछ । जसलाई मातापिताको मृत्युको तिथिको स्पष्ट ज्ञान हुँदैन त्यस्ताले अन्तिम दिन औँसीका दिनमा श्राद्ध गर्नुपर्ने विधान छ। यस औँसीलाई पितृविसर्जन पनि भनिन्छ । त्यसको भोलिपल्टबाट दसैं चाड सुरु हुन्छ ।धर्मशास्त्रमा उल्लेख भएअनुसार पितृको श्राद्ध पुत्रले गर्नुपर्दछ । पुत्र नभए छोरीका छोरा (नाति) ले गर्न पाउँछ। नाति पनि नभए उत्तराधिकारीले गर्न पाउँछ । छोराहरू धेरै भए जेठो छोराले गर्नुपर्दछ । छोराहरू छुट्टिएको भए संयुक्त रूपमा गर्नुपर्दछ । छोरी नभए नातिल,े नाति पनि नभए पनातिले, पनाति नभए भाइका सन्तानले पनि श्राद्ध गर्न पाउँछन् । पुत्रका अभावमा विधवा पत्नीले पनि श्राद्ध गर्न पाउँछिन् तर पत्नीको श्राद्ध पतिले पुत्र नभएमात्र गर्न पाउँछन् । आफ्नै गोत्रबाट धर्मपुत्र लिएको बालकले पुत्रको स्थान लिन सक्छ र उसले श्राद्ध गर्न पाउछ ।स्थान विशेष, देश विशेष र भावनाविशेषको भेदले स्वरूपमा भिन्नता रहे पनि मृत आफन्तको सम्झना गरी केही गर्ने चलन प्रायः सबै समाजमा पाइन्छ । वैदिक धर्मावलम्बीहरू आफन्तको सम्झनामा विशेष तिथिहरूमा श्राद्धकर्म गर्दछन् । श्राद्धका पनि विभिन्न रूप छन् । प्रतिदिन गरिनेलाई नित्य श्राद्ध, तिथिलाई निमित्त मानेर गरिने एकोद्दिष्ट नैमित्तिक श्राद्ध, कामना विशेषले गरिनेलाई काम्य श्राद्ध, वृद्धिको बेला गरिने श्राद्धलाई वृद्धि श्राद्ध, प्रेत पिण्डलाई पितृपिण्डमा मिलन गर्नेलाई सपिण्ड श्राद्ध र पितृ पक्षजस्तो पर्व विशेषमा गरिनलाई पार्वण श्राद्ध भनिन्छ । आदित्य पुराणमा श्राद्धको प्रसङ्गमा यस्तो श्लोक रहेको छ ।न सन्ति पितरंश्चेति कृत्वा मनसि यो नरः ।श्राद्धं न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते ।। अर्थात् जो व्यक्ति पितृको अस्तित्व स्वीकार गर्दैन र उनीहरूको तृप्तिको लागि श्राद्धजस्तो पवित्र कर्म गर्दैन भने उसका पितृहरू अप्रत्यक्ष रूपमा उसको रक्तपान गर्दछन् ।मृत्युपछि मान्छेको सूक्ष्म शरीरसहितको आत्मा मुक्त अवस्थामा पुग्छ, जब ऊ जिउँदो छँदा आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध र मुक्त बनेको छ । मध्यम खालको अर्थात् रजो गुणमा रमाएका मानिस मरेपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छ भने यदि प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुव्र्यवहार, लोभ, लालच, मद, मात्सर्यमा भुलेको छ अर्थात् तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछि मूढ अवस्थामा भड्किरहन्छ । त्यस्तो मूढ विचारसहितको आत्मा जीवनमा लामो समय माया र भरोसा गरेका सन्तानको नजिक आइरहन्छ । यो स्वाभाविक र विज्ञानसम्मत छ ।मान्छे दिनभरि जस्तो काम गर्छ, पहिलेदेखि जस्तो चाहना राखेको छ, त्यस्तै सपना देख्छ । त्यो भड्किरहेको अतृप्त आत्मालाई वैदिक विधि अनुसार गरिने तर्पण, पिण्डदानद्वारा तृप्त पार्न सकिन्छ । यो वैदिक मान्यता हो । मान्छे मरिसके, शरीर डढिसके । अहिले पानी र अन्नका डल्ला पल्टाएर कसरी पाउँछन् उनीहरूले ? प्राणीमध्ये मान्छेको मानसशक्ति अत्यन्तै शक्तिशाली हुन्छ । मान्छेले आफ्नो मनलाई एकतृत गरी ध्यान गर्दा अपार शक्ति प्राप्त हुन्छ भन्ने कुरा प्राचीन वा आधुनिक ऋषिमुनि र महात्माहरूले प्रमाणित गरेका छन् । ओमकारको जप, ध्यानमा अपार शक्ति हुन्छ भन्ने कुरा पश्चिमा वैज्ञानिकहरूले पनि स्वीकारेकै छन् । टाढाका बिरामीहरुलाई शुभचिन्तकले सञ्चो होस् भनेर कामना गर्दा उसलाई आराम भएको कुरा पश्चिमा अध्ययनले पनि पुष्टि गरेको छ । आधुनिक वैकल्पिक उपचार पद्धति ‘रेकी’ पनि मन र प्राकृतिक शक्तिसँगको अन्तरक्रिया नै हो ।केही वर्ष पहिले युरोपका वैज्ञानिकहरूले ‘हिग्सबोसोन’ (गड पर्टिकल) ईश्वरीय कण पत्ता लगाए । जुन कण अदृश्य छ, जसले कुनै पनि वस्तुलाई अस्तित्वपूणर् बनाउँछ र यसैका कारण वस्तुले तौल प्राप्त गर्छ । यो ईश्वरीय कण अस्थिर पनि छ । यसले पनि भड्किरहेको अति सूक्ष्म शरीर प्राप्त आत्मालाई पनि प्रमाणित गर्छ । श्राद्धमा प्रयोग हुने जौ, तिल, कुश, तामाका भाँडा, पहेँला-सेता फूल, शुद्ध जल आदि विशिष्ट गुण भएका प्राकृतिक पदार्थ हुन्, जसको अन्तरक्रियाले त्यो सूक्ष्म कण र मानव मनलाई जोड्छ । तील र कुशसहित जलले तर्पण गर्दा ‘तृपतामिदं तिलोदकं तस्मैस्वधा’ भनेर दायाँ हातको बूढी औँलाबाट जल दिइन्छ । त्यस्तै पिण्ड दिँदा ‘यस पिण्डो अमृतस्वरूपो अक्षयतृप्ति हेतोस्ते स्वधा’ भनेर दिइन्छ ।पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अघिल्लो दिनदेखि नै सात्विक भोजन र ब्रह्मचर्य आवश्यक पर्छ । अनेकतिर भड्किरहेको मन, अशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । अशुद्ध अवस्थाले अशुद्धताका कारण भड्किरहेको आत्मालाई सकारात्मकतातिर लैजान सकिन्न । सकारात्मक अवस्थामा छ भने झन् विकृत हुन सक्छ । हाम्रा धर्मग्रन्थले ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ भनेका छन् । पितृ यज्ञ गर्दापनि आफ्ना मातापिता मात्र नभएर समस्त पृथ्वीका पितृको कल्याण होस् भनेर जल अर्पण गरिन्छ । ‘अतीत कुलकोटिनाम् सप्त द्वीप निवासनाम् । आब्रह्म भुवना ल्लोकाद् इदमस्तु तिलोदकम्’ अर्थात् धेरै पहिलेदेखि करोडौँ कुलका, जो सातै द्विपमा बस्थे, तिनीहरूलाई पनि मैले तिलसहितको जल अर्पण गरेको छु । समस्त मृतात्मा अर्थात् पितृशक्ति यो ब्रह्माण्डको देवत्व शक्तिको एउटा अंश भएको वेदले बताएको छ । त्यसलाई तृप्त, स्थिर र प्रफुल्लित रूपमा राखे सबैको कल्याण हुन्छ भन्ने वैदिक मान्यता छ । अतृप्त र विकृत शक्ति ब्रह्माण्डमा रहँदा सबैलाई सधैं दुःख दिइरहन्छ । यो विज्ञानसम्मत कुरा नै हो ।पितृपक्षमा गरिने पार्वण श्राद्धमा पिता, पितामह र प्रपितामहलाई विशेषरूपमा ग्रहण गरिएको छ । अरूलाई अङ्गरूपमा लिइन्छ । सोहश्राद्धमा पितृहरूको आह्वानका निमित्त गरिने अनुरोधका लागि अथर्ववेदको अनेक मन्त्रले सङ्केत गरेका छन् । जसअनुसार अग्निसित प्रार्थना गर्दै- हे अग्नि तिमी हाम्रा ती पितृहरू जो पृथ्वीस्थानीय, अन्तरिक्षस्थानीय र स्थानीय छन्, सबलाई यहाँ जुटाइदेऊ । यसरी पितृसित सम्बन्ध राख्न खोजिएको हुन्छ । देवकर्मद्वारा देवतासित र पितृकर्मद्वारा पितृसित सम्बन्ध राख्ने विधि प्रसिद्ध छ । ब्रह्मदेखि सूक्ष्म जीवसम्म भावात्मक सम्बन्ध राख्ने श्राद्धको महिमा असीम छ। श्राद्धको महान उद्देश्य सबैलाई तृप्त पार्ने चाहना राख्नु नै हो ।

बुलबुल साप्ताहिक पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *