१५ चैत २०७९, बुधवार

१९ वर्षमै वडा सभापति !


कांग्रेसमा पहिलोपटक १९ वर्षीया किशोरी वडा सभापति चयन भएकी छिन् । शुक्रबार दैलेख दुल्लु नगरपालिका– ३ मा भएको वडा अधिवेशनमा १९ वर्षीया स्वस्तिका महत सर्वसम्मत वडा सभापति चयन भएकी हुन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महत कांग्रेसको हालसम्म परिणाम घोषणा भएकामध्ये कान्छी वडा सभापति भएको जानकारी दिए । उनले महतको चयनले कांग्रेसमा नयाँ पालुवा पलाउँदै गरेका सन्देश दिएको प्रतिक्रिया दिएका छन् । ‘राजनीतिको मुहार बदल्ने अभियानले तागत प्राप्त गर्छ, भविष्य बोकेको जाँगरिलो युवाहरूको सार्थक हस्तक्षेपले,’ प्रवक्ता शर्माले सामाजिक सञ्जालमा भनेका छन्, ‘दैलेख दुल्लु नगरपालिका–३ मा सभापति निर्वाचित स्वस्तिका परिवर्तनको प्रतिनिधि आवाज हुन् ।’
दैलेखमा शुक्रबार निर्वाचन सम्पन्न भएको थियो । कांग्रेस दैलेखका निर्वाचन अधिकृत विवश बस्नेतले महत सर्वसम्मत विजयी भएको जानकारी दिए । सहायक निर्वाचन अधिकृत तथा नेपाल शिक्षक संघ दैलेखका अध्यक्ष कृष्णबहादुर थापाले शुक्रबारको निर्वाचनका क्रममा तीन सभापतिका उम्मेदवार रहेकोमा महतलाई सर्वसम्मत सभापति बनाउने निर्णय भएको थियो । उनका अनुसार महतको पारिवारिक पृष्ठभूमि कांग्रेस भएको र नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै आएको जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *