१५ चैत २०७९, बुधवार

कविता “कल्पना” (अनुष्टुप छन्द)


कलानिधि दाहाल

दुई छन् चेतना खेल्ने अध्यात्मिक र भौतिक
तन ताँदो छ यौटामा मन अर्को छ वाहक!
दुईमै अतिका मात्रा तिखा साँध लगाउछन्
नाम धोका बनेका छन् सत्य बाँध लगाउँछन्!!

म मात्र दुनियाँ हौँ को स्वाङमा सन्सनाउँछन्
विरोधमा कुनै उत्रे रीसले भन्भनाउँछन्!
रीस हो यो महा शत्रु तकिया दुइकै यही
यसभित्रै घुमेको छ अन्ध मानिसको मही!!

निमोठी भित्र आवेग अध्यात्म बन्छ हिँस्रक
देखावटी सजी ढोँङ हुने भौतिक नायक!
न अध्यात्म छ आफैमा पूर्णताको धरोहर
न छ भौतिकको यात्रा आँखासामु मनोहर!!

अध्यात्म यो भए पूर्ण तन चाहिन्नथ्यो कतै
खाने बस्ने कुनै वस्त्र चाहिन्नथे कही कतै!
भौतिक यो भए पूर्ण मन चाहिन्नथ्यो कतै
तनबिस्कुन ओच्छिन्थे धरामाथि जताततै!!

अतिवादी छ यो घण्टी बज्नेको पनि धड्कन
तनस्वाङे अझै ज्यादा ज्यादतिकै रहे मन!
समन्वय भए केही निस्कन्थ्यो कि चुरो नयाँ
दुईटै नहुँदा देख्छु दुवै चामलका बियाँ!!

बोक्रो धान रमाएर आँखामा एक घोच्दछ
ठालु ठालु अझै ठालु अर्कोले ढोल ठोक्दछ!
एक हाड बनी घोच्छ अर्को मासु छ राशको
यी दुवैभित्र क्यै हुन्न वास सेतो कवासको!!

तन हो भोग यो भोग्नै पर्छ निर्भीकमा झरी
मन हो चेतना दीप बल्नै पर्छ धराभरि!
एक छाडी कहाँ हुन्छ अर्कोले वासना दिने
दुवै फ्युजनले सच्चा हुन्छ जीवन चम्किने!!

काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *