शिव पलाँस
झोलामा हालेर
एकथान टाउको
अनि दुइटा पैताला
प्रवास उडेको थिएँ
उडिरहेकै छु
अघिल्लो सालको जस्तै भो
यो सालको दसैँ पनि
पात्रोमा आयो
हृदयमा आएन
बाको हात नेपालमै छ
यहाँ मैले कोसँग निधार थाप्नु ?
आमाको खुट्टा नेपालमै छ
यहाँ मैले कस्को खुट्टा समाउनु ?
न आफ्नो नामको आँगन छ
न आफ्नो नामको आकास छ
कुन जमीन टेकेर चङ्गा उडाउनु ?
कुन आकासमा पिङ मच्चाउनु ?
प्रवासी निधारमाथि
आफैँले आफैँलाई टीका लगाएर
आफैँले आफैँलाई आशीर्वाद दिएर
के दसैँ मनाइयो भन्नु ?
के दसैँ मनाइएन भन्नु ?
अमेरिका