१७ चैत २०७९, शुक्रवार

कविता “फेरिएको दसैं !”

याम श्रेष्ठ

न त फुल्छन् सयपत्री
न देख्छु मखमली
बाल्यकाल कै दसैं तिहार
सम्झन्छु झल्झली !

सुन जस्तै धान झुल्थे
लेकमा बुकी फुल्थे
जब लाग्थ्यो वसन्त ऋतु
नीला आकाश खुल्थे !

रातो माटो कमेरोले
आ-आफ्नो घर पोती
ओखलमा चिउरा कुट्थ्यौं
पाक्थ्यो सेलरोटी !

दसैं तिहार त्यो बेलाको
हुन्थ्यो अर्कै मजा
नुन बिनाको तरकारी झैँ
लाग्छ दसैं आज !

वल्लो गाउँ र पल्लो गाउँका
हुन्थ्यौं संगी भेट
विकास नाउँले मेटिएछन्
धान फलाउने खेत !

छैनन् आजकल गोठमा भैंसी
न त खोरमा खसी
मौलिकतालाई बिर्सिएछौं
शहरमा बसी !

हातमा हुन्थे टर्च लाईट
विजुली थिए जुन
गुन्जिरहन्थे शक्तिपिठमा
“मालश्री”को धुन !

हराएको संस्कृतिलाई
सम्झी दु:खी हुन्छु
मालश्रीको ठाउँमाआज
“चोलीका निचे क्या हे”
बजेको पो सुन्छु…!

            

बेनी, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *