२४ जेठ २०८०, बुधवार

कविता “बिस्तारै बिस्तारै !”

लक्ष्मण थापा, पोखरा
—————-
बिहान घाम झुल्कन्छ
र अँध्यारोको मुहारमा घाम पोतिन्छ
बिस्तारै बिस्तारै

युगका कष्ट युगका पीडा
ढल्दैनन् सजिलै बर्लिनको पर्खाल झैं, अग्लिइरहन्छन्
बिस्तारै बिस्तारै

अग्लाहरूको उचाई यौटा सीमासम्म बढिरहन्छ
र एकदिन ओरालो लाग्छ
बिस्तारै बिस्तारै

रुखहरू धोत्रिएपछि
घाँसहरू आकाशतिर उन्मुख हुन्छन्
बिस्तारै बिस्तारै

समुद्रहरू पग्लिन्छन्
र आकाशले सिरक ओढाइदिन्छ
बिस्तारै बिस्तारै

जीवनका गतिशिल पाँग्राले नै
प्रलय आँधीको गति रोक्छ
बिस्तारै बिस्तारै

अँध्यारोमा झुण्डिएर ताराहरू
गुन गुन गरेर गफ गर्छन्
बिस्तारै बिस्तारै

सपनाको खेतीलाई पानी छर्केर
भूइँकुहिरो उड्दैछ डाँडातिर
बिस्तारै बिस्तारै

दुबोबारीमा रागको बीउ टुसाउँछ र बढ्छ
फागुको रंग छेप्दै निंदाउँछ
बिस्तारै बिस्तारै

केही नभनिकन धेरैकुरा भन्छिन् अभिसारिका
धेरैकुरा भनेर केही भन्दिनन्
बिस्तारै बिस्तारै

अनुराग चढ्छ शैलाधिप
प्रतिराग बनेर ओर्लन्छ अतलस्पर्शोन्मुख बनेर
बिस्तारै बिस्तारै

स्मृतिका बीउहरू गर्भाधान गर्छन् हिउँका कोखहरूमा
गर्भज स्मृतिहरू बिलाउँछन् नभमा
बिस्तारै बिस्तारै

तिमी, म र यो प्रकाश, प्रकाश बन्नेछौं
र निभ्नेछौं शून्य, महाशून्य बन्ने छौं
बिस्तारै बिस्तारै !

२०७८/०७/०२
हाल: टेक्सास

One Response

  1. प्रणाम
    सर मार्मिक कविता ” बिस्तारै बिस्तारै”🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *