–डा.दामोदर पुडासैनी किशोर
बुबा
ढुँगा माटोसँग खेल्नुहुन्थ्यो
ढुँगा माटोकै बहुरूपी चित्रहरू बनाउँनुहुन्थ्यो
अन्त्यमा ढुँगा माटोकै रूपमा उभिनुभयो
बुबा
हावा पानीसँग रमाउँनुहुन्थ्यो
हावा पानीलाई डोर्याइरहनुभयो जीवनभरी
अन्त्यमा पानी बनेर बर्षिनुभयो
र ,चुल्वुले हावा बनेर फैलिनुभयो
बुबा
आकाशका घाम,जून र ताराहरूसँग खेल्नुहुन्थ्यो
घाम ,जून र ताराहरूमा मजाले कोर्नुहुन्थ्यो आफ्नै अनुहार
अन्त्यमा घाम, जून र तारामंडल पो भए बुबाजस्ता
बुबा कस्तो बाठो हुनुहुन्छ
अचेल
मान्छेको रूप फेरेर
ढुँगा ,माटो,हावा ,पानी,घाम ,जून र ताराको रूपमा
धाप मारिरहनुहुन्छ हामीलाई
मैले भने
सँसारका सबै बुबाहरू हिँडेको बाटोभन्दा
फरक बाटो निर्माण गर्न
जन्मेदेखिनै एउटा चित्र कोरिरहेछु
त्यो कहिले पुरा हुने हो
टुँगो लागेको छैन
-२०७८ भाद्र २२ गते मंगलबार
गोंगबु ,नयाँ बसपार्क काठमाडौं ।