१७ चैत २०७९, शुक्रवार

कविता “मनको पुकार !”


सुमन वर्षा

प्रिय !
चन्द्रमाले उज्यालो पारेको
धर्तीको अनुपम सुन्दरताको बखान
सुन जस्तै टल्किएको पानीमा
माछाहरुले गरेको प्रेमको अद्भुत कलकल ध्वनी
अन्धकारको आधिपत्यमा दखल पुगेपछि
टुहु टुहु गर्दै उल्लुले चन्द्रमालाई गरेको गुनासो
प्रेमिल आत्माहरुले बियोगमा निकालेका
असन्तुष्टि र आबेगका चित्कारहरू
सुन ! आउ प्रिय बार्दलीमा

तिमी हेर त्यहाँबाट
म हेर्छु यहाँबाट
कति खुलेको छ आकाश धर्तीलाई देखेर
कति बलेको छ धर्ती आकाशलाई हेरेर
भत्काइदेउ अब शंकाका बारहरू बर्लिनको भित्ता जस्तै
छेक्न नसकोस तिमीले देख्ने दुरको त्यो क्षितिज
पढ खुला आकाशका पानाहरु पल्टाएर
आकाशमन धर्तीलाई एकोहोरो हेरेर प्रेम गर्छ
सबै सम्बन्धहरु भन्दा फरक छ त्यो प्रेम
सबै आफन्तहरु भन्दा नजिक छ त्यो प्रेम
सम्बन्धको एक अलौकिक शक्ती र
साधनाको मिलनबिन्दु हो त्यो
जोडेर मनसंग जीवन
एक प्रेमीले गरेको पुकार सुन
निसंकोच आउ प्रिय बार्दलीमा

तोडिदिउ तिमीभित्रको सन्नटाको जन्जिर
मिलनको फूल फुलाउ वियोगले भट्किएको मस्तिष्कमा
बिस्फोट गराउ कुण्ठाहरू चाहनाको स्वागतद्वारमा
मनाउन स्वतन्त्रता दिवस आडम्बरमा पिल्सिएका मलामी इच्छाहरुले
तोडिदिउ वर्षाले जस्तै नियम र परिधिभित्रको उकुसमुकुसता
र, कोरिदेउ मनभरी प्रेमका इन्द्रधनुसी रंगले
हरेक सम्बन्ध भन्दा माथिको मायाको आकार
देखाइदेउँ खुलेको एउटा आध्यात्मिक प्रेमको स्वरूप
अनुभूतिमा आकार लिने प्रेमको यो रूप
जहाँ न रोक्छ कोरोनाका भाइरसहरुले
न छेक्न सक्छ भौतिक दुरीको बन्देजले
न हुन्छ निषेधाज्ञाको उल्लङ्घन
आउ प्रिय !
चन्द्रमाले उज्यालो पारेको बार्दलीमा
तिमी अनुभूति गर त्यहाँबाट
म आवहान गर्छु यहाँबाट
सिमा र बन्दनहरुले नछेक्ने प्रेम
मूल्य र मान्यताहरुले नरोक्ने प्रेम

(‘निषेधाज्ञाका प्रतिबिम्ब’भित्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *