अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल गण्डकी प्रदेशले अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा बिओटी उपाध्यक्ष पदम विश्वकर्मालाई सम्मान गरेको छ ।
समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबा र सदस्य डा. कालु शर्मा सुबेदीले विश्वकर्मालाई सोमवार एक समारोह बीच सम्मान अर्पण गरेका हुन् ।
संस्थाले शुभकामना आदानप्रदान, पुस्तक अन्तरक्रिया तथा स्रष्टा भेटघाट समारोहका बीच सम्मान गरेको हो ।
सम्मानित स्रष्टा विश्वकर्माले बाध्यताले परदेशमा गए पनि मन घरदेशमा हुने बताए । आफ्नो औपन्यासिक कृति क्वारेन्टाइनको रचना गर्भ सुनाउँदै सुविधा सम्पन्न राज्यमा मान्छे उपचार नपाएर मरेको देख्नुपर्दाको दर्दनाक अवस्थामा आफैँ रुँदै, आफैँ लेख्दै कृति तयार भएको बताए ।
अनेसास गण्डकी अध्यक्ष दुर्गा शाह बाबाले वर्तमानमा धन खोज्दा पाइने समय नपाइने भएकाले आफ्नो कार्यव्यस्तताका बाबजुद पनि अनेसास गण्डकीलाई समय प्रदान गरेकामा आभार व्यक्त गरे ।
डा. कालु शर्मा सुबेदीले कोरोना महामारीको विषम परिस्थितिलाई अवसरमा बदलेर कृति प्रकाशन गर्नु खुसीको कुरा भएको बताए ।
अनेसास महासचिव असफल गौतमले क्वारेन्टाइन पढ्दा कोरोना पीडित बनेका हरेक पाठकका आँखा रसाउने कृतिका रुपमा बजारमा आएको बताए । उनले विश्वकर्माको उपन्यास लेखन पहिलो भए तापनि सरल, सरस र सहज भाषाशैलीले गर्दा पाठकको मन जित्न सफल हुने धारणा राखे ।
अनेसास कास्की संयोजक रविन्द्र माकाजुले सम्मानित स्रष्टाको साहित्यिक यात्राको थप सफलताको कामना गरे । उनले सुखी र खुसी मान्छेको चेहेरै हसिलो हुने र हसिलो चेहराले व्यक्तिका दुःख पनि बिर्साइदिने बताउँदै सदा अनुहारमा खुसी, जीवनमा सुखी रहेको देख्न पाइयोस् भन्ने कामना गरे ।
कार्यक्रममा अनेसास गण्डकीका कोषाध्यक्ष गीता तिवारी गौतम, कार्यसमिति सदस्य कल्याण पन्त, कृष्ण सारथि, ऋषि बराल, आजीवन सदस्य अम्बिका भण्डारी, प्राध्यापक बलराम पराजुलीलगायतले बोलेका थिए ।
वक्ताले कविता, कथा लगायतका विधामा कलम चलाउँदै आएका विश्वकर्माको क्वारेन्टाइन पहिलो औपन्यासिक कृति पहिलो भए पनि अमेरिकाकै कोरोना महामारीलाई पृष्ठभूमि बनाएर लेखिएकाले पठनीय कृति रहेको धारणा राखेका थिए । कृतिलाई सांग्रिला बुक्सले प्रकाशन गरेको छ ।