नकुल पौडेल
तिम्रो प्रतीक्षा गरेको पनि थुप्रो भइसकेछ
भित्तामा झुन्डाएको पात्रो पुरानो भइसकेछ।
अस्पतालमा राखेको बच्चा अझै उस्तै छ,
आमाको काखको बच्चा निको भइसकेछ।
स्वयम् लासले आफ्नो बयान दिन आउँदैछ,
कानुन यतिसम्मको अन्धो भइसकेछ।
तिमीले कहिल्यै नरुनु भनेको सम्झिदैथेँ,
एकैछिनमा आँखाहरु रातो भइसकेछ।
हामीले लगाएको पिरती मरेर गएपनि,
हामीले लगाएको पिपल ठुलो भइसकेछ।
देवदह, रुपन्देही ।