प्रकाश बस्नेत “गफाडी”का तीन मुक्तक
(१)
बहकिने मनलाई मनकै बारले घेर्नुपर्ने भो अब
मन-विधानका दफाहरू पनि फेर्नुपर्ने भो अब
जसो गरे पनि अपजस मात्रै झेल्नुपर्छ अचेल
कसैको उपकार गर्न’नि जोखना हेर्नुपर्ने भो अब॥
(२)
गरिबीले पेलेपछि धनवीरेले गाउँ छोड्यो
निर्धोले पछारेपछि बलवीरेले नाउँ छोड्यो
मलाई पनि नियतिले नठगेको कहाँ हो र!
उता अम्बा भरिला छन् यता दाँतले ठाउँ छोड्यो॥
(३)
कैले मेलो वारि कैले मेलो पारि फुर्सदै छैन
कैले धारो पानी कैले सल्लाघारी फुर्सदै छैन
कति भए होलान् उता नभेट्दाका गुनासाहरू
कैले माथ्लो पाटो कैले तल्लो बारी फुर्सदै छैन॥