कुश्मा नगरपालिका ३ दुर्लुङ पर्वतमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । स्थानीय गौवारीका ६४ वर्षिय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् ।
घरायसी झगडाको क्रममा गएराती १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबुछोरा मात्रै बसेका थिए भने मृतककी श्रीमती माईतीघर गएको बताईएको छ। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपनि काठको, ढुंगा, लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको उहाँले बताउनुभयो । मृतकको मोवाईल समेत टुक्राटुक्रा परेको छ भने भान्सामा समेत ढुंगाहरु देखिएका छन् ।
आज विहान छिमेकीले मृतक विकको शब घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि घटना स्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ । अहिले मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।