१५ चैत २०७९, बुधवार

नेपाली फुटबल टिमलाई २ लाख पुरस्कार दिने कुश्मा नगरपालिकाको घोषणा !


साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टीमलाई पर्वतको कुश्मा नगरपालिकाले २ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली फुटबल टीमलाई पुरस्कारस्वरुप उक्त रकम दिने सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै उत्कृष्ट खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीहरुको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट २ लाख पुरस्कारको घोषणा गर्दछु,’ नगरप्रमुख जोशीले फेसबुकमा लेखेका छन् ।
खेलाडीहरुको सम्मान गर्न सकेमात्रै नेपाली खेलकुद क्षेत्र विकास हुने भएकोले आफूले उक्त रकम पुरस्कारस्वरुप दिने घोषणा गरेको जोशीले बताए । ‘हरेक क्षेत्रमा निरन्तर लाग्ने व्यक्तिले सम्मान चाहेको हुन्छ,’ आफूले पुरस्कार घोषणा गर्नुको कारणबारे जोशीले भने, ‘नेपाली खेलाडीको हौसला बढाउन हामीले टोकन अफ लभ स्वरुप यो पुरस्कार घोषणा गरेका हौं ।’ सीमित स्रोत साधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो मुलुकका लागि ऐतिहासिक भएको उनले बताए ।
नगरपालिकाले छिट्टै नगर समिति बैठक डाकेर उक्त पुरस्कार रकम नेपाली खेलाडीसमक्ष पुर्‍याउने जोशीले बताए ।
सिंगो देशको प्रतिष्ठा उच्च बनाउने गरी प्रदर्शन गर्ने खेलाडीहरुको सम्मानमा केन्द्र सरकारले पनि चासो दिनुपर्ने जोशीको भनाइ थियो । उनले राज्यले खेल क्षेत्रमा लगानी बढाएर विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्न सके नेपाली युवाहरुले खेलबाटै नेपाललाई विश्वमा चिनाउन सक्ने दाबी गरे ।

कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *