८ जेठ २०८०, सोमवार

बेनी अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित !



तीन महिनादेखि तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित बनेका छन् । म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनका कारण अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । उपचार र प्रशासनिक काम ठप्प पारेर स्वास्थ्यकर्मी र कर्मचारीहरु आकस्मिक कक्ष अगाडि धर्ना बसेका हुन् । दसैं जस्तो महान चाड नजिकिएको बेला लामो समयदेखि तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको भनाई रहेको छ ।

‘ लेखा शाखा र प्रशासनमा पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाई रहेको छ । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा कर्मचारी र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिदा  सेवा लिन आएका सर्वसाधारणहरु मर्कामा परेका छन् । अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् ।

गत साउन महिनाबाट कसैले पनि तलब नपाएको आन्दोलितहरुको गुनासो रहेको छ । नियम अनुसार मासिक रुपमा तलब पाउनुपर्ने हो तर लेखापालका कारण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई समयमै तलब ख्वाउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अस्पताल सहित दुईवटा कार्यालय हेर्ने गरेका लेखापाल नारायण सुवेदीको हेल्चेक्राइका कारण तलब ख्वाउन ढिलासुस्ति भएको अध्यक्ष कटुवालको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *