१६ चैत २०७९, बिहिवार

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि मोबिल आक्रमण ।

बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई आइतबार एक समूहले दुर्व्यवहार गरेको छ । कार्यकक्षमा प्रवेश गरेको ५ जनाको समूहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ प्रहार गरेका थियो ।
दुर्व्यवहारमा संलग्नमध्येका एकजना मुगुका १८ वर्षीय विजय विकलाई प्रत्यक्षदर्शी जनप्रतिनिधिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । प्रहरीका अनुसार घटनास्थलमा नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद भेटिएको छ । एक थान मोबाइल सेट, घडी लगायतकागजात र सामग्री बरामद भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताए ।
‘घटनास्थलबाट पक्राउ परेका एक जना हाम्रो नियन्त्रणमा छन्,’ उनले भने, ‘थप अनुसन्धान र संलग्नहरुको खोजीमा प्रहरी परिचालन गरिएको छ ।’ दुर्व्यवहार हुँदा वडा न. ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र ९ का अध्यक्ष बेलबहादुर चोखाल कार्यकक्षमै थिए । प्रत्यक्षदर्शी श्रेष्ठले शंकास्पद र छापामार शैलीमा कार्यकक्षमा छिरेका उनिहरुले “दलाल” शब्द प्रयोग गर्दै आक्रमणमा उत्रिएको बताए। छ्यापेको कालो तरल पदार्थ टेबुल र कार्यकक्ष पछाडिको भाग फोहोर भएको छ ।
सो पदार्थ सवारी साधनमा प्रयोग हुने मोबिल भएको अनुमान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले आफूलाई मागिएको चन्दा नदिएका कारण आक्रमण र दुर्व्यहार भएको प्रतिक्रिया दिए। ‘उनीहरुले चन्दा मागेका थिए, मैले जनताले तिरेको कर र बिकास बजेट काटेर कुनै दललाई चन्दा दिन नमिल्ने भने,’ सुवेदीले भने ‘कार्यकक्षमा प्रवेश गरेर अरु केही कुरै नगरी सिधै आक्रमण गरे ।’ यस बिषयमा नेकपाका जिल्ला सेक्रेटरी सुशीला विकले सो घटनामा आफनो कार्यकर्ता र संगठनको संलग्नता नभएको बताइन् । ‘उनको विषयमा हामी प्रतिबन्धमा रहँदा पनि केही भ्रष्टाचारको गुनासो आएको थियो,’ उनले भनिन्, ‘आजको घटनामा हाम्रो संलग्नता छैन ।’

सुवेदी तिनै कर्मचारी हुन् जो ८० हजार कर्मचारीहरुको बिचमा मोफसलबाट उनी मात्र उत्कृष्ट कर्मचारी ठहर्‍याएर नेपाल सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *