५ चैत २०७९, आइतवार

म आएँ !

नीलम कार्की निहारिका

उपन्यास लेख्नू भन्दै तीन वर्षअघि आमाले इतिहासका एक पात्रको नाम लिनुभएको थियो ।

मैले उहाँको इच्छालाई ससम्मान स्विकारेकी थिएँ ।

त्यस पात्रमाथि लेख्दालेख्दै मैले बीचमा नै छाडे कि भन्ने उहाँको मनमा आउने रहेछ । त्यसैले बेलाबेला झकझक्याउनुहुन्थ्यो । लेखन कहाँ पुग्यो, सोधिरहनुहुन्थ्यो । मैले निरन्तर त्यसैमा काम गर्दै छु भन्दै विश्वस्त पार्दै थिएँ ।

हुन पनि पहिला उहाँकै मनोकांक्षा पूरा गर्ने अठोटमा थिएँ म । नेपाल गएका बेला विषयसम्बद्ध दुईचार ऐतिहासिक स्थलको भ्रमण गरेकी थिएँ । पठन सामग्री पनि भेला पारेकी थिएँ । उपन्यासलाई पूणर्ता दिनका निम्ति थप स्थलगत र घटनागत अध्ययन आवश्यक थियो । विश्वलाई आक्रान्त पारेको कोभिड-१९ का कारण तत्काल नेपाल जान सम्भव नभएको हुँदा मैले लेखनलाई स्थगन गर्नुपर्‍यो ।

अर्को कुरा, संसार महामारीबाट मुक्त भएर आफ्नो पुरानै लयमा नफर्किदासम्म केही लेख्न सक्छु जस्तो पनि लागेको थिएन । सुरक्षित भएर दिन कटाउनु प्राथमिकतामा परेको हुँदा कापीकलम थन्किएका थिए ।

जेठो छोरा हिमांशुले एक दिन आश्चर्य मान्दै सोधे, नेपालमा पोलियाण्ड्री हुन्छ ? मानवशास्त्र विषयको उनको पाठ्यक्रममा संसारका विविध विवाह संस्कार शीर्षकअन्तर्गत पोलियाण्ड्री पनि रहेछ पढ्दै जाँदा त्यस प्रकारको प्रचलन भएका देशमा नेपालको पनि नाम देखेछन्, उनले विदेशी भूमिमा आफ्नो देशको नाम कोर्समा पढ्न पाउँदा उनलाई गौरवानुभूति भएछ ।

नेपालको बहुपति प्रथाबारे आफूसँग भएको जानकारी मैले भनिदिएँ । मबाट ध्यानपूर्वक सुनिसकेपछि उनले यसलाई केन्द्रमा राखेर कलम चलाउन मलाई सुझाए ।

थप अध्ययनका लागि सामग्री भेला पार्ने काम पनि उनैले गरे केही पुस्तक किनिदिएँ । बहुपति प्रथाबारे प्रकाशित रिसर्च आर्टिकल प्रिन्ट गरेर बिहान उठ्दा मेरो पढ्ने टेबलमा राखिदिएका हुन्थे, कहिले विदेशी अनुसन्धनकर्तासँग इमेलमार्फत सम्पर्क पनि उनैले गरे ।

जेठाले मात्र होइन, कान्छा छोराले पनि गुगल गरेर पठाएका लेखनलाई सहयोग पुग्ने भिडियोका लिङ्क मेरो इमेलमा आएर बसेका हुन्थे ।

नेपालमा कोभिङ-१९ ले क्षति त पुर्‍यायो तर ईश्वरको कृपाले भन्छु म, सोचे जति स्थिति भयावह हुन भने पाएको थिएन । अन्य देशमा पनि कोरोनाका कारण हुने मृत्युदर घट्ने क्रम थियो । अर्को कुरा, सम्पन्न देशका वैज्ञानिक भ्याक्सिन बनाउन लागिपरेको र सकारात्मक सङ्केत मिल्दै गएकाले हृदय पनि शान्त हुँदै गएको थियो । त्यसैले बिस्तारै लेखपढमा मन दिन सक्ने भएकी थिएँ । दाजुभाइले त्यसरी भेला पारिदिँदै गएका सामग्री मैले अध्ययन गर्दै गएँ ।

म सानै छँदा आमाले महाभारत सुनाउने क्रममा भन्नुभएको थियो, परीक्षितलाई हस्तिनापुरको राजकाज बुझाएर पाँच पाण्डव र उनीहरूकी पत्नी द्रौपदी जिउँदै स्वर्ग जान भनी हिमालयतिर हिँडे तर हिँड्दाहिँड्दै दौपदी ढलिन् । त्यो देखेर सबैभन्दा अघि हिँडिरहेका युधिष्ठिरसँग भीमसेनले सोधे- द्रौपदीले कुनै पाप गरेकी छैनन् । उनी किन ढलिन् ? त्यसको जवाफमा युधिष्ठिरले भने- द्रौपदीले आफ्ना पाँचै पतिलाई एक समान नगर्ने, अर्जुनलाई सबैभन्दा बढी प्रेम गर्ने गरेकीले त्यसको फल भोगेकी हुन् । त्यही कारण द्रौपदी जिउंदै स्वर्ग जान पनि सकिनन् ।

टल्किएको हिमाल देख्दा स्वर्ग हिँडेका पाँच पाण्डव र द्रौपदीका पाइला त्यतै कतै होलान् भन्ने लाग्ने गथ्र्यो । त्यतै कतै ढलिन् होला द्रौपदी भन्ने पनि लाग्थ्यो । हिमालय शृङ्खलातिर फर्किएर द्वापर युगलाई खोज्थे- आजका आँखाले ।

चीरहरण उपन्यास लेख्ने बेला त्यस महाप्रस्थानको सन्दर्भलाई आफैले पनि पढेकी थिएँ ।

“पक्षपातो महानस्या विशेषेण धनंजये ।

तस्यैतत् फलमद्यैषा भुङ्क्ते पुरुषसत्तमः ।।”

(युधिष्ठिरले भने- उनको मनमा अर्जुनप्रति विशेष पक्षपात् थियो । उनले आज यो त्यसैको फल भोगिरहेकी हुन् ।)

महाभारतका कथा सुन्दै हुर्किएका मस्तिष्कले बहुपति शब्द सुन्नासाथ पाँच पतिकी साझा पत्नी द्रौपदीको आकृति सोच्छ । हाम्रा विद्वान् संस्कृतविद्हरूले पनि बहुपति विवाहलाई द्रौपदी विवाह प्रथा नै नामकरण गरेको पढेँ । तर स्थानीय व्यक्तिहरूसँग अन्तर्वार्ताका बेला यो पनि थाहा पाएँ, जसले बहुपति विवाह संस्कृतिलाई निरन्तरता दिँदै आएका छन्, उनीहरू प्रायः भने द्वापर युगकी द्रौपदीबारे अनभिज्ञ छन् । मैले चीरहरण उपन्यास लेखिसकेर भनेकी थिएँ, हामी कहीँकत कुनै न कुनै रूपमा आज पनि द्वापरयुग बाँचिरहेका छौँ ।

बहुपत्नी विवाहलाई सामान्य मान्दै आएको समाजमा हुर्किएकी म २५ वर्षअघि पहिलो पटक नेपालगञ्जमा बहुपतिकी एक पत्नीसँग भेट हुँदा आश्चर्यमा पर्नु स्वाभाविक थियो । हुन पनि द्रौपदीका पाँच पति थिए भन्ने निकै चर्चा गरेका हुन्छौँ । उनैका पतिहरूका अन्य पत्नीहरूबारे हामीलाई कहिल्यै चासो रहेन ।

इतिहासप्रति राज्य उदासीन छ । हाम्रा कति संस्कृति लोप भएर गए । कति दिनानुदिन लोप हुने क्रममा छन् । नेपालको उच्च हिमाली भेगका केही भागमा रहेको बहुपति विवाह संस्कृति आख्यानीकरण हुन जरुरी सम्झियो मेरो मनले पनि । त्यहीकारण छोराहरूले जुटाइदिएको सामग्री पढिसकेपछि उपन्यास लेख्ने सङ्कल्पसाथ स्थानीय व्यक्तिसँग सम्पर्क भने म आफैले गरेँ ।

कणर्ालीमा लामो समय काम गरेकी मित्र राधा पौडेलले सहयोग गरिन् । उनीमार्फत विष्णु रावतसँग परिचय भयो । मैले सोधेका बेला उहाँ आफूले जानेको तत्काल बताइदिनुहुन्थ्यो । भाउजू-काकीसँग सोधेर पनि मेरा जिज्ञासा समाधान गरिदिनुहुन्थ्यो । मलाई लेखनमा सहयोग हुन्छ भनेर आफू पर्यटकका साथ लाप्चा जाँदाका तस्बिरसमेत पठाउनुहुन्थ्यो ।

मित्र अनिता बिन्दुमार्फत परिचय भएका हुम्लाका पत्रकार भाइ नरजन तामाङले निकै ठूलो सहयोग गर्नुभयो । उहाँले पनि कति दृश्यका लागि हुम्लाबाट फोटो र भिडियो खिचेरसमेत पठाइदिनुहुन्थ्यो । मैले नबुझेका कति शब्दका अर्थ खुलाइदिनुहुन्थ्यो त्यहीँको जीवन बाँचिरहेका अन्य व्यक्तिसँग पनि सम्पर्क गराइदिनुभयो ।

२०७७ पुस १९ गते हुम्लामा हिमपात भएपछि उहाँले भन्नुभएको थियो, हिउँ परेपछि हुम्ला खुसी हुन्छ । किनकि यहाँ सिंचाइको मुख्य स्रोत नै हिउँ हो । तर हिउँ सुख मात्र होइन, दुःख पनि हो । यसले जीवन कष्टकर बनाउँछ । उच्च हिमाली क्षेत्रतिर आवजजावत ठप्प हुन्छ । कुनै गाउँ हिउँले छेकिएर चार/पाँच महिना हलचल नगरेर बस्नुपर्ने हुन्छ ।

लगातारको सहयोगप्रति म निकै आभारी छु भाइ ।

अर्को आभार लामा सांस्कृतिक मञ्च सिमीकोटका अध्यक्ष धर्मानन्द लामाप्रति । उहाँले पनि त्यहाँका धेरै कुरा अवगत गराउनुभयो । धेरै पटक घण्टौं हामीले टेलिफोन र म्यासेञ्जरमा कुरा गरेका छौँ । अनि ग्याल्जन, पेमा, आमै, वाङ्दी, नुर्बुलगायत मेरा प्रिय हिमाली पात्रका संवाद दोहोर्‍याएर हेरिदिनुभयो । पाण्डुलिपिमाथि समाजको अगुवा र जानकार व्यक्तित्वसँग छलफल गरेर उहाँहरूका सुझाव / प्रतिक्रिया मलाई भनिदिनुभयो, जसका कारण बाँकी कामका लागि निकै हौसला मिल्यो । 

संवादकै निम्ति अर्को सहयोग हुम्लाकै कुन्साङ बहिनीबाट प्राप्त भयो । म ऋणी छु, बहिनी ।

सहयोग धेरैबाट पाएकी छु । डा. उत्तमबाबु श्रेष्ठ, जसले हिमाली बोटबिरुवा, पशुपन्छी अनि पर्यावरणबारे तस्बिरहरूसहित जानकारी दिनुभयो ।

कान्जोक लामा, जसले मलाई लिमी गाउँमा न्येलु प्रथा अनि हुम्ली लामाको सामाजिक संस्कार बुझ्न मलाई थप सहयोग गर्नुभयो । धेरै पटक हामीले कुरा गर्‍यौ । यहाँको समय अनि पठन सामग्रीका निम्ति आभार ।

सञ्चारकर्मी बहिनी छपाल लामा । उहाँको पनि त्यति नै समय लिएको छु । भेषभूशा र त्यस भेगका महिलाको काम, कर्तव्य अनि अधिकारबारे उहाँबाट धेरै नै जानकारी पाएकी हुँ । 

“चामल नदेऊ, बाटो देऊ, बीउ देऊ, सिँचाइ देऊ” भन्ने माग मैले हुम्लामा छायाङ्कन गरिएको साझा सवाल कार्यक्रम हेर्ने क्रममा सुनेँ । विभिन्न कार्यक्रम र घुम्न गएका पर्यटकले युट्युबमा राखेका भिडियो पनि उपन्यास लेखनका निम्ति अति सहयोगी भए । डा. भक्त राईले मलाई सांस्कृतिक पक्षका केही कुरा बुझाउनुभयो । र सूर्य लामासँग सम्पर्क गराउनुभयो । हुम्ला मुचु घर भएका सूर्य लामाको सुझाव उस्तै महत्वपूणर् रह्यो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाप्रति पनि आभार ।

प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा, जो आफैँ हुम्लाको माटों अनि संस्कृतिसँग परिचित हुनुहुन्छ । उहाँलाई मैले पाण्डुलिपि त्यस बेला पठाएकी थिएँ, जति बेला देश फेरि अन्योलतामा थियो । बहुमतप्राप्त दलका प्रधानमन्त्री मध्यावधि निर्वाचन गरी जनताको नयाँ जनादेशका लागि चुनावमा जान तत्पर थिए । त्यसका लागि राष्ट्रपतिबाट सदर पनि भएको थियो । प्रतिपक्ष र सरकारको आफ्नै दलको एक भाग फेरि सडक पुगेको थियो । यस्तो व्यस्त समयबाट समय निकाली उहाँले पाण्डुलिपि पढेर मन्तव्य लेखिदिनुभयो कृतज्ञता ज्ञापन गर्छु ।

विमल भौकाजी र वासु श्रेष्ठ दाजुका सुझाव पनि उत्तिकै मननयोग्य रहे । आनन्द रावत र भूमिश्वर पौडेल भाइप्रति पनि धेरै आभारी छु ।

साङ्ग्रिलाबाट आएको मेरो पाँचौं पुस्तक हो। मणिजी र साङ्ग्रिला परिवारप्रति आभार । सुन्दर बस्नेत दाजुले पहिर्‍याइदिनुभएको नाना लाएर ठाँटिएको यो मेरो छैटौं पुस्तक हो । कृतज्ञ छु दाजु ।

कोरोना सङक्रमित बिरामीलाई सेवा दिएर भास्करजी थकित भई घर आएपछि पनि हरेक दिनको लेखन सुनाउने र आगामी अध्याय लेखनबारे विमर्श गर्ने काम उपन्यास मैझारो गर्दासम्म नै चलिरह्यो ।

आमालाई हरेक बिहान फोन सम्पर्क गर्नु मेरो नियमित कार्य हो । “नयाँ उपन्यास कहाँ पुग्यो ? अब सकियो ? राम्रो बुझेर, केलाएर लेख्नू” उहाँले दोहोर्‍याइरहनुहुन्थ्यो । यही लेखनले गर्दा आरती दिदीसँग कुरा गर्दागर्दै हतारहतार टुङ्गाउने गर्थे । कति साथीहरूसँग केही महिनाका निम्ति सम्पर्कविहीन नै । त्यसका निम्ति हृदयबाट माफी चाहन्छु ।

यसअधिका तीन उपन्यासका अधिकांश भाग रातिमा लेखेकी थिएँ । तर अब छोराहरू हुर्किदै जाँदा लेख्ने वातावरण सहज हुँदै गएको छ यसैले त सम्भव भएको हो, दिनमा पनि लेख्न ।

पुनः सम्पूणर्मा एकसाथ आभर व्यक्त गर्छु ।

यो उपन्यास नलेखेको भए मैले मेरै कणर्ालीको दुःख पनि यसरी देखेकी हुने रहेनछु । यार्सागुम्बा खोज्न जानेको व्यथा, भोकमरी र मक्किएको चामलको कथा अनि तुइनमा झुण्डिएको जीवन देख्दा मेरो मनले सोधिरह्यो- नेपाल सबै नेपालीको हो कि होइन ?

२०७४ फागुन ६ गते भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा योगमाया विमोचनपछि हस्ताक्षरका लागि उपन्यास मेरो हातमा दिँदै एक पाठकले भन्नुभएको थियो, “तपाई योगमायाका लागि पूर्व पुग्नुभयो । अब कलम लिएर हाम्रो कणर्ालीतिर पस्नुपर्छ है ।” त्यही बेला लेखक हस्ताक्षर गर्दै हुन्छ.. भन्दै शिर पनि हल्लाएकी थिएँ । तर शुभचिन्तक त्यो आवाज कसको थियो ? सम्झिने निकै कोसिस गरे, सकिन । यति बेला यति भन्न चाहन्छु म आएकी हुँ, कर्लाणीबाट द्रौपदी अवशेष लिएर ।

(“द्रौपदी अवशेष” उपन्यास लेख्दाको अनुभूति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *