२० मंसिर २०७९, मंगलबार

लाहुर जाने रेलैमा: … “अनि सुरु भयो प्रकाशको गायन यात्रा !”

राजु पौडेल
अभिभावकको जेठो सन्तान। गीत गाउने रहरका बाबजुद पनि परिवारको आर्थिक विपन्नतालाई सम्पन्नतामा ढाल्नुपर्ने जिम्मेवारी। देशमा रोजगारको भरपर्दो आधारको कमी, परदेशले आर्थिक पाटो सबल बनाउला भन्ने आशा। त्यही आशाले परदेशिने सोच। सोचको परिणामस्वरूप अहिले चर्चामा रहेका गायक तथा सर्जक प्रकाश दुतराजले हरियो पासपोर्ट बनाए।

पासपोर्ट बनेको केही दिनमा काठमाडौं हिँडे। काठमाडौं आउँदैमा विदेशिन सजिलो थिएन। अन्तिम समयमा आएर एजेन्टले विदेशका लागि भिसा प्रक्रिया पूरा गर्न सकेन। विदेशिने बाध्यात्मक परिस्थितिलाई तत्कालीन समयमा विश्राम पायो। फसेको पैसा फिर्ता भएन। तर, उनी रित्तो झोला बोकेर गाउँ फिर्ता भए।

साथीभाइ माझ गीत गाउनु र आफैँ वाद्यवादनबाट धून निकाल्नु उनको शोख थियो। उनको यो शोख आफ्ना वरिपरिका मित्रले राम्रैसँग बुझेका थिए। तर, उनले भने गायक नै बनेर जीवन चल्छ भन्ने सोचिसकेका थिएनन्। किनभने उनका गीत बजारमा जान बाँकी थिए।

केही दिनअघि मात्र उनले सिर्जना र स्वर भरेको ‘जाम भो माइली’ बजारमा आएको छ। लोक लयमा आधारित उक्त गीत अहिले युवापुस्ताको जिब्रोमा झुण्डिएको छ नै। त्यसभन्दा बढी सामाजिक सञ्‍जालमा खुबै रुचाइएको छ। करिब ७ महिनाअघि तयार पारेको उक्त गीत आर्थिक पाटोले गर्दा केही समय रोकियो। तर, आफैँलाई मन परेको आफ्नो सिर्जना निकाल्न उनले खुबै मिहिनेत गरेको सुनाउँछन्।

दर्शकले अत्यधिक मन पराएपछि उनी दंगदास छन्। ‘अपेक्षाभन्दा बढी दर्शकले मन पराइदिनुभएको छ। अब चाहिँ गीतसंगीतमा लागेर केही गर्न सक्छु कि भन्ने आँट आएको छ’, खुसीको बाछिटाले रंगीएको अभिव्यक्ति दिन्छन् उनी।

गण्डकी क्षेत्र लोक संगीत, संस्कृति र कलाको फुल प्याकेज मानिन्छ। त्यसमाथि म्याग्दी ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वले थप अग्रणी भूमिका खेल्ने जिल्लामा पर्छ। त्यही जिल्लाको अर्मन गाउँमा जन्मिएका उनी त्यही समाजमा हुर्के, बढे।

गायनको माध्यमबाट समाजको विकृतिको उठान

पछिल्लो केही समयमा उनले करिब ५-७ वटा गीत सार्वजनिक गरेका छन्। उनले ज्यादातर गीतहरू मौलिकतामा जोडेका छन्। ‘मैले आफ्नो मौलिक संस्कृतिलाई माया गरेर गीत सिर्जना गरेको हुँ। जब कुनै गीतमा मान्छेले आफ्नोपन भेट्टाउँछ स्वतः मन, मुटु र जिब्रोमा झुण्डिँदोरहेछ’,उनी सुनाउँछन्।

‘जाम भो माइली’ मा उनले समाजमा भएको महिला बेचबिखनको विषय उठाएका छन्। चिटिक्क परेको पोशाक र अत्तरको स्वादमा रमाउने नेपाली समाजको प्रवृत्ति आज पनि छ। ज्यादातर विपन्न अभिभावकले आफ्नो छोरीको सुन्दर भविष्यको कल्पना गरेर कुनै पनि अपरिचित व्यक्तिको आर्थिक रवाफ देखे/ पृष्ठभूमि नहेरिदिनु विडम्बना समाजमा छ।

जसले गर्दा हाम्रा चेली बेचिनु परिरहेको छ। यो गीतमा भने एउटा गाउँले युवतीलाई ‘दलाल’ले प्रेमको नाटक गरेर विदेश लैजान खोजेको कुरालाई दुतराजले गीतमा उठाएका छन्।

त्यसभन्दा अघि उनले ‘आरने’ बोलको गीत ल्याएका थिए। जसमा समाज रहेको छुवाछुत प्रथा र भेदभावलाई उठान गरेका थिए।

‘समाजमा आज पनि छुवाछुत छ। विभेद छ। बेचबिखन छन्। ती हामीले देखिरहेका छौँ। कतिपय अवस्थामा भोगिरहेका पनि छौं। हरेक सचेत नागरिकले ती विकृत कुराहरू आफ्नो बलबुतोले सकेसम्म बाहिर निकाल्नुपर्छ भन्ने मेरो बुझाइ हो। ती विकृत कुराहरू आम माससम्म पुग्नुपर्छ। अनि मान्छेहरूलाई कहीँ न कहीँ सचेत गराउनुपर्छ भन्ने लाग्छ’, उनी यी विकृत कुरालाई आफ्ना सिर्जनाको माध्यम बनाएको भन्दै अगाडि थप्छन्,’मैले समाजका हुने घटनालाई मौलिक गीतको माध्यमले अभिव्यक्त मात्र गरेको हुँ।’

उनका लागि गीत सिर्जनाको पृष्ठभूमि,समाज, यहाँको संस्कार र संस्कृतिले नै प्रभाव पार्ने गरेका छन्। उनी सुनाउँछन्, ‘मलाई सिर्जना गर्न सिकाएको नै म्याग्दीको माटोले हो।’

त्यो स्कुले कालमा रेकर्ड गरेको गीत

दुतराजका बुबा आमा पनि राम्रो गीत गाउँछन्। तर, उनीहरूले कहिल्यै रेकर्ड गर्ने अवसर पाएनन्। ‘अहिले पनि आमाले मिठो स्वरमा गीत गाउनुहुन्छ। तर, समय परिस्थितिले रेकर्ड गर्न सक्नुभएन’, उनी सुनाउँछन्, ‘त्यसैले आमाको अन्तरआत्माको त्यो पीडाले पनि मलाई गीत रेकर्ड गर्न मन लागेको थियो।’

उनले ६६ तिर स्कुले जीवनमा ‘सिमसिम पर्‍यो पानी’ गीत रेकर्ड गरे। यसमा उनलाई साथी यो गीन निकाल्न,दाइहरूले सहयोग गरेका थिए।

दोहोरी साँझले धेरै कुरा सिकायो

पहिलो गीत रेकर्ड गरेपछि उनी लामो समय ग्याप भए। गायन क्षेत्रमा लाग्नेबारे उनले सोचेका पनि थिएनन्। विदेश जाने बाटो बन्द भएपछि गाउँमा नै बसे। गीतहरू तयार पारिरहे। तर, संगीतको ज्ञान भने लिनै बाँकी थियो। गाउँमै बसेर विदेशको मुख ताकिरहन भने उनले छोडेका थिएनन्। तर, आफूलाई चित्तबुझ्दो ठाउँ पाइरहेका थिएनन्। ०७२ मा भूकम्प पश्चात् उनी काठमाडौं आए। दोहोरी साँझमा काम गर्न थाले। उनले गएको वैशाखसम्म दोहोरी साँझमा काम गर्थे।

दोहोरी साँझ उनको आवश्यकता परिपूर्ति गर्ने माध्यम बनिदियो। दोहोरी साँझले उनको अभाव मात्र मेटाएन, गाउने शैली. शब्द छनोट र निर्माण, संगीतको बुझाईलाई व्यापक बनाइदियो।

उनी विदेश जान नपाएको कुरा अहिले गम्छन्, ‘सायद मलाई गायक बन्न नै विदेश लेखेको थिएन भन्ने सोच्न थालेको छु।’

कसैले गायक भनेर भन्दा अप्ठ्यारो लाग्छ

उनले आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, अहिले चर्चामा आएको गीत जाम भो माइली बजारमा ल्याइसकेका छन्।

उनले तयार पारेका गीत करिब १० वटा जति छन्। ती बजारमा आउन बाँकी नै छन्। तर, उनलाई कसैले गायकको उपमा दिए भने अप्ठ्यारो महसुस हुने सुनाउँछन्। गीत गाउँदैमा गायक बनिहाल्ने परम्पराबीच उनी आफूलाई गायकको उपमा दिए भने अलि लाज मानिदिन्छन्।

कति गीत गाएपछि गायक भइन्छ? एउटा गायक बन्न केके चाहिन्छ? भन्ने कुराले त्यो गायक हो कि होइन भन्ने कुराको अर्थ राख्ने हो कि भन्ने उनको बुझाइ छ। ‘मैले सिर्जना गरेका गीतहरू दर्शकले मन पराइरहँदा चाहिँ ओहो म त गायक बनेँ कि के हो भन्ने लाग्छ। फेरि चर्चामा रहेका आफ्नै गीतको चुनौतीले अर्को गीत सिर्जना गर्ने क्रममा एकदमै बढी जटिलता महसुस हुन्छ। त्यो बेला चुनौती सम्झेर म अझै सिकारु नै छु कि भन्ने पनि लाग्छ’, उनी प्रष्‍ट्याउँछन्।

आफ्नै सिर्जनाले बढेको चुनौती

कुनै पनि गीत सोचेभन्दा बढी दर्शकले मन पराइदिँदा पनि खुसी त मिल्छ नै। तर, त्यसका लागि यो गीत लायक थियो कि थिएन भन्ने भनेर मूल्यांकन गर्न रुचाउँछन् उनी। उनले निकालेको निचोडको सारबारे भन्छन्, ‘हरेक सिर्जनाले आफ्नो भाग्य लिएर आएका हुँदा रहेछन्।’

कलाकारलाई चुनौती भनेकै आफ्ना सिर्जनाको हुने उनी सुनाउँछन्। ‘दर्शकले जुन हिसाबले मेरा सिर्जनालाई मन पराइदिनु भएको छ। त्यही अपेक्षा अब आउने गीतले दिन सक्छ कि सक्दैन भन्ने डर चाहिँ हुने रहेछ’, उनी चुनौतीबारे बोल्छन्’, ‘कसैको नि:स्वार्थ प्रेम पाउने कुरा चानचुने कुरा होइन। दर्शकको माया पाइरहने हो भने मैले दर्शकका गीत गाउनुपर्छ भन्ने लाग्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *