चर्चित नेपाली लोक दोहोरी गायक तथा सर्जक वसन्त थापा म्याग्दीको बेनी आउने भएका छन् । होटेल यतीले गर्न लागेको साङ्गितिक कार्यक्रममा गायक तथा सर्जक थापा बेनी आउने भएका हुन् ।
स्वर्गीय राम गौचनको स्मृतिमा यही कार्तिक १६ गते मङ्गलबारको दिन “होटेल यति”को प्राङ्गणमा गर्न लागिएको शुभ दीपावली तथा छठ पर्व-२०७८ को अवसरमा शुभकामना आदानप्रदान तथा साङ्गितिक कार्यक्रमा सहभागी हुन गायक थापा बेनी आउन लागेको होटेल यतीको प्रोपाइटर, सामाजसेवी तथा राजनैतिक ब्यक्ति बिमला गौचनले जानकारी दिनुभयो । कार्यक्रमको मूख्य उद्देश्य कला तथा संस्कृतिको संरक्षण र जगेर्ना गर्नु रहेको गौचनको भनाई रहेको छ । गायक थापासँगै म्याग्दीका चर्चित गायकहरु सम्भोज मल्ल, प्रकाश दुतराज, रवि कार्की आदिको पनि प्रस्तुती रहेको आयोजकले जनाएको छ ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिका-७, मल्ममा जन्मिएका थापा नेपाली लोक दोहोरी क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल भएका छन् । सानैदेखिको गायन र संगीततर्फको रुचि र साधनाले नै आज राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल थापाका “सालको पात टपरी हुनी” “स्यानीमाया” “माया हाँसेको” “जाम सुस्तै” ” खेतमा बोके झार” जस्ता दर्जनौं गीतहरु सफल भएका छन् ।