२२ असार २०७९, बुधवार

हिन्दू पनि अब जाग्दैछ !


 हृदयचन्द्र सिंह
 

युग बदलिँदै छ, जमाना फेरिँदै छ । अब मानिस यस्ता सडेगलेका कुराहरू र विचारहरूमा अडिरहने छैन । आजको मान्छे जागेको छ । आजको हिन्दू पनि रूढि परम्परा र संस्कृतिमा लाभहानि खोज्न जानिरहेको छ । आफ्ना सबै कुरा र व्यवहारमा तथ्य र अतथ्य, विशेषता र निकम्मापन, सार र सारहीनता आदिबारे ऊ छानबिन गर्दै छ । ऊ आफ्ना हरेक चीज र चालचलनमा गति, अगति र प्रगतिको अन्वेषण गर्छ र प्रत्येक भावना तथा संस्कारका कति विकास र कति विनाशको मात्रा छ भन्ने कुरा गहिरिएर हेर्छ । आफ्ना पुराना, सडेगलेका कुराहरू र विचारहरूको तितो अनुभव हिन्दूहरूलाई प्रशस्त छ । त्यसैले उनीहरू अब यस्ता कुराहरूमा फँसिरहने छैनन् । जमानाको रङ्गरूपलाई देखेर उनीहरू पनि अब अगाडि बढ्दै छन् । आजको हिन्दू आफ्नो आँगनमा हाम फालेर आफ्नो शक्तिको परीक्षण गरेरमात्र सन्तुष्ट हुन्न, ऊ संसारका चारैतिर दगुर्न चाहन्छ र आफ्नो पहुँचभन्दा पनि पर टाढाटाढासम्म आँखा फैलाउन र हेर्न चाहन्छ । उनीहरूका आँखाले दुनियाँका कुनाकुनासम्म देखिसकेको छ—जताततै जागृति मुस्कुराउँदै छ, प्रगति नाच्दै छ, र विकास गाउँदै छ । उनीहरूको हेराइमा कतै पनि यस्तो ठाउँ छैन जहाँ उन्नतिले छलाङ मारिरहेको नहोस् । आज हिन्दूले हरेक ठाउँ वैभवले उछलकुद गरेको देखिरहेछ, तृप्तिले आराम गरेको देखिरहेछ र हरेक मुलुकको जाति र व्यक्ति आकाशमा उड्नेतर्फ उत्साहित छ, पहाड फोर्नमा दृढ छ र समुद्रमा बाँध बाँध्नमा व्यस्त छ । आज हिन्दूले राम्ररी थाहा पाइसकेको छ— वेदमन्त्रका नाराले संसारमा अब शान्ति र सुख मिल्न सक्दैन, न कोरा आध्यात्मिक भावनाले सुखशान्ति मिल्न सक्छ, न त कसैको दया र आशीर्वादले । त्यस्तै न वर्णव्यवस्था आदि पुरानो पद्धतिबाट र न पौराणिक वा शास्त्रीय राजनीति वा धर्मनीतिले नै सुखशान्ति सुलभ हुन सक्छ । सुखशान्तिका लागि त श्रमको आवश्यकता पर्छ, जमानाको साथमा नयाँ बनेर चल्ने उत्साह राख्नुपर्छ । (यद्यपि ऊ पुराना वस्तु र राम्रा कुराहरू अर्थात् अतीतलाई पूरा कदर गर्दो होस्), प्रेम र अभेदका साथ व्यवहारमा समान हुँदै मिलेर काम गर्नुपर्छ । आज हिन्दूहरू के पनि अनुभव गर्दै छन् भने हिन्दूत्व नै खतरामा छ र उसको सुरक्षाका लागि वर्णव्यवस्था, भेदनीति, कट्टरपना एवं आफ्नो बडप्पनको झूटो अहम् इत्यादि खराब कुराहरूलाई समाप्त गरी आफ्नो होस् वा अर्काको तथा नयाँ होस् वा पुरानो, राम्रा कुराको स्वागत गर्दै सबै मान्छे अर्थात् समस्त जातिका मानिसहरूलाई समानताको स्तरमा सम्मान गर्न सिक्नुपर्छ ।
युग र जमानाअनुसार एवं आवश्यकताअनुकूल मान्छेले बदलिनुपर्छ । उसले बदलिन सिक्दैन अथवा बदलिँदै गरेको जमानाको चालमा नचलेर आफ्नै पुरानो जमानामा फर्कन चाहन्छ भने ऊ अवश्य नै नराम्रो हालतमा पुग्नेछ । उसले अगाडितिर त हेर्नेछैन नै, पछाडि पनि सुनसान भएर जीवनदायिनी नभएकाले भट्किरहनेछ । आखिरमा “धोबीको कुकुर घरको न घाटको” हालत हुनेछ । संसारमा सबैभन्दा कट्टर, सबैभन्दा अहङ्कारी र सबैभन्दा बढी भेदभाव गर्ने जाति हिन्दू हो । उसलाई आफ्नो जमाना, आफ्नो वस्तु र आफ्ना पुराना विचारमा ज्यादा गौरव छ, तिनप्रति अत्यधिक मोह र ममता छ । आफ्नो वस्तु, परम्परा, संस्कृति र विचारमा गर्व, मोह र ममता हुनु वास्तवमा कुनै खराब कुरा होइन । अवश्य नै ती कुराप्रति गर्व, मोह र ममता हुनु नै आफ्नो अस्तित्व र व्यक्तित्वको सुरक्षा गर्नु हो । तर फेरि पनि भावना र भावुकता ‘अति’ भयो भने त्यसको परिणाम सुखद हुँदैन किनभने दुनियाँमा जमाना पनि एउटा यस्तो कुरा हो जो बारम्बार बदलिइरहन्छ र मान्छेलाई सुखी बनाउनका निम्ति पुराना धेरै भावना र कुराहरूमा परिवर्तन ल्याउन चाहन्छ । जमानाको हावा कतिसम्म लाग्छ भने मान्छेले आफ्नो प्यारो संस्कृतिसम्मलाई फेर्र्नुपर्ने आवश्यकता पर्छ । कुनै व्यक्ति आफ्नो जमानाअनुसार अलिकति पनि बदलिन नचाहेर रोकिन प्रयास गर्छ भने ऊ प्रगतिमा त पछि पर्नेछ नै, साथमा उसले दुनियाँमा एक्लै यात्रा गर्नुपर्नेछ । उसलाई दुनियाँमा कतै जिन्दगी मिल्नेछैन । ऊ कुण्ठामा नै समाप्त हुनेछ । त्यसो त जमानाअनुरूप बदलिनुको नाममा आफ्नो खास अस्तित्व र व्यक्तित्वलाई केही नठान्नु, गुमाउनु र मेट्नु पनि कुनै प्रगति होइन । कुनै व्यक्ति वा वस्तुको प्रभावमा आएर आफ्नो मूल व्यक्तित्व र अस्तित्वलाई केही नसम्झनु मूर्खतामात्र होइन, अपराध पनि हो तर हरेक आफ्ना कुरालाई नै आफ्नो अस्तित्व र व्यक्तित्वको प्राण मानेर अलिकति पनि गतिशील नहुनु भनेको चाहिँ अवश्य नै जमाना, युग र वर्तमानको अपमान गर्नु हो । यस्तो मान्छे आफ्नो अस्तित्वको रक्षा गर्न समर्थ त हुन्न नै, साथमा ऊ दुनियाँमा पनि कतै सुखी हुन सक्दैन । त्यसै पनि आफ्ना हरेक चीजलाई नै आफ्नो अस्तित्व या व्यक्तित्वको प्राण मान्दै जिद्दी गरिरहेकाले नै हिन्दू जगत् आज यति पछाडि परेको छ । यदि हिन्दूले पहिलेदेखि नै जमानाको कदर गर्न जानेको भए सायद हिन्दू समाज हरेक क्षेत्रमा अगाडि हुन्थ्यो किनभने दुनियाँमा पहिलेपहिले जागृति पाउने, सभ्यता ल्याउने प्रतिभाशाली र कुशाग्र बुद्धिमय जाति यो नै थियो । त्यसैले बुद्धि पु¥याउने हो भने जुनसुकै काम र क्षेत्रमा अगाडि बढ्न उसलाई सजिलो हुन सक्छ । तर यस्तो नभएर हिन्दू जातिले जमानाको अपमान ग¥यो र ऊ आफ्नै पुरानो ढोलको बोलमा मस्त रहन थाल्यो । फलस्वरूप संसारमा ऊ आज नराम्ररी पिछडियो एवं अवनतिको खाल्टोमा प¥यो । तर हर्षको कुरा के छ भने आज हिन्दूहरू पनि जमानालाई चिनेर उत्तरोत्तर अगाडि बढ्दै छन् । यद्यपि कतिपय वरिष्ठ र बुजुर्ग हिन्दूहरू तिनको बाटोमा ढुङ्गा हाल्दै छन् र पछाडिबाट तिनका खुट्टा तान्दै छन् । आशा छ, अब हिन्दूहरू आफ्ना सडेगलेका पुराना चीजहरू र कुराहरूलाई टाउकामा राखिराख्नका निम्ति प्रगतिलाई लात्तले हान्नेछैनन् । उनीहरू अरूका साथमा अगाडि बढिरहनेछन् र चाँडै नै आफ्नो सुन्दर भविष्य निर्माण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.