१३ मंसिर २०७९, मंगलबार

“आकाशगङ्गाको किनार” विमोचन सम्पन्न !


कवि एवम् लेखक अजित उत्सवको कविता संग्रह “आकाशगङ्गाको किनार” को पोखरामा एक कार्यक्रमकाबीच विमोचन भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रुपमा कविता संग्रहको विमोचन गर्नुभएको हो ।

विमोचनपछि बोल्दै पूर्व कुलपति श्रेष्ठले कविता लेखनमा युवाहरु जुर्मुराएको देखेर आँफूलाई खुसी लागेको बताउँदै यस कविता संग्रहले कवि अजित उत्सवलाई कविको रुपमा साहित्यमा स्थापित गराउने विश्वास ब्यक्त गर्नुभयो । अर्का कवि एवम् प्राज्ञ रमेश श्रेष्ठले यस संग्रहणीय कृतिको लागि बधाई दिंदै संग्रहभित्रका कविताले आफू प्रभावित भएको बताउनु भयो ।

विमोचित पुस्तकको समीक्षा युवा कवि एकम् समालोचक संजीव पौडेलले गर्नु भएको थियो भने उपप्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र ब्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा लघुकथा समाज प्रदेश नंबर १ कि अध्यक्ष ममता मृदुल, पोखरेली युवा साहित्यकार दिपक समीप, चर्चित गजलकार आवाज शर्मा, चर्चित कवि शिव त्रिपाठी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, शुभप्रभात साहित्य पुन्जकी अध्यक्ष मनु शर्मालगायत चार दर्जन बढी साहित्यकारको उपस्थिति रहेको थियो । युवा कवि रोशन तिमिल्सिनाले बिमोचित कविता संग्रहभित्रको कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको संचालन सगरमाथा साहित्य प्रतिष्ठान गन्डकी शाखा सचिव कवि लिली अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबै दर्शकलाई नै सभापति बनाईएको थियो र समापन पनि सबै दर्शकले ताली बजाएर गरिएको थियो ।
पुस्तक विमोचन कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो । कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानकी गण्डकी शाखा उपाध्यक्ष छन्दिका त्रिपाठीले गर्नुभएको थियो ।

बिएन पुस्तक संसार काठमाडौंले प्रकाशनमा ल्याएको कवि अजित उत्सवको यस कविता संग्रहमा जम्मा ५६ वटा कविता संग्रहित छन् । बिक्रि मूल्य २ सय पचास रहेको छ । बिमोचनसंगै पुस्तक देशभरीको बितरण सुरु भएको कवि अजित उत्सवले बताउनुभएको छ । निकट भबिष्यमै एक कथा संग्रह र एक कविता संग्रह प्रकाशन हुन लागेको पनि कवि उत्सवले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *