८ चैत २०७९, बुधवार

एमालेको नयाँ नेतृत्वको लागि चयन हुँदै, ब्याक होलान् त रावल ?

चितवनमा शुक्रबारदेखि जारी १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रिया आज (शनिबार) बिहान सुरु हुँदै छ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अहिले बिहान ८ बजे बन्दसत्र सुरु हुनेछ।
यसअघि शुक्रबार मध्यराति बसेको साविक केन्द्रीय कमिटीको बैठकले सर्वसम्मती गराउन पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्दै विधान संशोधन प्रस्ताव पारित गरेको छ।
केन्द्रीय कमिटी बैठकले पारित गरेको प्रस्ताव आज (शनिबार) हुने बन्दसत्रले अनुमोदन गरेपछि त्यो कार्यान्वयनमा जानेछ ।
साविक विधानबमोजिम पदाधिकारी संख्या १५ छ। तर नयाँ प्रस्तावबमोजिम २ जना उपमहासचिव र २ जना उपाध्यक्ष थपेर पदाधिकारी संख्या १९ पुर्‍याइएको हो। प्रस्ताव पारित भएसँगै एमालेमा उपमहासचिव ३ र उपाध्यक्ष ७ जना हुने भएका छन्।
आफ्नै समूहका नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि अध्यक्ष केपी शर्मा ओलीले सबै समेट्ने प्रयासअनुरूप पदाधिकारी थप्ने निर्णय गराएका हुन्।
त्यस्तै बैठकले केन्द्रीय कमिटी पनि २२५ सदस्यीयबाट ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ। यस्तै एमालेले पोलिटब्युरो कमिटी पनि ब्युँताउने निर्णय गरेको छ।पोलिटब्युरोमा ९९ जना सदस्य रहनेछन् भने ४५ स्थायी स्थायी कमिटी यसअघि नै छ।
बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय गरेको कार्यालय सचिव तामाङले बताए । शुक्रबार मध्यरारति बसेको केन्द्रीय कमिटी बैठकले निर्णय गरेजस्तै आजको बन्दसत्रले एमालेको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्छ त?
बन्दसत्र सुरु हुनुअघि शनिबार बिहानै नेपालखबरले राखेको जिज्ञासामा कार्यालय सचिव तामाङले भने, ‘गर्ने (सर्वसम्मत) कुरा हो, अब हेरौं न, यतिसम्म भएपछि सर्वसम्मत हुन्छ भन्ने आँट छ।’ तर अध्यक्ष पदमै उम्मेदवारी दिने घोषणा गरेका साविक उपाध्यक्ष भीम रावलले आफ्नो निर्णय फिर्ता लिइनसकेको तामाङले बताए। यो खबर लेख्दासम्म उनी ‘ब्याक’ हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट भइसकेको छैन।

‘ब्याक’ होलान् त रावल?
तामाङले पुनः भने, ‘यति भइसकेपछि पक्कै सहमति हुन्छ भन्ने आँट छ।’ रावलकै प्रतिक्रिया लिन भने बाँकी छ। यद्यपि कतिपय सञ्चारमाध्यमसँग उनले आफू आफ्नो निर्णयमा अडिग रहने दाबी गरेका छन्। आज उम्मेदवारी दर्ता गर्ने बताएका छन्।
कार्यालय सचिव तामाङले सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय भए पनि काे काे रहने भनेर ‘औपचारिक’ सूची बनिनसकेको बताए।
बिहान ८ बजे सुरु हुने बन्दसत्रमा यसबारे छलफल हुने उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *