घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा फलेवास नगरपालिकामा बजार अनुगमन गरिएको छ । आइतबार वडा नं.५ खानीगाउँ र वडा नं. ६ देविस्थानका मुख्य बजार क्षेत्रका विभिन्न किराना तथा खाद्यान्न पसलहरुमा अनुगमन गरिएको हो ।
खानीगाउँ,पिप्लेचोक,ट्याङ्की,खौला,देविस्थान, क्याम्पस पथ लगायतका ठाउँमा पसलहरुको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका आटा,झिलिंगा,बिस्कुट ,चकलेट,स्प्राइड लगाएतका सामनहरु जफत गरि नस्ट समेत गरिएको छ ।
व्यवसायीहरुलाई सचेत गराउदै खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले नियमित बजार अनुगमनलाई जोड दिएको घरेलु तथा साना उद्योग कार्यालय पर्वतकि प्रमुख मुना अधिकारीले बताउनुभयो ।
सदरमुकामको बजार मात्र केन्द्रित नभई ग्रामीण भेगका बजारमा पनि अनुगमनलाई तिब्रता दिएको उहाँले बताउनुभयो । पहिलोपटक फलेवासमा अनुगमन गरिएको र आगामी दिनहरूमा पनि अनुगमनलाई निरन्तरता दिने अधिकारीले बताउनुभयो । अनुगमन गरेका पसलमा व्यवसायीहरुलाई पहिलोपटक सचेत गराएको र आगामी दिनमा स्वस्थ्यमा हानी हुने खालका सामना बिक्री नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
चाडपर्वको बेलामा अझ बढी विभिन्न किसिमका रङ मिसिएका अखाद्य बस्तु बिक्री हुने गरेको बताउदै त्यस्ता अखाद्य बस्तु नबेच्न अनुरोध गर्नुभयो । अधिकारीले भन्नुभयो “पहिलो पटक व्यवसायीलाई सचेत गराएका छौ, अर्को पटक अनुगमनमा म्याद गुज्रेका सामाना फेला परेम जफत गरि नष्ट गरेर पसल पनि सिल गर्छौ ।”
लापरबाही गरेर मानवीय स्वास्थ्यमा हानी पुग्ने खालका अखाद्य र म्याद गुज्रिएको सामान बिक्री गरेको भेटिएमा व्यवसायीलाई कानुन अनुसार कारबाही गरिने समेत उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “पछिल्लो समय ठुला बजारमा भन्दा गाउँका पसलहरुमा म्याद गुज्रिएका अखाद्य बस्तुहरु बिक्री वितरण भएका छ्न ।
” म्याद सकिएका खाने कुरा खादा मानिसको स्वास्थ्यमा नराम्रो असर पार्ने भएकाले उपभोक्ता पनि सजग भएर खाद्यान्न उपभोग गर्न मिल्ने मिति हेरेर मात्र सामानहरु किन्न आग्रह गर्नुभयो । अनुगमनका क्रममा व्यवसायीहरुलाई अनिवार्य मुल्यसुची र साइन बोर्ड राख्न, व्यवसाय दर्ता र नविकरण गर्न समेत अनुरोध गरोएको छ ।
कार्यालयका प्रमुख अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय पर्वतका दिपक शर्मा पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका नारायणदत्त उपाध्याय, फलेवास नगरपालिकाको तर्फबाट रमेश पौडेल,उद्योग बाणिज्य संघ पर्वतका सदस्य मीन प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका सदस्य लक्ष्मण बिश्वकर्मा,खानीगाउँ प्रहरी चौकीका इन्चार्ज अर्जुन पौडेल,प्रहरी जवान राम बहादुर नेपाली लगायतको टोलिले बजार अनुगमन गर्नुभएको थियो । यसैबीच फलेवास नगरपालिका क्षेत्रका बजार तथा ग्रामीण भेगमा रहेका सबै पसलहरुमा अनुगमन तथा उपभोक्ता सचेतना कार्यक्रम संचालन गरिने फलेवास नगरपालिकाका अधिकृत रमेश पौडेलले बताउनुभएको छ ।