कविता
विद्याश्री सिंह
मलाई आँखाहरुको संवाद मनपर्छ।
उसका अश्लील नजरहरुले चिमोठ्न खोजे
मेरो वदनको कुनै हिस्सा,
मेरा नजरहरुले पनि लगाउन सक्छन् थप्पड!
दुख्ने गरि उसको पुरुषत्त्व माथि!
त्यसैले,
म अराजक हुँ।
आमाको रातो फरीया,
बज्यैको ढाकाको चोलो,
बहुतै मनपर्छ मलाई!
तर,
मलाई ‘बा’ ले जस्तै कालो कोट लगाउन पनि मन पर्छ।
भाइका जस्तै छोटा कपडाहरुमा पनि मलाई म सुन्दर लाग्छ!
मलाई मेरा नाङ्गा तिघ्राहरु कहिल्यै अश्लील लागेनन्!
त्यसैले,
मलाई कहिल्यै संस्कारी भनिएन।
मेरो छातीलाई छोएको छ घामको न्यानोले!
मेरो कम्मरले पनि महशुस गरेको छ हावाको स्पर्श्!
मैले मेरा गुप्ताङ्गहरुमा राखेको छैन मेरो अस्मिता!
त्यसैले,
समाजले अश्लील पनि भन्छ मलाई!
सहरको सुनसान गल्लीहरु बिचमा,
एक्लो छ मेरो आश्रयस्थल
जहाँ एक्लै हुर्किरहेको छ मेरो यौवन!
त्यसैले,
समाजलाई शंका छ,मेरो कुमारित्व माथी!
मलाई मनपर्छ!
बिच बाटोहरुमा समाएर हिड्न उसको हात,
तर गन्तव्य सम्म एक्लै पुग्नसक्ने मेरो सामर्थ्यमाथि
घमण्ड पनि छ मलाई!
हो,
म धेरै प्रेम गर्छु आफ्नाहरु लाई,
तर आफूलाई जति गर्दिन!
त्यसैले,
बेलाबखत जिज्ञासा पनि भेटिन्छन्।
मेरो परवरीस लाई लिएर
समाजले ओढाएको लाजको चादर भित्र
झुकेर बस्न मान्दैनन् यी नजरहरु!
पितृसत्ताले लगाएको पर्खाल तोडि,
परम्पराको परिधिभन्दा पर दौडिएर
सपनाको उडान भर्न रुचाउँछन् यी पैतालाहरु
आमाको मुस्कान जस्तै कोमल यो हृदय,
आमामाथी भएको दमन जत्तिकै कठोर पनि छ।
दुखाउने हरु लाई मेटाउदा,दुख्दैन मलाई!
हो,
मेरा निडर आँखा,
नाङ्गा तिघ्रा,
खुल्ला छाती,
बाक्लो संगत,
चर्को हासो,
अनि भड्किलो आवाजका कारण
समाजले परिभाषित गरेकी ‘छाडा आइमाई’ हु म