२१ जेठ २०८०, आइतवार

तिहारको महत्व !

यसवर्ष कार्तिक २० गते पर्ने भाइटीकाको साइत विहान ११ बजेर २ मिनेट जादा शुभ रहेको छ । हिन्दूहरूको महत्वपूणर् चाड तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म जम्मा पाँच दिन मनाइन्छ । यो चाड यमराजको पूजाबाट सुरु हुन्छ। यी पाँचै दिन यमराजको पूजा गरिने हुँदा यसलाई यम पञ्चक भनिन्छ । पहिलो दिन काग तिहार हो। कागलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ । त्यसदिन बिहान कागलाई खाद्य परिकारले सत्कार गरी आफूले भोजन गर्ने परम्परा छ। दोस्रो दिन कुकुर तिहार हो। यमराजको दरबारको रक्षक एवम् दूतको रूपमा कुकुरको पूजा गरिन्छ । आआफ्नो घरमा पालेका कुकुरलाई त्यसदिन स्नान गराएर टीका, माला लगाइदिएर पूजा गरी मीठा पकवान खान दिएर मात्र आफूले खाने चलन छ । त्यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । त्यस दिनमा लक्ष्मीले तेलमा निवास गर्दछिन् र त्यसदिन शरीरमा तेल लगाउनाले वर्षभरि धनको कमी हुँदैन। यस दिनमा स्नान गरेपछि भिजेकै लुगाले यमराजको सेवक कुकुरलाई निम्न मन्त्र पढ्दै दीपदान गर्नुपर्दछ । “शुनकौ श्यामशवलौ भ्रातरौ यमसेवकौ ।तुष्टौ स्यातां चतुर्दश्यां दीपदानेन मृत्युजौ ।।” त्यसै दिन हनुमानको जन्म भएकाले त्यस दिनलाई हनुमान जयन्ती पनि भनिन्छ। तेस्रो दिनलाई गाईपूजा र लक्ष्मीपूजा भनिन्छ। गाई मातासमान हुन् र नेपालको राष्ट्रिय जनावर पनि गाईलाई लक्ष्मीको प्रतीक मानी बिहानैदेखि पूजा गरिन्छ । सिङ र खुरमा समेत तेल लगाई जिउभरि चामलको पिठोको छाप लगाएर सिंगारिन्छ । निधारमा टीका, घाँटीमा फूलको माला लगाई खुट्टामा ढोगेर मिठामिठा खाने कुरा, रोटी खुवाएर मात्र आफूले खाने चलन छ । त्यसैदिन बेलुका घरघरमा लक्ष्मीपूजा गरिन्छ । लक्ष्मीविनाको मानव जीवनको कल्पना पनि गर्न सकिँदैन । धनकी अधिष्ठात्रीको रूपमा पूजित माता लक्ष्मी पूणर् ऐश्वर्य, धनधान्य एवं सुखसमृद्धिकी देवीको रूपमा हिन्दूहरूकी आराध्य हुन् । माता लक्ष्मी आफ्ना आठवटा स्वरूपवाट भक्तहरूमाथि कृपा गरी पूणर् ऐश्वर्य र आन्तरिक समृद्धि प्रदान गर्दछिन् । द्विभुजा लक्ष्मी, गजलक्ष्मी, महालक्ष्मी, श्रीदेवी, वीरलक्ष्मी, द्विभुजाबीरलक्ष्मी, अष्टभुजावीरलक्ष्मी र प्रसन्नलक्ष्मी अष्टलक्ष्मीका नाम हुन् ।लक्ष्मीपूजाका दिन घरवरिपरि सिँगारेर झिलिमिली बत्ती बालेर लक्ष्मीको तस्विर वा मूर्तिमा पूजा गरिन्छ । विष्णुपत्नी लक्ष्मी हिन्दूहरूकी आराध्य देवी हुन् । यी धनधान्य, समृद्धिकी देवी हुन् । भनिन्छ, जसले त्यसदिन लक्ष्मीको पूजा गरी दीपावली गर्दछ उसको घरमा लक्ष्मी आउछिन् । घरमा लक्ष्मी प्रवेश गरुन् भनेर घरको मूल ढोकादेखि ढुकुटी राखिएको ठाउँसम्म लक्ष्मीका पाइला अङ्कित गर्दै लगिन्छ। कमल पुष्पकी शथ्या बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोइदिनन् । जावित्री, ल्वाङ, अलैची वा कपुरको साथ गाईको दूधमा पकाएर सख्खर मिसाई बनाएको लड्डु लक्ष्मीलाई चढाएमा विशेष प्रसन्न हुन्छिन् । त्यसदिन प्रातः अमलाले स्नान गर्नु सुखदायक हुन्छ । यसै दिनदेखि केटाकेटीहरू द्यौसीभैली खेल्न घरघरमा गई भाका मिलाएर भट्घाउँछन् । यस रात्रिलाई सुखरात्रि पनि भनिन्छ ।एक पौराणिक कथाअनुसार परापूर्वकालमा बलि नामका ज्यादै दानी राजा थिए । उनको दान महिमा सुनेर स्वर्गका राजा इन्द्र डराए। भगवान् विष्णुकहाँ गुहार माग्न गए। विष्णुले वामन रूप धारण गरी बलिलाई झुक्याएर तीन पाइला जमिन मागे। यज्ञ गरिरहेका बलिले तीन पाइला जमिन दान दिने सङ्कल्प गर्नासाथ विष्णुले विराट् रूप धारण गरी प्रथम पाइला पृथ्वीमा टेके, दोस्रो आकाशमा टेकेर अब तेस्रो पाइला कहाँ राखु भनी बलिसँग सोधे । बलिले पनि मेरो टाउकोमा पाउ राख्नुहोस् भने। विष्णुले प्रसन्न भएर केही वर माग भन्दा बलिले यमपञ्चकका बेला जसले दीपावली गर्लान्, तिनको घरमा लक्ष्मीले बास गरुन् भन्ने वर मागे । विष्णुले पनि तथास्तु भनेर तेस्रो पाइला बलिका टाउकामा राखी बलिलाई पाताल पुयाइदिए । त्यसैले यमपञ्चकमा दीपावली गरिन्छ र द्यौसीभैलो खेल्न आउनेहरूले पनि “हामी त्यसै आएनौं, बलि राजाले पठाएको” भन्दै गाउँछन् । कात्तिक महिनामा दान गर्नुको विशेष महत्व मानिन्छ त्यसैले द्यौसीभैलो माग्न आउनेलाई घरधनीले पनि यथाशक्ति दान दिएर पठाउँछन् ।तिहारको चौथो दिनलाई गोरूपूजा, गोवर्धनपूजा म्हँ पूजा भनिन्छ । यसदिन वर्षभरि हलो, गाडा तानेर मानिसको उपकार गरेका गोरुको पूजा गरिन्छ, सिँगारिन्छ र खान दिइन्छ । गोबर जम्मा गरी गोवर्धन पर्वत बनाई पूजा गरिन्छ । पौराणिक कथाअनुसार त्रेता युगमा गोकुलबासीले इन्द्रको पूजा गर्दथे। द्वापर युग सुरु भएपछि श्रीकृष्णले इन्द्रको पूजामाथि रोक लगाएर गोवर्धन नामको पहाडलाई पूजा गर्ने चलन चलाए। इन्द्र रिसले चुर भई घनघोर वर्षा गराइदिए । गोकुल डुब्न लागेको देखी श्रीकृष्णले गोवर्धन पर्वतलाई एक हातले उचालेर गोकुलबासीलाई बचाई इन्द्रको घमण्ड पनि तोडेका थिए । त्यसै बेलादेखि गोवर्धन पूजाको चलन चलेको हो ।यसै दिनमा नेवार समुदायले म्हँ पूजा गर्दछन्। यो आफ्नै शरीरको पूजा हो । यो पूजा आफ्नै परिवारका सदस्य बसेर गरिन्छ । संसारमा सबैभन्दा ठूलो आत्मा हो। आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् । सबै काम फलिफाप हुन्छन् र जीवन सार्थक बन्दछ भनेर विश्वास गर्दछन् । यस दिनमा स्नान गरी नयाँ लुगा लगाई, मन शुद्ध पारी भुइँ सफा गरेर त्यसमा पानी, तेल पिठोले मण्डल वा मण्डप लेखी पञ्चरङ्गी अबिरले सिँगारेर अक्षता, फूल, चामल राखी पूजा गर्दछन् । त्यसपछि मान्नु पर्नेसँग टीका लगाएर प्रसादका रूपमा हाँसको फुल, माछा, रक्सी, अदुवा आदि मण्डपमा चढाउँछन् र सबैलाई खान दिन्छन् । अनार केरा, ओखर, बिमिरो, फलफूल, मिठाई, मरमसला, पानसुपारी आदि खान्छन्, यसैलाई म्हँपूजा मानिन्छ । यसदिन नेवारहरूको नयाँ वर्ष पनि हो अर्थात् नेपाल संवत्को प्रथम दिन हो । ने सं को प्रारम्भ इ.स. ८८० बाट भएको हो । नेवारहरूको सम्पूणर् चाडपर्वहरू नेपाल संवत्को पात्रोअनुसार नै मनाइन्छन् ।तिहारको पाँचौ दिन महत्वपूणर् र अन्तिम दिन हो । यस दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सुस्वास्थ्य र प्रगतिको कामना गर्दै पूजा गर्दछन् । निधारमा सप्तरङ्गी टीका लगाई गलामा मखमली, दुबो, सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । घरको मूल ढोकाको संघारमा ओखर फोरेर आफ्ना दाजुभाइको सुस्वास्थ्यको कामना गर्दछन् । टीका लगाइदिनुपूर्व दाजुभाइलाई तेल र पानीको घेराभित्र राखी यमराजबाट सुरक्षित पार्दछन् । टीकाको कार्यक्रम सकिएपछि स्वादिष्ट व्यञ्जन खुवाई उपहार पनि टक्राउँछन् । दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र उपहार दिन्छन् । यसै दिनदेखि तिहार चाडको समापन हुन्छ ।

बुलबुल साप्ताहिक समाचारपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *