नेपाली कांग्रेसको आगामी मंसिर ६ गते हुने जिल्ला अधिवेशनको तयारी शुरु भएको छ । यस अघि वडा र पालिका स्तरीय निर्वाचन सम्पन्न गरेको पर्वत कांग्रेसले आगामी मंसीर ६ गते जिल्ला अधिवेशन सम्पन्न गर्नेछ । अधिवेशनका लागि वडा तहबाट क्षेत्रीय प्रतिनिधिहरु चयन भइसकेका छन् ।
झण्डै १२ सय प्रतिनिधिहरुले जिल्ला अधिवेशनमा भाग लिदैछन् । क्षेत्रीय प्रतिनिधिहरुले पालिका, प्रदेश स्तरीय क्षेत्र तथा जिल्लाको अधिवेशनमा भाग लिन पाउने कांग्रेसको विधानमा उल्लेख छ । आगामी मंसीर ३ गते प्रदेश स्तरीय क्षेत्रीय अधिवेशन पनि सम्पन्न हुँदैछ । प्रदेश स्तरीय अधिवेशनमा पर्वत जिल्लामा २ प्रदेश सभा भएकाले दुई वटा क्षत्रीय कमिटि बन्नेछन् ।
क्षत्रीय अधिवेशनसंगै मंसीर ६ गते हुने जिल्ला अधिवेशनको लागि भने कांग्रेस भित्र नेतृत्वलाई लिएर रस्साकस्सी शुरु भएको छ । कांग्रेस भित्र संस्थापन समूह देउवा पक्ष र रामचन्द्र पौडेल पक्ष गरी दुई समूह सक्रिय छन् । यस अघि साविकको संस्थापन कोइराला समूहको बर्चश्व रहेको पर्वतमा पछिल्लो महाधिवेशनमा पूर्व सांसद अर्जुन जोशीले खेमा परिर्वतन गरी देउवा समूहमा लागे पछि पर्वतमा देउवा समूह बलियो बनेको छ ।
साविक कोइराला समूहका अधिकांश नेताहरु पौडेल समूहमा नलागि देउवा समूहमा लागेका छन् । तर, पछिल्लो राजनैतिक घटनाक्रम हेर्दा देउवा समूह नै दुई समूहमा बाँडिएका छन् । विगत लामो समय देखि दुई राजनैतिक समूहमा बसेर अन्तर संघर्ष गर्दै आइरहेका पूर्व सांसद जोशी र कांग्रेसका पूर्व जिल्ला सभापति नवराज गुरुङ दुवैले अहिले दुईवटा समूह निर्माण गरेका छन् ।
आगामी जिल्ला निर्वाचनमा देउवा समूह दुई भागमा विभक्त भएर जाँदा त्यसको फाइदा भने पौडेल समूहले लिनसक्ने देखिन्छ । जिल्ला अधिवेशनका लागि गुरुङ समूहले वर्तमान कार्य समितिका कोषाध्यक्ष यामबहादुर मल्ललाई जिल्ला सभापतिको रुपमा अघि सार्ने तयारी गरेको देखिन्छ । अर्को तर्फ पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले समेत दावी प्रस्तुत गरीरहेका छन् ।
उता, जोशी समूहले भने सभापति पदको उमेदवार टुंगो लगाएको छैन् । जोशी पक्षले भने वर्तमान सभापति खिमप्रसाद भुषाल, महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी र कांग्रेस नेता युवराज जोशी मध्ये एक जनालाई सभापतिको रुपमा अघि सार्ने सम्भावना रहेको कांग्रेस निकट श्रोत बताउँछ ।
पौडेल समूहमा भने स्पष्ट रुपमा सभापतिको उमेदवारी सार्वजनिक भएको छैन् । पौडेल समूह भने अहिले पर्ख र हेर को रणनीतिमा अघि बढेको देखिन्छ । पौडेल समूहका नेताहरु रामचन्द जोशी, दुर्गाबहादुर खत्री, लालकाजी गुरुङ, बसन्त बहादुर सिके र ऋषीकेश तिवारीले देउवा पक्षकै एक उमेदवारलाई समर्थन गर्ने या आफ्नो समूहको छुट्टै उमेदवार तयार गर्ने भन्ने निर्णयमा नपुगेको कांग्रेस श्रोत बताउँछ ।
देउवा समूह भित्र जोशी पक्षमा खिमप्रसाद भुषाल, गंगाधर तिवारी, युवराज जोशी, डा. चुडामणी शर्मा, शिव सुवेदी, राजेन्द्र तिवारी, विद्धान गुरुङ, शिव अधिकारी, अशोक उचै ठकुरी, मुना भुषाल लगाएतका नेताहरु देखिएका छन् ।
उता, देउवा भित्रकै गुरुङ समूह भित्र भने यामबहादुर मल्ल, राधाकुमारी क्षेत्री, विश्व प्रकाश प्रसाई, खगेन्द्र तिवारी लगाएतका नेताहरु रहेको कांग्रेस श्रोत बताउँछ ।
अन्तिम अवस्थासम्म पनि देउवा पक्षका सवै नेताहरु एकै ठाउँमा रहनसक्ने अवस्था भने देखिएको छैन् ।
कांग्रेस जिल्ला अधिवेशनमा उमेदवारहरुले आफ्नो उमेदवारी घोषणा गर्ने क्रम भने शुरु भएको छ । हालसम्म सभापतिमा यामबहादुर मल्ल, दुर्गाबहादुर खत्री र मिलन सुवेदीले उमेदवारी घोषणा गरेका छन् ।
२ जना रहने उप सभापतिमा डा. चुडामणी शर्मा र शिव सुवेदी आकाक्षी रहेका छन् ।
सचिव पदमा भने ओमप्रसाद शर्मा घायल, मोहन आचार्य, गोविन्द खत्री, र गृप्तनीधि शर्मा लगाएतको उमेदवारी सार्वजनिक भएको छ ।
यसैगरी २ जना उप सचिव पदमा अहिलेसम्म अच्युत तिवारीले मात्र उमेदवारी सार्वजनिक गरेका छन् ।
आगामी ६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्य समितिको गठन गर्नेछ । जिल्ला कार्य समिति सदस्यमा समेत उमेदवारी सार्वजनिक भइरहेका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि पनि रस्साकस्सी
अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत चयन गर्नेछ । केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि खूल्ला, महिला जनजाति, दलित, अल्पसंख्यक, अपांगता भएका ब्यक्ति सहित गरी कुल २५ जना प्रतिनिधि केन्द्रिय महाधिवेशनका लागि चयन हुनेछन् ।
महाधिवेशन प्रतिनिधि समेत आवश्यक संख्या भन्दा दोब्बरको आकांक्षा रहेको छ । खुल्ला पुरुष तर्फ रामचन्द्र जोशी, विद्धान गुरुङ, ऋषीकेश तिवारी, नवराज गुरुङ, लालकाजी गुरुङ, राजेन्द्र तिवारी, विश्व प्रकाश प्रसाई, बसन्त सिके, रामबहादुर प्रसाई, राज मल्ल, बालचन्द्र शर्मा, गंगाराज शर्मा, बिमलराज क्षेत्री, छविलाल तिवारी, शिव शर्मा अधिकारी, किरण तिवारी, हेमराज सापकोटा, डा. केदार सुवेदी लगाएतको चर्चा रहेको छ । यस मध्ये केहिले भने आफ्नो उमेदवारी घोषणा गरीसकेका छन् ।
यस मध्ये युवराज जोशी, गंगा तिवारी, खगेन्द्र तिवारी र खिमप्रसाद भुषाल जिल्ला सभापतिको उमेदवार नभएको अवस्थामा उनीहरु पनि महाधिवेशन प्रतिनिधिको उमेदवार रहनेछन् । खुल्ला मध्ये १० जना प्रतिनिधि निर्वाचित हुनेछन ।
यसैगरी खुल्ला महिला तर्फ राधाकुमारी कुवँर, मुना भुषाल, रेखा गुरुङ, सरस्वती शर्मा, जसमति गुरुङ, मिना केसी, सिमा गर्वुजा, ललितकला गुरुङ, सिता काप्ले, मिना कर्माचार्य र चित्रकला भारतीको चर्चा रहेको छ । यस मध्ये केहिले भने आफ्नो उमेदवारी घोषण गरी सकेकाछन् ।
अल्पसंख्यक मुस्लिम समुदायबाट सनम वेगमको उमेदवारी सार्वजनिक भएको छ । यसैगरी दलित तर्फ प्रेम विक, डम्मर विक, निर्मल विक, जीवनबहादुर विक, शेरबहादुर सुनार, यामबहादुर परियार, जीत बहादुर नेपाली मध्येबाट नै उमेदवारी आउने सम्भावना रहेको देखिन्छ ।
जनजाति तर्फ पनि २ जना प्रतिनिधि चयन हुनेछन् । जनजाति तर्फ मोहन गुरुङ, डम्मर प्रधान, मनोज गुरुङ, लेखबहादुर गुरुङ, कुलबहादुर पुन, उज्वल गुरुङ र सोम पुन प्रत्यासी रहनेसक्नेछन् ।
क्षेत्रीय कमिटि (प्रदेश सभा) तर्फ पनि उमेदवारको चर्चा शुरु
आगामी मंसीर ३ गते हुने क्षेत्रीय कमिटिको अधिवेशनका लागि क्षेत्र नम्बर १ मा कृष्ण केसी र राजकुमार क्षेत्रीले सभापति पदमा दावी प्रस्तुत गरेका छन् । यसैगरी क्षेत्र न २ मा भने हरी न्यौपाने र प्रविन गुरुङले क्षेत्रीय सभापति पदमा दावी गरेका छन् ।
क्षेत्रीय कमिटिका सदस्य तथा प्रदेश प्रतिनिधिहरुमा पनि आकाक्षीहरुको संख्या ठूलो रहेको छ । कांग्रेसले सकभर सर्वसहमत यदी नभए निर्वाचनको विधि मार्फत आफ्नो नेतृत्व चयन गर्नेछ ।